प्रिय कथा

धुवाँ

धुवाँ

(रचनागर्भ– एक साँझ उदयपुर जिल्लाका पञ्चायती व्यवस्थाका पहिलो राष्ट्रिय पञ्चायत सदस्य भैरवीप्रसाद पोखरेल एकजना जोगी जस्तो लाग्ने मान्छेलाई लिएर हाम्रो घरमा आउनुभयो। मैलो राडीको ओड्ने ओढेको ती मान्छेलाई देख्ने बित्तिकै मेरो बालसुलभ हृदयमा केही जिज्ञासाहरू पैदा भए। भैरवीप्रसाद पोखरेललाई त पहिलादेखि नै चिनेको थिएँ। उहाँ नातामा काका पर्नुहुन्थ्यो। रूपाटार विद्यालय पढ्न थालेपछि उहाँको रूपाटारको घरमा विभिन्न कारणले पुगेको थिएँ। काकीले विशेष माया गर्नुहुन्थ्यो। त्यसैले पनि फुर्सद भएपछि एक्लै उहाँको घर धेरै पटक गएको थिएँ।

घरमा बेलाबेलामा जोगी आइरहनु सामान्य कुरा थियो। तर भैरवी काकाले लिएर आएका ती पाहुना जोगीलाई देखेपछि केही कौतूहलता पैदा हुनु स्वाभाविकै थियो। उनलाई गर्ने आतिथ्यता घरमा अलिक विशेष प्रकारकै थियो।

भोलिपल्ट बिहान उज्यालो नहुँदै ती जोगी घरबाट हिँडेछन्। तर भैरवी काका चाहिँ घरमै हुनुहुन्थ्यो। बुबाले बिहानै उठेर भन्नुभयो, ‘बिहानै ख्याल भएन, गोठमा पाडाबाच्छाले सबै दूध खाइसक्यो होला। अब दूध बाँकी छैन होला।’

ती जोगी जस्तो लाग्ने मानिसले बिहानै उठेर गोठमा पाडाबाच्छा सबै खोलिदिएर हिँड्ने रहेछन्। गाईभैंसीको दूध हामीले खाइदिनु पाडाबाच्छालाई मानिसले गर्ने शोषण हो भन्ने उनको भनाइ रहेछ। मलाई त्यो घटनाले एउटा प्रभाव परिरह्यो। पछि उनको बारेमा केही बुझ्ने अवसर पनि प्राप्त भयो। उनी रहेछन्– गम्भीरबहादुर थापा। सात सालको क्रान्तिका एकजना योद्धा। नेपाली काङ्ग्रेसको उदयपुरको पहिलो जिल्ला सभापति। तर निरक्षर भएको र आर्थिक अवस्था कमजोर भएको कारण उनले १५ सालमा सांसदको टिकट पाएनन्। तर काङ्ग्रेसको उदयपुरको वास्तविक नेता उनै थिए।

एकपटक कृष्णप्रसाद भट्टराईले उनैलाई इङ्गित गरेर एउटा अन्तर्वार्तामा कतै भनेका थिए, ‘मेरो साथी पनि जोगी भयो, म पनि जोगी हुन्छु।’

शोषण र अन्यायका विरुद्धमा उनले थुप्रै गीत र कविताको सिर्जना गरेका छन्। जीवनपर्यन्त उनको जिउने शैली त्यस्तै रह्यो। अन्यायको विरुद्ध बोलिहाल्ने। करिब डेढ दशकअघि उनको निधन भयो। तर उनी हाम्रो गाउँ–समाजमा अहिले पनि मिथक जस्तै भएर चर्चामा छन् र नयाँ पुस्ताको खोजीको विषय भएका छन्। यो कथाको मूल पात्र उनै गम्भीरबहादुर थापा हुन्।)

‘फ्रस्टेड बौलाहा’ चोकको पूर्वपट्टि आएर उभियो। निर्माण पूरा हुन नपाउँदै अलपत्र परेको विवादित स्तम्भतिर फर्केर ऊ फेरि एकपटक जोडले हाँस्यो।

‘यहाँ सहिद स्तम्भ बन्नुपर्छ, कुनै भ्रष्टहरूको सालिक यहाँ बनाउन पाइँदैन।’ उसले सबैलाई सुनाउन ठूलो स्वरमा करायो।

यो चोक बजारमा त्यो बौलाहा जहाँ पनि जतिबेला पनि उपस्थिति हुन्छ। समय–समयमा बस्तीतिर पनि गइरहन्छ। ऊ अरू बौलाहाजस्तो बौलाहा भने होइन। मानिसहरूसँग सभ्य र शिष्ट व्यवहार गर्छ। दुःख र अन्यायमा परेका मानिसहरूलाई सल्लाहमात्र होइन, प्रतिबद्ध भएर सहयोग पनि गर्छ। ऊ यो भेकमा ‘फ्रस्टेड बौलाहा’का रुपमा प्रख्यात छ। तर उसको वास्तविक नाम शशीराज थापा हो। एउटा बोरा ओडेर हिँड्छ ऊ। एउटा लौरो पनि बोक्छ।

कसैको घरमा गएर ऊ त्यसै खाँदैन। त्यहाँका केही काम गरिदिन्छ। उसले जीवनको लामो खण्ड राजनीतिमा बितायो। त्यसबेला पनि ऊ इमानदार व्यक्तिको रुपमा परिचित भयो। उसले आफ्ना क्रियाकलापहरूमा परिवर्तन गर्दै जान थाल्यो। त्यसपछि ऊ शशीराज थापाबाट ‘फ्रस्टेड बौलाहा’ बन्यो। अविवाहित थियो र अहिलेसम्म पनि अविवाहित नै छ। यो बजार वरिपरि मात्र होइन, टाढा–टाढाका गाउँ–बस्तीहरूमा समेत ऊ परिचित छ।

हिजोआज यो बौलाहा स्थानीय पार्टी नेताहरूको आँखामा कसिंगर बनिरहेको थियो। तर ऊ नयाँ पुस्ताका युवाहरूको मन जित्न पनि उत्तिकै सफल भएको थियो। ऊ सत्ता नजिकका मानिसहरूको कसिंगर बन्ने क्रम निकै लामो छ। निरंकुश पञ्चायतकै समयमा प्रधानपञ्चमा चुनाव उठ्ने निहुँ गरेर उसले पञ्चायती व्यवस्थाको खिल्ली उडायो। पञ्चायती सरकारको आँखामा ऊ खतरनाक शत्रु बनेको थियो त्यसबेला। संसदीय राजनीतिको बाह्र वर्षमा पनि ऊ एमाले, कांग्रेस र राप्रपाजस्ता पार्टीहरूको आँखामा बिझाइरह्यो। शाही शासनकालको समय उसका लागि धेरै कष्टपूर्ण रह्यो। जनस्तरबाट ठूलो आवाज नउठेको हो भने माओवादीको आरोपमा ऊ मारिने अवस्थामा पुगेको थियो। तर ऊ बौलाहा भनिएर मात्र बाँच्न सफल भयो।

बजारको बीचमा एउटा सानो चोक छ। चोकको बीचमा वरिपरि पर्खाल लगाएर घेरिएको एउटा सानो पार्क पनि छ। तर त्यो पार्क केही महिनादेखि अलपत्र र लथालिङ्ग अवस्थामा छ। निर्माण गर्दागर्दै स्थानीय युवा विद्यार्थीहरूले पार्कको बीचमा पञ्चायतकालमा मारिएका एकजना सहिदको सालिक राख्ने प्रस्ताव राखे। त्यो प्रस्तावका कारण त्यहाँ निकै ठूलो राजनीतिक हल्लीखल्ली मच्चियो। विद्यार्थीहरूको प्रस्तावमा फ्रस्टेड बौलाहाले समर्थन मात्र जनाएन, अरूको सहयोग जुटाउने अभियान नै पनि थाल्यो।

अचेल यो महत्वपूर्ण विवादलाई लिएर फ्रस्टेड बौलाहाले नयाँ पुस्ताको चेतना र चिन्तनलाई बोकेर नेतृत्व नै लिएको छ।

‘सहिदको नाममा यहाँ कम्युनिष्टको सालिक राख्न दिनुहुन्न। बरु सालिक राख्ने नै हो भने हाम्रा पार्टीका नेताको राख्नुपर्छ।’ पञ्चायतकालका यही गाउँ पञ्चायतका प्रधानपञ्च र बहुदलकालका गाविस अध्यक्ष भइसकेको जनता पार्टीका नेता रंगध्वजले युवा विद्यार्थीहरूको प्रस्तावको विरुद्धमा एउटा मोर्चा नै खडा ग¥यो।

युवा विद्यार्थीहरूको प्रस्तावमा दिनहुँ जनसमर्थन बढ्दै गयो।

‘एउटा सभा गरेर हामीले जनसमर्थन बटुल्नुपर्छ।’ एक दिनको कोठे भेलामा रंगध्वजले आफ्ना सहयोगीहरूसँग यस्तो प्रस्ताव राख्यो।

रंगध्वज र उसका सहयोगीहरूले सभा गर्ने दिन त तोके, तर युवा र विद्यार्थीहरूको पक्षमा दिन दुईगुना रात चौगुनाको दरले समर्थन बढिरहेको थियो। पार्कभित्र राख्ने सालिकका बारेमा विवाद बढ्दै गएपछि अलिकति आकार लिन थालेको पार्क पनि क्रमशः भत्कँदै र विदु्रप बन्दै गइरहेको थियो।

‘हाम्रो पार्टीको आदरणीय नेताको सालिक नराख्ने हो भने यहाँ हामी कसैको पनि सालिक राख्न दिँदैनौं।’ रंगध्वजले सभामा चुनौती र धम्कीका शब्दहरू बर्साए। सभामा मानिसहरूको उपस्थिति अत्यन्तै कम थियो। उसले सभाको यो हालतको कल्पनासम्म पनि गरेको थिएन। सभामा रंगध्वजले औंला सोझ्याएर मान्छेहरूको गिन्ती ग¥यो। एक.. दुई…, चौध…. पन्ध्र। फेरि ग¥यो। उही पन्ध्र जना।

‘पन्ध्र जनाको सभा त साह्रै लाजलाग्दो भयो।’ एकजना सहयोगीले रंगध्वजकै अघिल्तिर निराश सुस्केरा छाड्यो।

यो कुरालाई रंगध्वजले नसुनेझैं गरेर एकपटक आफ्नो अतीततिर फर्कियो। ऊसँग त्यस्ता दिनहरू पनि थिए, जुन दिन यी सभामा जम्मा भएका मानिसहरू सदा दिन उसकै अघिपछि भइरहन्थे। सभामा मानिसहरूको उपस्थिति देखेर ऊ ज्वालामुखी फुट्न लागेको पहाडझैं क्रोधित भइरहेको थियो।

रंगध्वजको सभा कोणसभाझैं क्षणभरमै सकियो। सभालाई अन्त गरेर उसले पाइला मात्र के अघि बढाएको थियो, बजारको तल्लो चोकतिरबाट एउटा ठूलो जुलुस आफैँ भएतिर आउँदै गरेको आवाज सुन्यो। उसले जुलुसका मान्छेहरूको आवाजलाई ठम्याउने कोसिस ग¥यो। आवाजले बुझिन्थ्यो– जुलुस निकै ठूलो थियो।

‘ओहो जुलुस त ठूलो रहेछ !’ उसकै सहयोगी रघुवीरले ठूलो स्वरले प्रतिक्रिया दियो। रंगध्वजलाई रघुवीरसँग भित्रभित्रै रिस उठ्यो।

जुलुस आएको बाटोबाट अलिकति पछि फर्किएर रंगध्वज एउटा गल्लीतिर पस्यो। केही सहयोगीहरूलाई लिएर रंगध्वज भाग्दै पूर्वतिरको मूलबाटो निस्कियो। मुलबाटोमा निस्किएपछि उसलाई झन् डर लाग्यो। ऊ फेरि अर्को गल्लीतिर पर बेग बढिरहेको श्वासलाई रोकेर ऊ एकपटक पछिल्तिर फर्कियो।

जुलुसबाट चर्को नारा गुन्जिरहेको थियो। नारामा आफ्नो नाम मिसिएको पनि सुन्यो उसले। उनी आफ्ना भयग्रस्त जीवनका अतीततिर फर्कियो। पञ्चायत ढलेर बहुदल आउँदा पनि उसको जीवन कम त्रासपूर्ण थिएन। तर बिस्तारै उनले एउटा पार्टी समातेर गाविस अध्यक्षसम्म भयो।
उनको आँखामा यस ठाउँमा शासन गरेका आफ्ना स्वर्गीय दिनहरू नाच्न थाले।

‘तर समय अब मेरो मुठ्ठीबाट टाढा पुगिसक्यो !’ उसले फेरि वर्तमानतिर फर्केर सोच्यो।

‘सहिदहरूलाई बिर्सेर यहाँ भ्रष्टहरूको सालिक राखिन्छ भने अब यस ठाउँमा मानिसहरू नबसेर मुर्दामात्र बसे हुन्छ।’ माइकबाट ठूलो स्वरले फ्रस्टेड बौलाहा कराइरहेको थियो।

‘केटाहरू अब हामीले ठण्डा भएर सोच्नुपर्छ।’ रंगध्वजको अनुहार पानी पर्नुभन्दा अघिको वातावरण शान्त भएझैं देखियो।

‘यो सबै भाँड्ने काम त्यही बौलाहाको हो। त्यसले यो सबै गाउँ टोललाई नै उचालेको छ।’ हुल्लड–बाजको रुपमा कुख्याती कमाएको उसको सहयोगी नरेन्द्रले परिस्थितिको विश्लेषण गर्न खोज्यो।

‘अब यहाँ त्यो एउटा बौलाहा मात्र छैन। सयौं बौलाहाहरू जन्मिसकेका छन्। ती सबै बौलाहाहरू सदाचार, नैतिकता र जीवन मूल्यको कुरा गर्छन्।’ रंगध्वजले परिस्थितिको गम्भीर आँकलन ग¥यो।

‘अब हामीले नयाँ ढंगले चल्न सक्नुपर्छ।’ अर्को सहयोगीले रंगध्वजलाई आफ्नो रणनीति परिवर्तन गर्ने सल्लाह दियो।

उसले रंगध्वजको कानमा सुटुक्क केही कुरा फुस्फुसायो। एकछिन अघिल्तिर अँध्यारो पोतिएको रंगध्वजको अनुहारमा फेरि उज्यालोको किरण पोखियो।

रंगध्वज टाउको हल्लाउँदै बिस्तारै उठ्यो। र, सहयोगीहरूलाई लिएर फेरि गल्लीको अर्को दिशातिर अलप भयो।

०००

‘आज राति फ्रस्टेड बौलाहा मरेछ !’ रेडियोले प्रसारण गरेको समाचारझैं यो खबर छिनभरमै चारैतिर फैलियो। बिहानै नुहाउन नदी किनारतिर जाने कोही मान्छेले उसको मृत्युको खबर एक कान मैदान हुँदै सारा बजार र बस्तीभरि फैलियो।

बिहान उज्यालो हुनेबित्तिकै फ्रस्टेड बौलाहाको मृत्यु बजारवासीहरूका लागि असामान्य समाचार बन्यो। धेरैले ‘होइन होला’ भनेर शंका व्यक्त गरे। बजारका प्रायः सबै मानिसहरूको अनुहारमा चिन्ताका धर्साहरू देखिए। रंगध्वज र उसका केही सहयोगीहरू भने केही हतास भएजस्ता देखिन्थे। बौलाहाको मृत्युको जनचासोले झन् उनीहरूको हतासपन बढ्दै गयो। यी दुवै प्रतिक्रियाहरू त्यहाँ प्रष्टै देखिन्थे र बुझिन्थे।

फ्रस्टेड बौलाहाले आफूलाई फ्रस्टेड राजनीतिक कार्यकर्ता भनेर परिचय दिन्थ्यो। त्यसैले उसको नाम नै फ्रस्टेड बौलाहा भनेर परिचित बन्यो।

‘मलाई फ्रस्टेड बौलाहा भने केही फरक पर्दैन !’ सबैसँग ऊ हाँसेरै यसो भन्थ्यो।

सबैले बौलाहा भनिदिएर मात्र ऊ बौलाहा भयो। ऊ एक्लो थियो। राजनीति ग¥यो, अविवाहित बस्यो। छ्यालीस सालको आन्दोलनपछि उसले आफ्नो बाटो भत्कियो भन्न थाल्यो। आफ्ना साथीहरूको सत्तामोहपछि उसले पार्टी छाडिदियो। केही समयपछि आफ्नो सम्पत्ति आफ्नै परिश्रमले खोलेको गाउँको विद्यालयलाई दियो र त्यही विद्यालयमा निःशुल्क पढाउन थाल्यो। त्यसपछि सबैले उसलाई बौलाहा भनिदिए। उसले मानिसहरूको भनाइलाई अस्वीकार गर्दै हिँडेन। वास्तवमा ऊ बौलाहा थियो कि थिएन, उसको मृत्युपश्चात्सम्म पनि रहस्यकै विषय बन्यो।

उसको तर्क गर्ने शैली बडो अचम्मको थियो।

सत्य र न्यायको पक्षमा डटेर लाग्थ्यो। अन्यायी र शोषकहरूको ऊ हुर्मत लिन्थ्यो। बजारका जाली–फटाहाहरू ऊसँग त्राहीमाम हुन्थे। उनीहरू ऊसँग छलिएर हिँड्थे र अघि पर्ने साहसै गर्दैनथे।

बिहान सबेरै बजार र टोलका मानिसहरू बौलाहाको लास हेर्न सुनकोशी बगरतिर दौडिए।

‘यो मृत्यु स्वाभाविक होइन !’ उसको लासलाई हेर्नेबित्तिकै एकजनाले अर्कोको कानमा फुसफुसायो।

‘स्वाभाविक नभएको भनेको के ?’ अर्कोले सोध्यो।

‘हत्या !’ अर्कोले थप्यो।

‘पक्कै हो !’ त्यो मान्छे कन्भिन्स भयो।

‘घाँटीमा डोरीले कसिएको निलडाम छ।’ भीड अघिल्तिरबाट एउटा आवाज आयो।

त्यसपछि भीडमा फेरि मानिसको ठेलमठेल शुरु भयो।

‘हत्या नै हो !’ सबैको यही ठहर भयो।

‘कसले, किन मा¥यो ?’ भीडमा कसैले अर्को प्रश्न उठायो।

‘यो पनि बुझ्न अप्ठ्यारो छ र !’ एकजना विद्यार्थीको आक्रोश सुनियो।

‘यहाँ ठूलो षडयन्त्र छ !’ अर्को विद्यार्थीको स्वर चर्को भयो।

‘यी बौलाहा हाम्रो समाजका मणि हुन्। सम्मानका साथ यिनको अन्त्येष्टि गर्नुपर्छ।’ शिक्षक रामानन्दले विद्यार्थीहरूतिर फर्केर समर्थनको आग्रह गरे।

‘पहिले पोष्टमार्टम गर्नुपर्छ।’ फेरि अर्को मत सुनियो।

मानिसहरूको एउटा ठूलो समूह लास लिएर अस्पतालतिर गयो। अस्पताल वरिपरि मानिसहरूको ठूलो भीड लाग्यो। पोष्टमार्टममा षड्यन्त्र हुनसक्ने त्रासले मानिसहरू खबरदारी गरिरहेका थिए।

अस्पतालमा भीड बढ्दै गएपछि केही मान्छेहरू बजार चोकको चियापसलमा झुम्मिए।

‘त्यो मान्छे बौलाहा थिएन।’ शिक्षक दिनानाथले चिन्तित मुद्रामा आफ्नो भनाइ राखे।

‘बौलाहा थिएन भने उसको जीवन किन अस्वाभाविक थियो ?’ चियापसले एकाएक जिज्ञासु भयो।

‘उसले आफ्नो आस्था र विचारलाई क्रियान्वयन गर्न सजिलो बनाउन त्यसो गरेको हुनसक्छ।’ शिक्षक दिनानाथ फेरि गम्भीर देखिए।

‘मलाई पनि यस्तै लागेको हो।’ अघिसम्म शंका व्यक्त गर्ने पसले पनि आफ्नो विचारलाई परिवर्तन गर्दै थियो।

‘बौलाएजस्तो नगरेको भए के हुुन्थ्यो ?’ अर्का कर्मचारी फेरि जिज्ञासु देखिए।

‘बौलाहाजस्तो अभिनय नगरेको भए उनी यति लामो समयसम्म बाँच्न पाउँदैनथे। माओवादीको आरोपमा उनलाई गिरफ्तार गर्दा उनलाई त्यतिबेला हत्या गर्न लागेको चर्चा चलेको थियो। बौलाहा भनिएर मात्र उनी त्यतिबेला बाँच्न सफल भए।’ दिनानाथले स्पष्टीकरण दिए।

‘आखिर बौलाएर पनि त बाँच्न पाएन नि !’ कर्मचारीले पनि आफ्नो जिज्ञासालाई खोतल्दै गयो।

‘ऊ केका लागि बौलायो ?’ अर्को जिज्ञासा भीडमा फेरि कतैबाट आयो।

‘सत्य र न्यायको कार्यान्वयन गर्न !’ अर्को जवाफ भीडबाटै आयो।

‘ऊ सत्य र न्यायको विरुद्धमा कतै लाग्यो त ?’ चिया पसल्नी रुँलाजस्तो गरी।

‘बौलाहा मरेकोमा यसलाई ठूलो चिन्ता परेजस्तो छ।’ चियापसलेले आफ्नी स्वास्नीतिर फर्केर खिसिट्यूरी ग¥यो।

‘त्यो बौलाहा नभएको भए तिमी मलाई यसरी बस्न दिन्थ्यौं र ? सम्झ त पुराना कुराहरू !’ स्वास्नीले उसलाई वाल्ल पारी।

‘त्यो बौलाहाले तँलाई के न्याय ग¥यो ?’ पसलेले अँध्यारो मुख पार्दै प्रतिवाद गर्न खोज्यो।

‘दाइजो नल्याएको निहुँमा तिमीले मलाई घरबाट निकाल्न खोजेको कुरो बिस्र्यौ ?’ पसलेलाई स्वास्नीले अतीतको घाउ देखाई।

‘त्यसो भए त्यो बौलाहा तेरो भाग्य विधाता थियो होइन त ?’ पसले निधार खुम्च्याएर फेरि हाँस्यो।

‘मलाई मात्र होइन, धेरै मानिसहरूलाई त्यसले न्याय दिलायो।’ पसलेकी स्वास्नी फेरि संवेदित देखिई।

‘मलाई न्याय चाहियो। म बौलाहा खोज्दै हिँडेकी !’ एउटी वृद्ध महिला चोकमा आएर सबैको मुखतिर हेर्दै चिच्याइन्।
सबैले एकपटक मुखामुख गरे।

अस्पतालबाट शवयात्रा गर्दै विशाल जुलुस यही चोकतिर आयो। सबैका आँखा जुलुसतिर टाँसिएका थिए।

‘घरमा आगो लागेछ। आगोको मुस्लो र धुँवाले आकाशै छुन लाग्यो !’ पसल्नीले सबैको ध्यान अर्कोतिर आकर्षित गरी।

‘रंगध्वजको घरमा जुलुसले आगो लगाएजस्तो छ।’ शिक्षक दिनानाथले परिस्थितिको अनुमान लगाए।

‘त्यसको घरमा त आगो झोस्नै पथ्र्यो।’ पसल्नीको प्रतिक्रिया झरिहाल्यो।

जुलुस त्यही चोकमा आएर रोकियो।

‘यस ठाउँमा यतिका मान्छे मैले अहिलेसम्मै देखेकी थिइन्।’ पसलेले अचम्म मानेर मानिसहरूको भीडतिर आँखा दौडायो।

‘अब यस ठाउँमा फ्रस्टेड बौलाहा र शहीदको शालिक स्थापना गरिने छ।’ चोकमा बनाइएको मञ्चमा चढेर उद्घोषक बोलिरहेको थियो।

‘शवयात्रा अब फेरि शुरु हुन्छ।’ मञ्चबाट कसैले अर्को जानकारी गरायो।

रंगध्वजको घर सल्किएर धुँवाको लप्का आकाशमा थेग्ला–थेग्लामा विभाजित भएर बिलाइरहेको थियो।

‘घर बलेको धुँवा त अरू धुँवाभन्दा बेग्लै हुँदो रहेछ।’ मलामीहरू आकाशतिर फर्केर प्रतिक्रिया जनाइरहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved