आज राष्ट्रिय धान दिवस

कृषि जैविक विविधता वर्षको समेत सन्दर्भ पारेर ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ मनाउन लागिएको हो।

नेपालभ्युज

आज राष्ट्रिय धान दिवस

काठमाडौं। आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ। कृषि जैविक विविधता वर्षको समेत सन्दर्भ पारेर ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७९ मनाउन लागिएको हो।

२०६१ सालदेखि हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ।
यस दिनलाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन्। खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरूले पनि दही च्यूरा खाई असार १५ मनाउँछन्। दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ।

नेपाल कृषि प्रधान देश भएतापनि हरेक वर्ष धान उत्पादनमा कमी आउँदा नेपालमा धान–चामल आयात बढ्दो छ। सरकारले उत्पादन बढाउन विभिन्न योजनाहरू ल्याए पनि कार्यान्वयन हुन सकेको छैन। चालू आर्थिक वर्षको पहिलो १० महिनामा ४२ अर्ब १९ करोडको धान तथा चामल आयात भएको छ ।

धान उत्पादन बढाउन तथा आयात निरुत्साहन गर्न सरकारले रैथाने धानलाई उन्नत जात बनाई प्रोत्साहन गर्नुपर्ने धानविज्ञ उज्ज्वल कुशवाहले बताए।

नेपालमा धान उत्पादनमा कमी आउँदा आयात बढेको हो। आर्थिक वर्ष ०७६÷७७ मा ३३ अर्ब ६१ करोडको धान–चामल भएको थियो । त्यस्तै, ०७७÷७८ मा ५० अर्ब ४८ करोड रुपैयाँको धान–चामल आयात भएको छ । किसानलाई सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा सोचेअनुसार उत्पादन नभएको नेपाल कृषक संघका अध्यक्ष नवराज बस्नेतले बताए ।
हरेक वर्षको धानबालीको समयमा किसानलाई मलको अभाव हुने गरेको छ। यस वर्ष समयमै मनसुन भित्रिएकाले किसानलाई रोपाइँ गर्न पानीको अभाव छैन। तर, मलको भने चरम अभाव भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved