पहिलो अन्तर्राष्ट्रिय उपाधिको खोजी

सन् २००७ मा थाइल्याण्डसँगको खेलबाट नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेटको आरम्भ गरेको थियो। एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपअन्तर्गत खेलेको आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा नै थाइल्याण्डलाई ५५ रनले पराजित गर्दा नेपाली महिला क्रिकेट टिमले राम्रो भविष्यको संकेत गरेको थियो।

पहिलो अन्तर्राष्ट्रिय उपाधिको खोजी

काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न शुरु गरेको १५ वर्ष भयो। सन् २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेकेको नेपाली महिला क्रिकेट टिमले हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि भने जित्न सकेको छैन।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले हालसम्म जितेको एक मात्र उपाधि भनेको गतवर्ष खेलेको कतारसँगको तीन म्याचका टी-ट्वान्टी सिरिजको उपाधि हो। पहिलो पटक खेलेकोे अन्तर्राष्ट्रिय सिरिजमा नेपाली महिला टिमले तीन खेल नै जित्दै क्लीनस्वीप नै गरेको थियो।

तर बहुराष्ट्र सहभागी प्रतियोगितमा महिला टिमको उपाधि संख्या शून्य छ।

सन् २००७ मा थाइल्याण्डसँगको खेलबाट नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेटको आरम्भ गरेको थियो। एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपअन्तर्गत खेलेको आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा नै थाइल्याण्डलाई ५५ रनले पराजित गर्दा नेपाली महिला क्रिकेट टिमले राम्रो भविष्यको संकेत गरेको थियो।

उक्त पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागितामा नै नेरी थापाको कप्तानीमा रहेको नेपाल उपविजेता बनेको थियो। डेब्यू प्रतियोगिताको समूह चरणदेखि नै अपराजित रहँदै अन्तिम दुईमा पुगेको नेपाल फाइनल एक खेलमा मात्र बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो।

पहिलो प्रतियोगिताको यो सफलतापछि नेपाली महिला क्रिकेट टिमले आउँदा दिनमा देशका लागि थुप्रै उपाधि जित्ने र विश्वकप खेल्ने सपना देखेको थियो। तर यो १५ वर्षको अवधिमा महिला टिमले अन्तर्राष्ट्रिय उपाधि पनि जित्न सकेको छैन भने विश्वकपका लागि छनोट पनि हुन सकेको छैन।

यसै वर्ष सम्पन्न आईसीसी महिला टी-ट्वान्टी विश्वकप २०२३ को एशियाली छनोटमा पनि राम्रो प्रदर्शन गर्न नसक्दा महिला टिमको विश्पकप खेल्ने सपना यो पटक पनि पूरा हुन सकेन। तर अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने अर्को सपना पूरा गर्ने मौका नेपाली महिला टिमसामु आइपुगेको छ। नेपालले शुक्रबारदेखि मलेशियामा आयोजना हुने एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाउँदैछ।

रुविना क्षत्रीको कप्तानीमा रहेकी १५ सदस्यीय नेपाली टिम मलेशिया पुगिसकेको छ। प्रतियोगिताका लागि १९ खेलाडी सहितको अन्तिम चरणको बन्द प्रशिक्षणपछि क्यानले १५ खेलाडीको अन्तिम टिम छानेको हो।

रुविना नेपाली महिला टिमकी दोस्रो कप्तान हुन्। महिला टिमकी पहिलो कप्तान नेरी थापाबाट सन् २०१२ मा उने कप्तानीको दायित्व पाएकी थिइन्।

महिला टिमले हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न नसकेको पीडा हाल खेलिरहेका खेलाडीमा पनि रहेको रुविना बताउँछिन्, “महिला क्रिकेटमा हामीले कुनै पनि उपाधि ल्याउन सकेका छैनौं। हामी क्रिकेट खेलिरहेका खेलाडीमा यसको ठूलो पीडा छ।”

यो पटक भने सबै खेलाडीको मिहिनेत हेर्दा नेपालले राम्रो प्रदर्शन गर्नेमा उनको विश्वास छ। यो पटक टिमले खाली हात नफर्कने गरी प्रतिस्पर्धा गर्ने उनको बुझाइ छ।

“हामी सबैको एउटै लक्ष्य भनको च्याम्पियन भएर फर्कने हो। हामीले गरेको अभ्यास र मिहिनेतले हामी च्याम्पियन हुन्छौं भन्ने विश्वास छ। हामीले धेरै वर्षदेखि क्रिकेट खेलिरहेका छौं त्यसैले यो प्रतियोगितामा कुनै दबाब छैन। तर, नतिजा दिन नसकिरहेकोले यसपालि भने त्यसका लागि प्रयास गर्नेछौं”, मलेशिया जानुअघि रुविनाले बताइन्।

रुविनाका अनुसार यो पटक नेपालले उपाधि जित्दै इतिहास रच्नेछ भने एशिया कपका लागि पनि छनोट हुनेछ।

यो एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप यसै वर्ष बंगलादेशमा आयोजना हुने महिला टी-ट्वान्टी एशिया कपको छनोट प्रतियोगिता पनि हो। यो प्रतियोगिताको फाइनल खेल्ने शीर्ष दुई टिमले एशिया कप खेल्न पाउनेछन्।

नेपालले सन् २०१२ र २०१६ मा दुई पटक एशिया कप खेलेको छ। २०१८ को पछिल्लो संस्करणमा छनोट हुन नसकेको नेपालको लागि यो प्रतियोगिता एशिया कप खेल्ने बाटो पनि हो। त्यसैले यो प्रतियोगितामा कम्तीमा फाइनलमा पुग्न सके नेपालले ६ वर्ष पछि एशिया कप पनि खेल्न पनि पाउनेछ।

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप एशियाली क्रिकेट परिषद् (एसीसी) ले आयोजना गरेको प्रतियोगित हो। जसमा नेपालसहित १० राष्ट्रको सहभागिता छ। प्रतियोगितमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ।

नेपाल रहेको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन्। त्यसैगरी, आयोजक मलेशिया रहेको समूहमा ओमान, कतार, युएई, र सिंगापुर छन्। समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनलमा भिडन्त गर्नेछन्। नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ।

गत महीना नेपालले घरेलु मैदानमा पहिलो पटक युगाण्डासँग पाँच म्याचको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो। सिरिज ३-२ ले गुमाए पनि सो सिरिजबाट नेपालले धेरै सिक्ने मौका पाएको थियो।
सिरिजपछि ब्याटिङ, फिल्डिङलगायत क्षेत्रमा रहेको आफ्नो धेरै कमिकमजोरी स्पष्ट भएको कप्तान रुविनाको धारणा छ। प्रमुख प्रशिक्षक जगत टमाटाको बन्द प्रशिक्षणमा उक्त कमजोरीलाई नै सुधार्नमा नेपाली टिम केन्द्रित थियो।

उक्त घरेलु सिरिजले यो प्रतियोगितमा टिमको खेल स्तर सुधार्न धेरै मद्दत पुगेको प्रशिक्षक जगत टमाटाको विश्लेषण छ।

त्यसैगरी, गत महिना मात्र विश्वभरिका स्टार खेलाडीको सहभागिता रहेको फेयरब्रेक इन्भिटेसनल टी-ट्वान्टी लिग खेलेर आएकी सीता राना मगरको अनुभव यो प्रतियोगितामा नेपाली टिमलाई ठूलो प्लस प्वाइन्ट हुनेछ।

यसअघि नेपालले सन् २००९ र २०११ मा यो प्रतियोगिता खेलेको थियो। दुवै पटक नेपालको यात्रा सेमिफाइनलमा पुगेर टुंगिएको थियो। उक्त दुवै संस्करणमा नेपाललाई सेमिफाइनलमा हङकङले पराजित गरेको थियो। यो पटक पनि नेपाललाई प्रमुख चुनौती हङकङको नै हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved