शिक्षाविद् र शिक्षकबीच छलफल : कक्षाकोठामा विद्यार्थीलाई कसरी सिकाउने ?

नेपालभ्युज

शिक्षाविद् र शिक्षकबीच छलफल : कक्षाकोठामा विद्यार्थीलाई कसरी सिकाउने ?

काठमाडौँ। शिक्षाविज्ञ र काठमाडौं उपत्यकाका युवा शिक्षकबीच कक्षाकोठामा सिकाइ अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

शिक्षा पत्रकार समूहको आयोजनामा गरेको ‘तन्नेरी शिक्षकका तन्नेरी काम’ नामक युवा शिक्षकको अनुभव आदानप्रदान कार्यक्रम काठमाडौंको अनामनगरमा सम्पन्न भएको हो। कार्यक्रममा शिक्षाविद्, पूर्वप्रधानाध्यापक, प्रधानाध्यापक र १० जना युवा शिक्षकको उपस्थिति थियो।

कार्यक्रममा शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले विद्यार्थीलाई खेल्दै पढाउँदै, पढाउँदै खेल्दै गरेर पढ्ने र खेल्ने विषयलाई जोडेर सिकाउन शिक्षकहरूलाई सुझाए। “सिद्धान्त र अभ्यास एउटै हो यसलाई भन्ने तरिका फरक भएर फरक पर्न गएको हो,” उनले भने। विद्यार्थीलाई सरल र सजिलै बुझ्ने तरिकारले सिकाउन उनले सुझाए।

“हरेक विद्यार्थीको आफ्नो कला हुन्छ, कोहीसँग सुनेर बुझ्ने क्षमता हुन्छ, कोहीसँग अभ्यास गरेर देखाउने क्षमता हुन्छ, कोहीसँग घोक्ने क्षमता हुन्छ त्यसलाई बुझेर शिक्षकले मार्गदर्शन गर्नुपर्छ,” उनले भने, “घोक्नै हुँदैन भन्ने गरिन्छ, हाम्रा पुर्खाले घोकेर नै इतिहास लेखेका हुन्। घोकाइ पनि पढ्ने तरिका हो।”

विद्यार्थीले केही जानेका छैनन् भन्दा पनि उनीहरूका अनुभव लिएर पढाउन शिक्षाविद् कोइरालाले सुझाए। त्यस्तै पूर्वप्रधानाध्यापक धनञ्जय शर्माले कक्षाकोठामा शिक्षकभन्दा बढी विद्यार्थीलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए। भने, “अहिले कक्षाकोठामा ८० प्रतिशत शिक्षक सक्रिय हुन्छन्, खासमा ३० प्रतिशत शिक्षक सक्रिय ७० प्रतिशत विद्यार्थीलाई सक्रिय गराउनुपर्छ।”

अहिले पनि धेरै स्थानमा विद्यार्थीलाई सिकाउनेभन्दा पनि पढाइरहेको र शिक्षकले बच्चाको रुचिअनुसार सिकाउने प्रयास गर्नुपर्ने उनले बताए।

शिक्षक आयआर्जन गर्ने नभई सामाजिक उत्तदायित्व बोकेको सम्मानजनक पेशा भएकाले शिक्षक पैसाप्रति आकर्षित हुन नहुने शर्माको मत थियो। कक्षाकोठामा किताबको प्रयोगबिना विद्यार्थीलाई सिकाउने गरेको तारकेश्वर नगरपालिकास्थित मनमैजु माविकी प्रधानाध्यापक रविना महर्जनले बताइन्।

कक्षाकोठाको स्रोत साधनलाई प्रयोग गरेर विद्यार्थीलाई सिकाइरहेको उनले बताइन्। “शिक्षकहरू किताब बिताब भन्छौं। कतिपय शिक्षकको मुखबाट किताब छैन, विद्यार्थीले होमवर्क गर्दैनन् भन्ने गरेको पनि सुन्निछ,” उनी भन्छिन्,“अहिले धेरैजसो बालबालिका इन्टरनेट र स्मार्ट फोनको पहुँचमा छन्। सिकाइ चौतारी, सिक्ने थलो जस्ता एपहरूको प्रयोग गरेर सिक्न सक्छन्।”

विद्यार्थीलाई डिडक्टिभ मेथडबाट पढाइएको भन्दै इन्डक्टिभ मेथडबाट पढाउनुपर्नेमा उनले जोड दिइन्।

ललितपुरको महालक्ष्मी नगरपालिकास्थित महेन्द्र ग्राम माविमा विद्यार्थीको रुचिअनुसार सिकाउने गरिएको सामाजिक शिक्षक मनिता श्रेष्ठले बताइन्। भनिन्, “पाठ्यक्रमको विषयवस्तुअनुसार भूमिका अभिनय, समूह छलफल, खोजमूलक सिकाइ, अभ्यासमा आधारित सिकाइ, विषयवस्तुअनुसार अभ्यास गर्न लगाउने गरेका छौं।”

संविधान, सामाजिक अवस्थासरह नै बुझाउन गीत लेखेर पनि सिकाइरहेको पनि उनले बताइन्।

त्यस्तै भक्तपुरको मेधा माविमा विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गराइरहन युनिट टेष्ट, मिड ट्रम इक्जाम लिइरहने विद्यालयमा विज्ञान शिक्षक मदनराम न्यौपानेले बताए। भने, “विभिन्न विषयमा कमजोर विद्यार्थी छनोट गरेर उपचारात्मक कक्षा लिने, परीक्षाअघि रिभिजन क्लास लिने गरेका छौं।”

विद्यार्थीलाई अनुशासित बनाउन प्राथामिक तहमा एउटै कक्षामा तीन जना शिक्षक र माथिल्लो तहमा २ जना शिक्षक हरेक कक्षाकोठामा उपस्थित हुने उनले बताए। विद्यार्थीलाई किताबमा मात्र नभई स्कुलको बुक कर्नरमा सन्दर्भ बुक राखेर पढ्न लगाउने, शुक्रबार शनिबार अतिरिक्त गतिविधिमा सामेल गराउने उनले जानकारी दिए।

विद्यार्थीलाई होमवर्क दिँदा आफूले पनि गर्ने गरेको काठमाडौं मनोहरा नगरपालिकास्थित सिद्धिकाली माविका अंग्रेजी शिक्षक वीरेन्द्र बहादुर चन्दले बताए।

विद्यार्थीलाई सिकाउँदा विषयवस्तुअनुसार विविधता ल्याउने, सिर्जनात्मक बनाउन जोड दिने गरेको उनले बताए। त्यस्तै सिकाइमा विद्यार्थी सहभागिता बढाउने, कमजोर विद्यार्थीसँग बढी अन्तक्रिया गर्ने, कक्षाकोठा बाहिर लगेर पनि सिकाउने गरेको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved