नेकपा समाजवादी बैठक : सबै शक्ति चुनावमा लगाउने

नेपालभ्युज

नेकपा समाजवादी बैठक : सबै शक्ति चुनावमा लगाउने
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक सम्पूर्ण शक्ति प्रतिनिधिसभा र प्रदेश सभामा लगाउने निर्णय गर्दै सम्पन्न भएको छ।

मंगलबार काठमाडौंमा सम्पन्न बैठकले अबको दुई महीना पार्टीलाई सबै स्थानमा सशक्त बनाउँदै सम्पूर्ण शक्ति प्रतिनिधिसभा र प्रदेश सभामा लगाउने निर्णय गरेको हो। बैठकले गठबन्धन भएमा गठबन्धन र नभए एक्लै निर्वाचनको तयारी गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

स्थानीय तहमा गठबन्धनका तर्फबाट भएका कर्मी कमजोरीलाई सच्चाउँदै अघि बढ्नुपर्नेमा पार्टीको जोड रहेको उनको भनाइ थियो। सबै वामपन्थीहरूलाई एकताका लागि पनि आह्वान गरेको प्रवक्ता खतिवडाले बताए।

बैठकले दैनिक उपभोग्य वस्तुको मूल्य अत्याधिक रूपमा वृद्धि भएको भन्दै दैनिक उपभोग्य वस्तुहरूको मूल्य नियन्त्रण गरी सुपथ मूल्यमा आपूर्ति गर्ने व्यवस्था मिलाउन र मल तथा बीउ बिजन आपूर्तिको व्यवस्था गनै माग गरेको छ।

त्यस्तै राज्यका सबै अंगमा भ्रष्टाचार कमिशनतन्त्र र बिचौलियाको दबदबा मौलाएको भन्दै राज्यका सबै अंग र तहहरूमा भ्रष्टाचारको छानबिन गर्न र भ्रष्टाचारीमाथि कारबाही गर्न माग गरिएको प्रवक्ता खतिवडाले जानकारी दिए।

बैठकले सुकुमबासी समस्या, नागरिकता वितरणमा देखिएका समस्या समाधान रर झाडा पखला रोकथामका लागि जनचेतना फैलाउन निरोधात्मक कार्य गर्न तथा बिरामीहरूको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

बैठकले सरकारले सत्ता गठबन्धनको निर्णयअनुरूप एसपीपी स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल संलग्न नहुने निर्णय सहितको पत्र संयुक्त राज्य अमेरिकालाई पठाएकोप्रति धन्यवाद व्यक्त गरेको छ भने कम्युनिष्ट आन्दोलनको रक्षा र समाजवादी क्रान्तिको लक्ष्यतर्फ अगाडि बढ्नका लागि एकताबद्ध हुन र एकीकृत पार्टी निर्माणको दिशामा अघि बढ्न अपिल गरेको छ।

बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, पाँचदलीय वाम तथा लोकतान्त्रिक गठबन्धनको आवश्यकताका सन्दर्भमा गहन छलफल गर्दै संगठन निर्माण विशेष कार्ययोजना र आगामी संघीय तथा प्रदेश सभा निर्वाचनको तयारी योजनाहरू पारित गरेको प्रवक्ता खतिवडाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved