बालेन विजयको प्रभाव : संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको बाढी

सरकारले संघीय निर्वाचनको मिति नतोक्दै काठमाडौंका विभिन्न क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणाको क्रम शुरु भइसकेको छ। काठमाडौंमा स्वतन्त्र उम्मेदवारी घोषणाको क्रम भने पुकार बमले शुरु गरेका हुन्।

नेपालभ्युज

बालेन विजयको प्रभाव : संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको बाढी
फाइल फोटो

काठमाडौं। स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुअघि नै काठमाडौंको मेयर पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए- बालेन्द्र साहले। स्ट्र्क्चरल इन्जिनीयर एवं र्‍याप गायकसमेत रहेका साहले आफ्नो निर्वाचन प्रचारका लागि समाजिक क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरुलाई भेट्ने र उनीहरूको अनुभव सुन्ने गरेका थिए।

साहले वैज्ञानिक महावीर पुन, डा. सन्दुक रोहित, पूर्वसचिव भीम उपाध्याय, जलस्रोतविद् दीपक ज्ञवालीलगायतलाई भेट्दै अनुभव सुन्ने गरेका थिए। यो कुरा उनले समाजिक सञ्जाल र अन्तर्वार्ताका क्रममा नै बताउने गरेका थिए।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्दासम्म साहले काठमाडौं र काठमाडौंबाहिरका विभिन्न व्यक्तिलाई भेटिसकेका थिए । प्रायः  सबै भेट्घाटको जानकारी समाजिक सञ्जालमार्फत दिने गरेका थिए।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा साह निर्वाचित भइसकेका छन्। उनले चुनाव अघि शुरु गरेको राजनीतिक अभियानकै कारण नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठूला दलका  मेयर उम्मेदवार व्यक्ति पराजित भएका थिए।

स्थानीय तह निर्वाचन सकिएलगत्तै सरकारले संघीय निर्वाचनको तयारी गर्दैछ। सरकारको तयारी कात्तिक अन्तिम साता वा मंसीर पहिलो साता निर्वाचन गराउने छ।

सरकारले संघीय निर्वाचनको मिति नतोक्दै काठमाडौंका विभिन्न क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणाको क्रम शुरु भइसकेको छ। काठमाडौंमा स्वतन्त्र उम्मेदवारी घोषणाको क्रम भने पुकार बमले शुरु गरेका हुन्।

विवेकशील साझामा रहेर काम गरेका पुकारले काठमाडौं क्षेत्र नं. १ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। विवेकशील हुँदै विवेकशील साझामा आवद्ध रहेका बमले आफ्नो उम्मेदवारी भने स्वतन्त्र उम्मेरवारका हैसियतमा गरेका हुन्।

बमले आफ्नो उम्मेदवारी घोषणा गरेसँगै काठमाडौंका मेयर साहले अपनाएको तरिकालाई नै आफ्नो निर्वाचन अभियानका रूपमा अघि सारेका छन्। उनले पनि डा. सन्दुक रोहित, पूर्वसचिव उपाध्याय लगायतका व्यक्तिसँग भेट गरेका छन्। उनले पनि बालेन्द्र साहले जस्तै समाजिक सञ्जालमार्फत आफ्नो भेटघाटको विषयलाई  सार्वजनिक गरेका छन्।

बमजस्तै काठमाडौंबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अर्का व्यक्ति हुन्- हेमराज थापा। पश्चिम नेपालको बाजुरा जिल्लाका थापाले काठमाडौं क्षेत्र नं. ४ बाट संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

काठमाडौं क्षेत्र नं. ४  कांग्रेस महामन्त्री गगन थापा र  एमाले  विदेश विभाग प्रमुख राजन भट्टराईले चुनाव लड्दैआएको क्षेत्र हो। विभिन्न समाजिक कार्यमा आफ्नो संलग्नता रहेको समाजिक सञ्जालमार्फत देखाउने थापाले पनि आफ्नो निर्वाचन अभियान बालेन्द्र साहकै सिको गरी थालनी गरेका छन्।

बमले डा.सन्दुक रोहित र पूर्वसचिव उपाध्यक्षलाई भेटेको तस्वीर समाजिक सञ्जालमा सार्वजनिक गर्दा हेमराजले दिनेश खनालसँगको भेटघाटलाई सार्वजनिक गरेका छन्। बालेन्द्र साहको निर्वाचन अभियानमा सघाएका खनालसँग हेमराजले भेटघाट गरेका हुन्। खनाल नेपालमा रहेका चिनियाँ व्यवसायीहरुलाई सहयोग गर्ने चीननिकट व्यक्ति हुन्।

त्यसो त काठमाडौंबाट स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने क्रम बढ्दै गएको छ। २०७४ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गर्दै तेस्रो स्थानमा आएकी रञ्जु दर्शनादेखि लिएर रेडियो नेपालमा लामो समय कार्यक्रम प्रस्तोताका रूपमा काम गरेका सञ्चारकर्मी हरिशरण लामिछानेले समेत काठमाडौंबाट स्वतन्त्र  उम्मेदवार बन्ने घोषणा गरेका छन्।

त्यस्तै, नातामा हरिशरणकै भाइ टेलिभिजनकर्मी रवी लामिछानेले त आफ्नो नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै घोषणा गरे। अनि आगामी संघीय निर्वाचनमा आफू उम्मेदवार बन्ने घोषणा गरे। तर, उनले आफू कुन निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने हो, त्यो भने खुलाएका छैनन्।

स्थानीय तह निर्वाचनमा काठमाडौंमा साहले प्राप्त गरेको सफलता र धरानमा हर्क सम्पाङको विजयले संघीय निर्वाचनमा धेरै स्वतन्त्र व्यक्तिहरु हौसिएर आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन्। जति पनि व्यक्तिले आफ्नो उम्मेदवारी घोषणा गरेर निर्वाचन अभियान थालेका छन्,  अधिकांशले काठमाडौंका मेयर बालेन्द्र साहले अपनाएको रणनीतिलाई नै अपनाउने प्रयास गरेका छन्। त्यो हो- विभिन्न क्षेत्रका व्यक्तिहरुलाई भेट गर्ने, उनीहरुका अनुभव सुन्ने र आफ्नो उम्मेदवारीको प्रचार उनीहरूमार्फत गराउने।

राजनीतिक टिप्पणीकार मुमाराम खनाल यस्तो अभियानमाथि व्यङ्ग्य गर्छन्। बालेन्द्रले अपनाएको रणनीतिले नै संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी हुनसक्ने आधार खनालले देखेका छैनन्। “स्थानीय तहको काम गर्ने तरिका र संघीय तहमा काम गर्ने तरिका फरक हुन्छ,” टिप्पणीकार खनालले भने, “बालेनले जुन रणनीतिले आफ्नो निर्वाचन अभियान सञ्चालन गरे र सामाजिक व्यक्तिहरुसँग भेटे, त्यही तरिकाले संघीय निर्वाचनको अभियान फलदायी हुन गाह्रो हुन्छ।”

राजनीतिमा युवाको आकर्षण बढ्नुलाई भने राम्रो मान्नुपर्ने खनाल बताउँछन्।

काठमाडौं क्षेत्र नं १ बाट आफ्नो उम्मेदवारी दिएका बम बालेन साह सफल भएको अभियानको सिको आफूहरुले गरेको स्वीकार गर्छन्। बालेन सफल भएकाले यस प्रकारको अभियान अहिले चर्चामा भएको बमले बताए। यस्तै प्रकारको शैली आफूहरुले यसअघिको निर्वाचनमा पनि अपनाएको उनको दाबी छ।

“मैले यसअघि पनि निर्वाचन लडिसकेको छु, ती निर्वाचनका क्रममा मैले अहिलेजस्तै निर्वाचन अभियान सञ्चालन गरेको थिएँ,” काठमाडौं क्षेत्र नं.१ को उम्मेदवार बन्ने घोषणा गरेका बमले भने, “अहिले आएर बालेनले यही अभियानमार्फत सफलता प्राप्त गरेका कारण हामीले त्यसको सिको गरेजस्तो देखिएको हो।”

यसो त पहिला पार्टीमा संलग्न व्यक्तिहरुले पनि अहिले आफूलाई स्वतन्त्र उम्मेदवारका रूपमा अघि सारेका छन्। बम त्यसको उदाहरण हुन्, यस्ता उदाहरणको सूची लामो छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved