काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी नरेश बुढाएरले नेपालविरुद्ध उत्रने टिमका नै कप्तानी गर्ने भएका छन्। क्यानडा टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्थानिय ओन्टारियो क्रिकेट टिमसँग एकदिवसीय अभ्यास खेल खेल्दैछ।
उक्त खेलमा नरेशले ओन्टारियो क्रिकेट टिमको कप्तानी गर्ने भएका छन्। नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकप क्रिकेट खेल्दा नरेश नेपाली टिमका सदस्य थिए।
नेपाली टिम सन्दीप लामिछानेको कप्तानीमा खेल्नेछ। खेल नेपाली समयअनुसार राति ८ः४५ बजे ओन्टारियोको किंग सिटीस्थित मेपल लिफ मैदानमा हुनेछ।
नेपालले यो टूरमा क्यानडाको राष्ट्रिय टिमसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका छ। क्यानडाअघिको दुई म्याचको सिरिज अगाडी नेपाली टिमले यो अभ्यास खेल खेल्न लागेको हो।
नेपालले आगामी सोमबार र मंगलबार दुई एकदिवसीय खेल खेल्दैछ। क्यानडाको यो सिरिज नै आसन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालको स्कटल्याण्ड टुर अघिको अभ्यास सिरिज हो।
क्यानडामा तीन खेल खेलेर नेपाल स्कटल्याण्ड प्रस्थान गर्नेछ। आगामी असार २७ गतेदेखि नेपालले विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आयोजक स्कटल्याण्ड र नामिबियासँग दुई–दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ।