एन्फा निर्वाचन

पहिले मिले, अहिले भिड्दैछन्

यसपालिको एन्फा निर्वाचनमा ८४ भोटको खेल हुनेछ। यी दुवै प्रत्यासीले आफ्नो प्यानलमा ५० भन्दा बढी भोट रहेको दाबी गर्दै आएका छन्। चुनावी माहोल हेर्दा दुईबीच कडा प्रतिस्पर्धा हुने आकलन गर्न सकिन्छ।

पहिले मिले, अहिले भिड्दैछन्

काठमाडौं। कुनै बेला थियो, नेपाली फुटबल भन्नेबितिकै गणेश थापा सम्झिन् गरिन्थ्यो। नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को व्यवस्थापनदेखि मैदानभित्र र बाहिर उनको नामको अगाडि अरू छायामा पर्थे।

नेपाली फुटबलमा करीब २२ वर्षको लामो थापाको एकक्षत्र राज तोड्न हल मिलेर भएर हिँडेका थिए, वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरीष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ।

गणेश थापाको युग समाप्त पार्न काँधमा काँध मिलाएका यी दुई यो पटकको एन्फा निर्वाचनमा भने एकअर्काविरुद्ध नै भिड्दैछन्। सोमबार बुढानिलकण्डस्थित पार्क भिलेज रिसोर्टमा एन्फाको २१ औं साधारण सभा (चुनाव) मा शेर्पा र नेम्बाङ अध्यक्ष पदका प्रमुख प्रतिस्पर्धी हुन्।

अर्को शक्तिलाई परास्त गर्ने बेला हातेमालो गरेका यी दुई नेपाली फुटबलको सर्वोच्च शक्तिका लागि भने छुट्टाछट्टै प्यानल बनाएर लड्दैछन्।

अघिल्लो चुनावसम्म पनि नेम्बाङ, शेर्पाकै दाहिने हातसरह थिए। २०७१ सालदेखि चार वर्षअघिको अघिल्लो चुनावसम्म यी दुईको गठबन्धन कसिलो थियो। तर ‘चेन्ज एन्फा’ को एजेण्डा बोकेर एउटै प्यानलबाट अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका यी दुईबीच यसको करीब एक वर्षपछि नै ‘दरार’ आउन थाल्यो।

शेर्पाकै नेतृत्वमा उपाध्यक्षबाट वरीष्ठ उपाध्यक्ष बनेका नेम्बाङ यो चुनावमा शेर्पाकै विरुद्धमा उत्रिएका छन्।

अघिल्लो चुनावमा यो प्यानलको नारा थियो- ‘परिवर्तनका लागि सामूहिक एकता, पारदर्शिता र विकेन्द्रीकरण हाम्रो प्रतिबद्धता।’

तर यो नाराअनुसार शेर्पा नेतृत्वमा केही परिवर्तन नभएकाले उनीविरुद्ध जानु परेको नेम्बाङ बताउँछन्, “हिजोको चुनावमा सुन्दर नारालाई बेचेर हामी एन्फामा शतप्रतिशत विजयी भयौं। तर निर्वाचित भइसकेको केही समयमा नै हाम्रो एकता बिथोलियो।”

“एकतामै बल हुन्छ र एकताले नै नेपाली फुटबलको विकास गर्न सकिन्छ भनेर बारम्बार भन्यौं। तर एन्फा नेतृत्वले चार जना उपाध्यक्षलाई चारतिर, १२ जना सदस्यलाई १२ तिर बनायो। क्लब र जिल्लामा फुटाऊ र राज गर भन्ने नीतिमा लिप्त हुनुभयो,” उनी थप्छन्।

एन्फा शुद्धीकरण आफूहरूको प्रमुख एजेण्डालाई शेर्पाले भुलेका र अनियमिततामा साथ दिएको नेम्बाङ आरोप लगाउँछन्। “एन्फाको आर्थिक नियमावली बनाएको दिनदेखि नै त्यसविपरीत काम भयो, एन्फामा नीतिगत र आर्थिक अनियमतता चरम अवस्थामा छ।”

यो नेतृत्वलाई परिवर्तन गर्ने नै नेम्बाङ प्यानलको प्रमुख एजेण्डा हो। जसको नारा छ- ‘नेपाली फुटबलको आधुनिकीकरण र व्यवसायिताकता ’

एन्फा सचिवलायलाई चुस्त दुरुस्त बनाउने र चेन अफ कमाण्डमा राख्ने प्रमुख लक्ष्य नेम्बाङको छ।

यसबाहेक फुटबलमा धेरै ठूलो योजना नभएको उनी बताउँछन्। गणेश थापाको बेलामा एकपल्ट भएको राष्ट्रिय लिगलाई पुनः निरन्तरता दिने। ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनलाई व्यवस्थित गर्ने। काठमाडौँमा क्लबहरूलाई प्रशिक्षण गर्ने मैदान बनाउने। ग्रासरुट लेभल र उमेर समूहको फुटबललाइै वैज्ञानिक ढंगले चलाउने र जिल्लामा भएका क्लबलाई व्यवस्थित गर्नेजस्ता सामान्य योजना नेम्बाङको छ।

शेर्पाविरुद्ध नेम्बाङलाई निलम्बनमा रहेका गणेश थापाको साथ रहेको आरोप छ। पहिले मौन देखिएका थापा पनि चुनाव नजिकिँदै जाँदा शेर्पाविरोधी प्रचारमा लागिपरेका छन्। पहिले थापाका पक्षधर रहेका केही अनुहारहरू पनि अहिले नेम्बाङको प्यानलमा खुलेका छन्।

गत वर्ष राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एक विवादमा नेम्बाङलाई मुछेका थिए। अल्मुताइरीले नेम्बाङकै कारण काम गर्न गाह्रो भएकाले आफूले राजीनामा दिने घोषणा पनि गरेका थिए। तर उक्त समयमा नै नेम्बाङले यसलाई आसन्न चुनाव केन्द्रित ‘स्टन्ट’ बताएका थिए।

यता निवर्तमान अध्यक्ष शेर्पाले भने विपक्षीलाई भ्रष्टाचारको आरोप लगाएर मात्र नभई प्रमाणित गर्न चुनौती दिएका छन्। पहिलो कार्यकालका अधुरा काम पूरा गर्न अर्को कार्यकाल चाहिएको उनी बताउँछन्। भन्छन्, “म ठूलो योजनाको कुरा गर्दिनँ, नेपाललाई विश्वकप जिताउने कुरा पनि गर्दिनँ। हाम्रो फाउण्डेसन नै छैन। खै ग्रास रुट? खै युवा कार्यक्रम? खै प्रतियोगिताहरू व्यवस्थित भएका? सबै भर्खर शुरु हुँदैछ। व्यावसायिकता खै त? व्यवासायिकता नभई अब फुटबल टिक्नेबाला छैन। यस्तै कामहरू पूरा गर्न र नेपाली फुटबललाई गन्तव्यमा पुर्‍याउने योजना हाम्रो छ।”

चार वर्ष पूरा काम गर्न नपाइ पनि कोरोना कालमा पनि फुटबलको काम भने नरोकिएको शेर्पा बताउँछन्। “यो समयमा क्यापासिटी बिल्डिङ र अनलाइन प्रशिक्षणको काम भयो,” उनी थप्छन्, “हामीले काम गर्न खोज्दा धेरै दुःख र अप्ठ्यारो भागिसकेका छौँ। पटक पटक मुद्दा खेप्यौँ। तर अब नेपाली फुटबलमा भएका विकृति र विसंगति सक्याउने छौं।”

शेर्पा प्यानलको यो पटकको नारा ‘संस्थागत विकास, आर्थिक सबलीकरण र व्यावसायिकता’ रहेको छ।

यसपालिको एन्फा निर्वाचनमा ८४ भोटको खेल हुनेछ। यी दुवै प्रत्यासीले आफ्नो प्यानलमा ५० भन्दा बढी भोट रहेको दाबी गर्दै आएका छन्। चुनावी माहोल हेर्दा दुईबीच कडा प्रतिस्पर्धा हुने आकलन गर्न सकिन्छ।

शेर्पा र नेम्बाङको मेल र उदय

गणेश थापाले करीब २२ वर्ष एन्फाको बागडोर सम्हालेका थिए। २०५१ सालदेखि लगातार एन्फाको सर्वोच्च पदमा रहेका थापा पछिल्लो पटक २०७० सालमा अर्को चार वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका थिए।

तर त्यही वर्षदेखि शेर्पा र नेम्बाङ दुवै एन्फामा थापाको वर्चस्व भत्काउन एकजुट भएका थिए। शेर्पा उक्त कार्यसमितिमा उपाध्यक्ष थिए भने नेम्बाङ सदस्य।

यी दुईसँगै तत्कालीन उपाध्यक्षहरू किशोर राई र विजय नारायण मानन्धर मिलेर एन्फा शुद्धीकरणको अभियानमा लागेका थिए। एन्फाभित्र आर्थिक अनियमितता भएको भन्दै गणेश थापाविरुद्ध उनीहरूले भ्रष्टाचारको आरोप लगाई २०७१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संस्थामा उजुरी दर्ता गराए।

यसपछि अर्को वर्ष यी चारै जनालाई थापाको नेतृत्वमा रहेको एन्फाले निलम्बलन गरेको थियो।

थापाको भ्रष्टाचार मुद्दालाई अख्तियारले तामेलीमा राख्यो। तर २०७२ सालमा भ्रष्टाचारकै अभियोगमा विश्व फुटबल महासंघ (फिफा) ले थापामाथि फुटबलको सबैखाले गतिविधिमाथि प्रतिबन्ध लगायो।

निलम्बलनमा परेका कर्माछिरिङ शेर्पा र पंकज विक्रम नेम्बाङसहित चारै जनाको पुनर्बहाली भयो। गणेश थापा युगको अन्त्य भयो। थापाको छायामा परेका यी दुईको एन्फा मुलधारमा उदय भयो।

यसपछि फिफाको निर्देशनअनुसार २०७३ मा भएको चुनावमा पनि शेर्पा र नेम्बाङ एक थिए। तर अध्यक्ष पदमा उठेका शेर्पा, नरेन्द्र लाल श्रेष्ठसँग मात्र पाँच मतले पराजित भए। हाल नरेन्द्र पंकजको प्यानलमा छन्।

२०७५ को चुनावमा ‘चेन्ज एन्फा’को नारा बोकेर शेर्पा र नेम्बाङ फेरि एकै प्यानलबाट उत्रिएका थिए। शेर्पा अध्यक्षमा र नेम्बाङ उपाध्यक्ष्मा उठेका थिए। यो पटक शेर्पा प्यानल नै विजयी भयो।
यसपछि शेर्पाले नेम्बाङलाई वरीष्ठ उपाध्यक्ष बनाए। तर एक वर्षपछि नै यो लामो समयदेखिको गुटमा फुट आयो र अहिले दुवै एकअर्काविरुद्ध अध्यक्ष पदका लागि मैदानमा उत्रिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved