विश्वकप फुटबल : १२ लाखको टिकट बिक्री, माग ४० लाखको

कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि १२ लाख टिकट बिक्री भइसकेको आयोजकले जनाएको छ।

नेपालभ्युज

विश्वकप फुटबल : १२ लाखको टिकट बिक्री, माग ४० लाखको

काठमाडौं। यसैवर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि १२ लाख टिकट बिक्री भइसकेको आयोजकले जनाएको छ।

बुधबार आयोजक कतारले पहिलो पटक हालसम्म बिक्री भएको टिकट संख्या सार्वजनिक गरेको हो।

पहिलो पटक मध्यपूर्वमा आयोजना हुन लागेको तथा नोभेम्बर डिसेम्बरमा सञ्चालन हुने विश्वकपका लागि टिकटको कीर्तिमानी माग रहेको प्रमुख आयोजक हसन अल थवाडीले बताए। ‘‘मलाई लाग्छ १२ लाख टिकट यसअघि नै खरिद भइसकेको छ’’, थवाडीले बुधबार कतार इकोनोमिक फोरमसँग भनेका छन्, ‘‘मानिसहरु यहाँ आउन निकै उत्साहित छन्।’’

आयोजकका अनुसार दुई चरणमा भएको टिकट बिक्री कार्यक्रममा ४० लाख टिकटको माग भएको थियो। विश्वकपका लागि कतारले दुई लाख टिकट बिक्री गर्दैछ। थप एक लाख टिकट विश्व फुटबल महासंघ (फिफा) र प्रायोजकहरुका लागि आरक्षित छ।

करिब एक महिना चल्ने प्रतियोगितामा कतारको राजधानी दोहा आसपास रहेका ८ स्टेडियममा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। विश्वकप दौरान सबैभन्दा बढी मानिसको आवगमन हुने शहर दोहा नै हो। करिब २४ लाख जनसंख्या रहेको दोहामा उक्त समयमा होटेल तथा आवासको अभाव हुन अनुमान गरिएको छ।

कतारका अनुसार होटल, अपार्टमेन्ट, पानी जहाज र मरुभुमिको क्याम्प गरि विश्वकपका लागि करिब १३ लाख कोठाको व्यवस्था हुनेछ। त्यसैगरी केही फुटबल समर्थकहरुका लागि करिब एक हजार परम्परागत कतारी टेन्टको व्यवस्था पनि गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved