महाकाली : दुई कविता

वर्षौंपछि जेठको प्रचण्ड धूपमा
महाकालीको किनारमा छु म।

नेपालभ्युज

महाकाली : दुई कविता

महाकालीको किनारमा

–अमर गिरी

जेठको प्रचण्ड धूपमा
महाकालीको किनारमा छु म
जोडले चलिरहेछ हावा
हावामा उडिरहेछ नदीको बालुवा
बालुवासँगसँगै उडिरहेछन् पातहरू
हावाले उडाएको बालुवाबाट बचाउन आँखा
फर्किएको छु म हावा बहिरहेको दिशातर्फ।

आफ्नै भूगोल भएर पनि
होइन कि जस्तो लाग्ने
अकथनीय पीडा बोकेर बाँचेको
छातीभित्र वेदनाको हुरी चले पनि
प्रायः बाहिर हाँसिरहने दोधारा–चाँदनी
नेपालको बाँकी भागसँग उसलाई जोड्ने
झोलुंगे पुलको छेउमा उभिएर
हेरिरहेछु उत्तरतिर
आँखामा आइरहेछ शारदा र टनकपुर ब्यारेजको
धमिलो धमिलो अनुहार
स्पष्ट भएर उभिइरहेछ इतिहासको चित्र
र त्यो जेठको घाम भएर दुखिरहेछ
मेरो छातीभित्र।

वर्षौंपछि जेठको प्रचण्ड धूपमा
महाकालीको किनारमा छु म।

०००

कालीमा पानी हेरिरहेछु

–गोपाल पराजुली

नागार्जुन लिएर
सगरमाथा लिएर
धरतीभित्र प्रवेश गर्ने तिमी हौ, हेरिरहेछु।

मभित्र धेरै माया छ
यो माया लिएर
तिमीभित्र प्रवेश गर्ने म हुँ, गरिरहेछु।

घर–घरमा धरती छ
धरतीमाथि सबको आकाश छ
तिमी छौ हेरिरहेछु।

तिमीलाई अगाडि राखेर
तिम्रो विचारको दीप
आँखामा बालिरहेछु।

तिम्रो चरणकमलको धूलो छोएर
धरतीको माटो छोएर
गुराँसमा लाली चढेको हेरिरहेछु।

मेरो राजा ! तिमीलाई स्मरण गरेर मात्र
म मेचीमा
कालीमा पानी बगेको हेरिरहेछु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved