ब्रेक फेल भएको गाडी कसकास गरेर चलाएपछि दुर्घटना

रामेछाप दुर्घटना : मृतक १२ जनाको सनाखत

रामेछापको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा मंगलबार बिहान १० बजेतिर बा३ख ८३९६ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो।

नेपालभ्युज

ब्रेक फेल भएको गाडी कसकास गरेर चलाएपछि दुर्घटना

काठमाडौं। रामेछापमा यात्रुबाहक बस दुर्घटना हुनुको मुख्य कारण चालकको लापरवाही भएको खुलेको छ।

अघिल्लो दिन नै गाडीको ब्रेक फेल भएको थियो। राम्रोसँग मर्मत नगरी सामान्य कसकास गरेर मंगलबार गाडी चलाउँदा दुर्घटना भएको सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले जानकारी दिए।

‘‘उक्त गाडी अघिल्लो दिन नै ब्रेक फेल भएको थियो,’’ उनले भने, ‘‘बसको अवस्था राम्ररी जाँच नगरी सामान्य कसकास मात्रै गरेर चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ।’’ दुर्घटनाको यकिन कारण भने खुल्न बाँकी छ।

रामेछापको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा मंगलबार बिहान १० बजेतिर बा३ख ८३९६ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो। कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासी भिरबाट तल्लो सडकमा खसेको हो।

सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस हल्लिँदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सिधै खसेको बताए।

दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए। घाइतेमध्ये धुलिखेल अस्पतालमा उपचारका क्रममा थप चार जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।

मृत्यु भएका १२ जनाको सनाखत

ज्यान गुमाउनेमा रामेछाप सुनापति गाउँपालिका- ५ बस्ने ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर विक, वडा नम्बर ४ बस्ने २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशी गाउँपालिका- ४ का २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिकाका १८ वर्षीय सुदीप गजमेर, सुनापाती- ५ की २२ वर्षीया विपना तामाङ र मण्डनदेउपुर नगरपालिका- ९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर रहेका छन्।

यस्तै, सुनापाती- ५ कै ३६ वर्षीया सञ्जु आलेमगर र पाँचखालका ४० वर्षीय कुलबहादुर विकको पनि मृत्यु भएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो।

धुलिखेल अस्पतालमा सुनापाति ५ का ३५ वर्षीय रामबहादुर श्रेष्ठ, २५ वर्षीय बुद्ध तामाङ र ६० वर्षीय नेमा तामाङको मृत्यु भएको हो। एक जनाको भने सनाखत हुन बाँकी छ।

बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। चालक दोलखा घर भएका प्रेमबहादुर घतानी हुन्। बसको ‘ब्रेक फेल’ भएका कारण दुर्घटना भएको उनले प्रहरीसँग बताएका छन्। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved