काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्दैछ।
हाल क्यानडा भ्रमणमा रहेको नेपाली टिमले क्यानडाको राष्ट्रिय टिमसँग दुई म्याचको एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ।
खेल नेपाली समयअनुसार राति ८ः४५ बजे ओन्टारियोको किंग सिटिस्थित मेपल लिफ मैदानमा हुनेछ।
यसअघि नेपालले क्यानडाको स्थानीय ओन्टारियो क्रिकेट टिमसँग खेलेको एक एकदिवसीय र एक टी–ट्वान्टी खेल जितेको थियो। नेपालले ओन्टारियोसँगको एकदिवसीय खेल ६९ रन र टी–ट्वान्टी खेल ५५ रनले आफ्नो पक्षमा पारेको थियो।
क्यानडाको यो सिरिज आसन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालको स्कटल्याण्ड टुरअघिको अभ्यास सिरिज हो। क्यानडामा यो अभ्यास सिरिज खेलेर नेपाली टिम स्कटल्याण्ड प्रस्थान गर्नेछ।
आगामी असार २७ गतेदेखि नेपालले विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आयोजक स्कटल्याण्ड र नामिबियासँग दुई–दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ।
नेपालको एकदिवसीय मान्यता कायमै राख्न र एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सिधै प्रवेश पाउन विश्वकप लिग–२ का बाँकी खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ।
सात राष्ट्र सहभागगी विश्वकप लिग–२ मा १६ खेलमा सात जितपछि १५ अंकसहित नेपाल पाँचौ स्थानमा छ। एकदिवसीय मान्यता कायमै राख्न नेपालले लिग सकिँदासम्म शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ। सिधै विश्वकप छनोट खेल्न भने शीर्ष तीनमा स्थान बनाउनु पर्नेछ।
Facebook Comment
Comment