काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (बुधबार) क्यानडासँग दोस्रो एकदिवसीय खेल खेल्दैछ।
वर्षाको कारण दुई म्याचको एकदिवसीय सिरिजको मंगलबारको पहिलो खेल रद्द भएको थियो।
हाल क्यानडा भ्रमणमा रहेको नेपाली टिमले क्यानडाको राष्ट्रिय टिमसँग दुई म्याचको एकदिवसीय सिरिज खेल्ने तालिका रहेको थियो। खेल नेपाली समयअनुसार राति ८ः४५ बजे ओन्टारियोको किंग सिटिस्थित मेपल लिफ मैदानमा हुनेछ। क्यानडामा नेपालको यो अन्तिम खेल हो।
यसअघि नेपालले क्यानडाको स्थानिय ओन्टारियो क्रिकेट टिमसँग खेलेको एक एकदिवसीय र एक टी–ट्वान्टी खेल जितेको थियो। नेपालले ओन्टारियोसँगको एकदिवसीय खेल ६९ रन र टी–ट्वान्टी खेल ५५ रनले आफ्नो पक्षमा पारेको थियो।
क्यानडाको यो सिरिज आसन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालको स्कटल्याण्ड टुर अघिको अभ्यास सिरिज हो। क्यानडामा यो अभ्यास सिरिज खेलेर नेपाली टिम स्कटल्याण्ड प्रस्थान गर्नेछ। आगामी असार २७ गतेदेखि नेपालले विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आयोजक स्कटल्याण्ड र नामिबियासँग दुई–दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ।
नेपालको एकदिवसीय मान्यता कायमै राख्न र एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सिधै प्रवेश पाउन विश्वकप लिग–२ का बाँकी खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ।
सात राष्ट्र सहभागि विश्वकप लिग–२ मा १६ खेलमा सात जितपछि १५ अंक सहित नेपाल पाँचौ स्थानमा छ। एकदिवसीय मान्यता कायमै राख्न नेपालले लिग सकिदा सम्म शिर्ष पाँचमा पर्नुपर्ने हुन्छ। त्यसैगरी, सिधै विश्वकप छनोट खेल्न शीर्ष तीनमा स्थान बनाउनु पर्नेछ।
Facebook Comment
Comment