दुई अनुदित लघुकथा

मदारीले उदास स्वरमा भने, “जहाँ बाँदर नेता र भालु मन्त्री बन्दछन् भने त्यो ठाउँमा केही मानिस अन्धा र बहिरा त पक्कै बन्छन्।”

नेपालभ्युज

दुई अनुदित लघुकथा

पानी र तिर्खा

–जसवीर चावला

युगौं पहिला पानी र तिर्खा एकैसाथ रहन्थे। सँगै हाँस्थे, खेल्थे, ब्युँझन्थे, सुत्थे। तर एकदिन कुनै कुरामा तिर्खामा अहंकार पलायो र भन्यो, “मैले नै तिम्लाई सम्हालिरहेको छु। मबिना तिमी रहन सक्छौ ?”

पानीले भन्यो, “हो, जसरी आगोबिना रहन सकिरहेको छु, त्यसैगरी तिमीबिना पनि रहन सक्छु।”

तिर्खा जल–विहीन भयो र अन्यत्रै हिँड्यो।

पानी बिरामी भयो। दिनप्रतिदिन सुक्न थाल्यो। बादलले पानीको अवस्था देख्यो र आफूलाई सम्हाल्न सकेन। ऊ तिर्खालाई खोज्न देश–विदेश घुम्न थाल्यो। कतिपय ठाउँमा पुग्दा उसलाई लाग्दथ्यो, यही नै तिर्खा हो…तर होइन। मरुभूमि हुन्थ्यो।

बादल धेरै निराश भयो र पानीको हालत सोच्दै रुन थाल्यो।

एकदिन उसले असली तिर्खालाई भेट्टायो। ऊ पहिलाभन्दा धेरै नै परिवर्तित भइसकेको थियो। तलाउभन्दा गहिरो उसको आँखा पानीको वियोगमा कालो देखिन्थ्यो। बादलले सबै व्यथा बतायो। तर तिर्खा टसको मस भएन र भन्यो, “धेरै ठूलो बन्न खोज्छ ! म यसरी नै बाँच्न सक्छु, मर्न देऊ उसलाई।”

बादलमा धेरै करुणा जाग्यो दुवैप्रति। ऊ धेरै रोयो, “के भयो यसलाई ? झुठा अहंकारले निल्यो।”

अब भने तिर्खा महँगा–महँगा बोतलमा बिक्न थालेको छ। पानी जहाँतहीं भट्किरहेको छ– कहिले बाढी बनेर, कहिले पहाड बनेर। उसलाई असली तिर्खा मिलिरहेको छैन।

०००

संकल्प

–स्वामी नित्यानन्द

एक जना मदारी (भालु र बाँदर नचाउने व्यक्ति) बाँदर र भालुको नाच देखाएर फर्किरहेका थिए। बाटोमा एउटा मन्दिर थियो, जुन मन्दिरमा आफूले मागेको कुरा पूरा हुने विश्वास गरिन्थ्यो।

मन्दिरको प्रवेशद्वारको बाहिर उभिएर मदारीले बाँदर र भालुलाई भने, “यो मन्दिरमा कुनै वरदान मागे भने पूरा हुन्छ। आऊ हामी पनि केही मागौं।”

तीनै जना आँखा बन्द गरी हात जोड्दै उभिए। र, केही क्षणपछि तीनै जना सँगसँगै अगाडि बढे।

बाटोमा मदारीले बाँदरलाई सोधे, “तिम्ले के माग्यौ ?”

बाँदरले जवाफ दियो, “मैले नेता बन्न पाऊँ भनेर मागेँ।”

मदारीले भालुलाई सोधे, “तिम्ले नि ?”

भालुले भन्यो, “मैले त मन्त्री बन्न पाऊँ भनेर मागेँ।”

केही बेरको मौनतापछि बाँदर र भालुले मदारीलाई सोधे, “हजुरले चाहिँ के माग्नुभयो नि ?”

मदारीले निराश हुँदै भने, “मैले त अन्धा र बहिरा हुन पाऊँ भनी मागेँ।”

बाँदर र भालुले आश्चर्य जनाउँदै सोधे, “किन यस्तो मागेको ?”

मदारीले उदास स्वरमा भने, “जहाँ बाँदर नेता र भालु मन्त्री बन्दछन् भने त्यो ठाउँमा केही मानिस अन्धा र बहिरा त पक्कै बन्छन्।”

(हंस (हिन्दी मासिक)को नोभेम्बर २००१ र नोभेम्वर २०११ अंकबाट भावानुवाद)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved