भक्तपुर नगरपालिकाले दाफा, भजन र गुठीहरू दर्ता गर्ने

नेपालभ्युज

भक्तपुर नगरपालिकाले दाफा, भजन र गुठीहरू दर्ता गर्ने

भक्तपुर। भक्तपुर नगरपालिकाले दाफा, भजन र गुठीहरू दर्ता गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ।

भक्तपुर नगरपालिकाको बिहीबार बसेको बाह्रौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेपछि दाफा, भजन र गुठीहरूको अभिलेख व्यवस्थित गर्न नगरपालिकामा दर्ता गर्ने प्रक्रिया अगाडि बढाउन बाटो खुलेको हो।

नगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत भक्तपुर आउने आन्तरिक र बाह्य पर्यटकहरूका लागि फेमिली स्टे र होम स्टे सञ्चालन गर्न नगरबासीहरूलाई प्रोत्साहित गर्ने योजना समेत रहेको छ। त्यस्तै पर्यटकीय क्षेत्रहरूमा नक्सासहित सङ्केत बोर्डहरूको व्यवस्था गरिनुका साथै सम्पदाहरूको संक्षिप्त जानकारीसहितको बोर्डहरूको व्यवस्था गरिने योजना रहेको छ।

नगरपालिकाले भक्तपुरको जनजीवन झल्किने साँस्कृतिक म्युजियम (सङ्ग्रहालय) निर्माण समेत गर्ने भएको छ। भक्तपुरको प्राचीन सम्पदा र संस्कृतिलगायत विभिन्न विषयहरूमा नगरपालिकाको स्वीकृति लिई खोज, अध्ययन तथा अनुसन्धान गर्न चाहनेहरुका लागि आर्थिक अनुदानको दिने समेत योजना नीति तथा कार्यक्रममा छ।

यसका साथै विश्वविद्यालय विधेयक पारित गर्न पहल गर्ने, शिशुस्याहार केन्द्रहरूलाई वडा—वडामा विस्तार गर्ने र विद्यालयहरूलाई अनुदान दिने, नयाँ कलेजहरू स्थापना गर्न पहल गर्ने, शैक्षिक ऋणलाई निरन्तरता दिँदै समयानुकूल ऋण रकमको सीमा बृद्धि गराउने, ख्वप अस्पतालमा सिटी स्क्यान सेवा, प्रसुती सेवा सञ्चालन गर्ने, घरदैलो नर्सिङ सेवामा खट्ने नर्स र स्वास्थ्य

स्वयम्सेविकाहरूमार्फत नगरबासीहरूको स्वास्थ्य विवरण ९प्रोफाइल० तयार गर्ने, रगत आवश्यक पर्ने बिरामी नगरबासीहरूको लागि निःशुल्क रगतको व्यवस्था गर्ने, महेश्वरी खेलमैदानलाई स्तरोन्नति गरी राष्ट्रियस्तरको खेलकुद प्रतियोगता गर्न मिल्ने रङ्गशालाको रूपमा विकास गर्ने लगायत योजना भक्तपुर नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ।

त्यस्तै कार्यक्रममा हनुमानघाट र सल्लाघारीमा निर्माणाधीन फोहर पानी प्रशोधन केन्द्रलाई शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउन जोड दिनुका साथै नयाँ आवासीय क्षेत्रमा घर बनाउने घरधनीहरूलाई नक्सापाससँगै रुख रोप्न प्रोत्साहित गर्ने, भक्तपुरको खानेपानीको मुहान क्षेत्र नगरकोटलाई जलाधार क्षेत्र घोषणा गराउन प्रयास गर्ने, मेलम्चीको पानी नगरबासीहरूको घर—घरमा वितरण गर्ने व्यवस्था मिलाउने, कृषिजन्य वस्तुहरूको सुरक्षाको लागि चिस्यान केन्द्र स्थापना गर्ने, नगरको उपयुक्त ठाउँमा तरकारी बजारको व्यवस्था गर्ने योजना समावेश छ।

भनपा वडा नं। ७ हनुमानघाटस्थित निर्माणाधीन सुधारिएको शवदाह गृह सञ्चालनमा ल्याउने र नगरभित्र छरिएर रहेका सार्वजनिक जग्गाको अभिलेख तयार गरी त्यसको संरक्षण गर्ने समेत योजना नगरपालिकाले बनाएको छ।

नगरपालिका प्रमुख सुनिल प्रजापतिले हनुमन्ते खोला र कासाङ खोला तथा विभिन्न घाटहरूको सुधार गर्न प्रयास गरिरहेको बताए। साथै हनुमानघाट सुधारको गुरुयोजना तयार भइसकेको समेत बताए। उनले भने, “सम्पदा पुनःनिर्माण र संरक्षण आफैमा एउटा विकास हो। हाम्रो सम्पदा नै हाम्रो सम्पत्ति हो। नगरका ऐतिहासिक पोखरी जीर्णोद्धार र संरक्षणले नगरको सौन्दर्यलाई अभिवृद्धि गर्न प्रयासरत छौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved