प्रिय पात्र

मनमस्तिष्कमा छाप छोड्ने यी पात्र

प्रेमा शाहको लघुआकारको उपन्यास छ, ‘मम्मी’। यो उपन्यासिकाको मुख्य पात्रमा हाड र मासु भए पनि त्यसमा जीवन्तता र सजीवताको पुट भरिएको छ। त्यो उपन्यासिका पढेपछि पाठकलाई अमिट छाप छाड्ने क्षमता राख्दछ।

मनमस्तिष्कमा छाप छोड्ने यी पात्र

कुनै पनि पात्रको सृष्टि गर्दा आख्यानकार, कथाकार वा नाटककारले धेरै मिहिनेत गर्नुपर्छ, धेरै प्रतिभाको लगानी गर्नुपर्छ। तबमात्र एउटा यस्तो पात्रको सृष्टि हुन्छ, जसले पाठकको मनमस्तिष्कमा अमिट छाप छाडेर जान्छ। काल्पनिक पात्रको छवि पाठकहरूको मानसपटलमा त्यतिबेलासम्म अविस्मरणीय ठहरिँदैन, जसलाई अविस्मरणीय तुल्याउन लेखकले धेरै मिहिनेत गर्नुपर्छ।

नेपाली उपन्यासहरूको कुरा गर्दा मलाई पारिजातले आफ्नो प्रसिद्ध कृति ‘शिरीषको फूल’को पात्र सकम्बरीलाई जसरी सृष्टि गर्नुभयो, त्यो पात्र मलाई अविस्मरणीय लागेको हो। सो उपन्यास पढेपछि सकम्बरीलाई कुनै पनि पाठकले बिर्सन सक्दैन।

कतिपय ऐतिहासिक पात्रहरू पनि आख्यानमा शक्तिशाली रूपमा आएका छन्। जस्तैः राजेन्द्र थापाको उपन्यास ‘द्रौपदी’ कि पात्र द्रौपदीलाई लिन सकिन्छ। थापाले एउटा पौराणिक पात्रलाई आधुनिक सन्दर्भमा रुपायित गर्नुभएको छ, जसलाई पाठकले बिर्सन सक्दैन।

प्रेमा शाहको लघुआकारको उपन्यास छ, ‘मम्मी’। यो उपन्यासिकाको मुख्य पात्रमा हाड र मासु भए पनि त्यसमा जीवन्तता र सजीवताको पुट भरिएको छ। त्यो उपन्यासिका पढेपछि पाठकलाई अमिट छाप छाड्ने क्षमता राख्दछ।

नीलम कार्की ‘निहारीका’ को उपन्यास ‘योगमाया’ को पात्र योगमाया पनि शक्तिशाली पात्र हुन्। यो उपन्यास पढेपछि योगमायाको तस्बिर र रूपरेखा मनमस्तिष्कमा आउँछन्। तथापि यो उपन्यासमा कुनै नयाँ पात्रको सृष्टि गरिएको छैन, पुरानै पात्रलाई उभ्याइएको छ। यो उपन्यासमा योगमायाले आफू मात्र नभई अरू महिलालाई पनि आत्महत्या गर्न उत्प्रेरित गर्छिन्। एक हिसाबले योगमायाको कार्यलाई आत्मघाती मान्नुपर्छ। अरू महिलालाई आत्महत्याका लागि प्रेरित गर्ने कार्यलाई मानवोचित मान्न सकिँदैन। किनभने हरेक मानिसको बाँच्न पाउने मौलिक अधिकार हुन्छ। यद्यपि, यो उपन्यासमा नीलमले एउटा ऐतिहासिक घटनाको आख्यानीकरण गरेकी छिन्। एउटा सीमित परिवेशकी योगमायाको चारित्रिक विशेषताबारे पाठकहरूले सधँै सम्झिने गरी उपन्यासकारले लेखेकी छिन्।

मैले भर्खरै सानु शर्माको ‘उत्सर्ग’ पढेँ। उपन्यासमा एउटा पात्र छ– गौरव। जसले आर्यालाई शब्दजालमा फसाएर यौन शोषण गर्दछ र पछि बिहे पनि गर्छ। अस्टे«लियाको सिड्नीमा बस्ने दुवैबीच बिहे भए पनि गौरवले आर्यालाई बेवास्ता गर्दछ। पछि आर्याको अभिभावकले उनको बिहे आदित्यसँग गरिदिन्छन्।

पूर्ववर्ती समयमा अध्ययन गरेका उपन्यासमध्ये डा. वानिरा गिरिको ‘निर्बन्ध’, ध. च. गोतामेको ‘घाममा पाइलाहरू’ र ‘यहाँदेखि त्यहाँसम्म’ उपन्यास र त्यसका पात्रहरूले मलाई प्रभावित पारेका हुन्। यी उपन्यासमा स्थानीय पात्रहरूमार्फत् सामन्ती प्रथा र शोषणको विरोध गरिएका छन्।

पछिल्लो पुस्ताकी लेखिका मुना चौधरीको उपन्यास ‘जयबर्द्धन सहलेस’ ले पनि मलाई तानेको छ। अहिलेसम्म सहलेसको नाम लोकसंस्कृतिमा मात्र आउँथ्यो। चौधरीले आख्यानीकरण गरेर सहलेसलाई चिनाउने काम गरेकी छिन्। मैले अहिलेसम्म सहलेसबारे उपन्यास वा कथा पढेको छैन। सहलेसजस्तो लोकजीवनका पात्रलाई चिनाउने चौधरीको प्रयत्न प्रशंसनीय छ। चौधरीकै अर्को औपन्यासिक कृति ‘दुलारी’का पात्रहरूले भने मधेसी समाज, जनजीवन र लोकशैलीको प्रतिनिधित्व गरेका छन्। यो उपन्यासमा प्रयुक्त कथोपकथन सुन्नलायक छ।

सञ्जीव उप्रेतीको उपन्यास ‘घनचक्कर’ पढ्दा त्यसका पात्रले पनि मलाई प्रभावित तुल्याएको थियो। उक्त उपन्यासमा एउटा बौलाहाको जसरी चित्रण गरिएको छ, त्यसले हाम्रो मानसिकतालाई झक्झकाउँछ। उप्रेतीले अर्को उपन्यास ‘हंस’ मा चाहिँ चराचुरुङ्गीलाई पात्र बनाएर उपन्यासलाई जीवन्तता दिएका छन्।

भवानी भिक्षुको कथा ‘मेरो सानु साथी’ का पात्र पनि प्रभावशाली लाग्छ। भिक्षुले सानो साथीको चरित्रलाई यसरी चित्रण गर्नुभएको छ, जसलाई पाठकहरूले कहिल्यै पनि बिर्सन सक्दैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved