असारभित्र मल आइपुग्छ : कृषिमन्त्री

भारतबाट ५० हजार मेट्रिक टन बढी रासायनिक मल असारको दोस्रोदेखि तेस्रो सातासम्म आइपुग्ने कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिए।

नेपालभ्युज

असारभित्र मल आइपुग्छ : कृषिमन्त्री

काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले असारभित्र मल आइपुग्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा भारत सरकारसँगको छलफलका आधारमा ५० हजार मेट्रिक टन बढी रासायनिक मल असारको दोस्रोदेखि तेस्रो सातासम्म आइपुग्ने मन्त्री यादवले बताए।

विश्व बजारमा नै इन्धनलगायतका मूल्यमा भएको वृद्धिका कारण सहजरूपमा रासायनिक मल उपलब्ध हुन नसकेको तथ्य उनले पेश गरे। भारतमा वैकल्पिकरूपमा ‘तरल नाइट्रोजन’ प्रयोग भइरहेको र नेपालमा पाँच लाख लिटर उपलब्ध भइसकेको र बाँकी ४५ लाख लिटर आउने क्रममा रहेको यादवले सदनलाई जानकारी दिए।

सरकारले भारत, चीन, कुवेत, साउदी अरब, तुर्कमेनिस्तानलाई रासायनिक मल उपलब्ध गराइदिन पत्राचार गरेको भए पनि कुनै जानकारी नआएको मन्त्री यादवले बताए। चालु आर्थिक वर्षका लागि रासायनिक मलका लागि १५ अर्ब बजेट विनियोजन भएकामा थप १२ अर्ब ७१ करोड बराबरको स्रोत सुनिश्चित भएको उनले जानकारी दिए।

पछिल्ला दिनमा रुस र युक्रेन सङ्घर्षका कारण विश्व बजारमा नै मलको मूल्य वृद्धि भएकाले त्यसको मारमा नेपाल परेको मन्त्री यादवको भनाइ छ । संसदमा उनले भने,“सबै मिलेर यसको समाधान गरौँ। यो महिनाभरिमा रासायनिक मल उपलब्ध गराउने कार्यमा सबैको सहयोग जरुरी छ ।”

मन्त्री यादवले चीनबाट कूल २३ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न लागिएकामा सात हजार मेट्रिक टन आयात भइसकेको भए पनि व्यवसायीको समयावधि सकिएकाले अब कुन प्रक्रियाबाट त्यसलाई मिलाउने भन्नेबारेमा छलफल जारी रहेको बताए।

बोलपत्रको लामो प्रक्रियाका कारण किसानले खोजेको समयमा मल उपलब्ध गराउन समस्या भएको उनले सदनमा जानकारी गराए। बोलपत्रमा सहभागी हुने व्यवसायीलाई विश्वास गर्दा समेत कतिपय अवस्थामा दुःख पाइएको र किसानले समयमा रासायनिक मल प्राप्त गर्न नसकेको भन्दै उनले त्यसमा सुधारको आवश्यकता औंल्याए।

उनले सहजरूपमा रासायनिक मल आयातका लागि सरकारीस्तरमा (जीटुजी) नै विशेष पहल गर्नुपर्ने र त्यसका लागि सरकार लागि परेको जानकारी दिए। बोलपत्र प्रक्रियाबाट मलखाद उपलब्ध हुन नसक्ने यो ठेक्का प्रणालीबाट नहुने भएकाले त्यसमा सुधार गर्नुपर्नेमा उनको जोड थियो। मन्त्री यादवले रासायनिक मल कारखाना स्थापना गर्नु नै सबैभन्दा उत्तम विकल्प रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved