दुई लघुकथा

घर फर्किने बेला तरकारी पसले धेरै खुसी देखिइन् किनकि पाँच रुपियाँको पालुंगोलाई उनले दश रुपियाँमा बेचेकी थिइन्।

नेपालभ्युज

दुई लघुकथा

खोज

राजीव सिंह

दुइटा बाँदर कुराकानी गरिरहेका थिए।

एउटाले भने, “यार, मैले एउटा कुरा सुनेँ कि, एक जना मानिसले खोज–अनुसन्धान गरेर उनीहरूको वंशज बाँदर थिए भन्ने कुरा पत्ता लगाए रे।”

“तिम्ले ठीक सुन्यौ”, दोस्रो बाँदरले भने, “एउटा खोज त मैले पनि गरेको थिएँ तर तिम्लाई विश्वास लाग्दैन।”

“किन विश्वास नलाग्नु, पहिला त बताऊ।”

“मेरो खोजले भन्दछ कि, हाम्रो पूर्वज मानिस थिए।”

पहिलो बाँदर अचम्भित हुँदै दोस्रो बाँदरलाई हेर्न थाले।

दोस्रो बाँदरले भने, “मैले पहिला नै भनेको थिएँ कि, मेरो कुरामा तिम्लाई विश्वास लाग्दैन।”

पहिलो बाँदरले तर्क गरे, “यद्यपि, मानिसले यसलाई सिद्ध गरेका छन्।”

“सिद्ध त मैले पनि गरेको हुँ।”

“त्यो कसरी ?”

“कसरी भने पहिला मानिस शान्ति, प्रेम र सद्भावपूर्वक रहन्थे, जसको परम्परा हामीले आजसम्म निभाइरहेका छौँ।”


लेनदेन

प्रभात दुबे

रातको करिब साढे नौ बजेको थियो। तरकारी बजार धेरै अँध्यारो भइसकेको थियो। उज्यालो कम। प्रायः सबै पसल बन्द भइसकेका थिए।

रमेश बाबुले तरकारी बजारको पूरै एक फन्को लगाए र एउटी वृद्ध महिलाको बन्द हुनै लागेको तरकारी पसलसामु उनले आफ्नो साइकल रोके। सो पसलका सबै तरकारी पहिला नै बिक्री भइसकेका थिए। केवल एउटा टोकरीमा थोरै पालुंगो राखिएको थियो। जसलाई देखेर रमेश बाबुले सोधे, “आमा, पालुंगो किलोको कसरी हो ?”

“बाबु, दिनभरि पन्ध्र रुपियाँ किलो बेचेँ, अब घर जाने बेला भयो, दश रुपियाँ किलोमा दिन्छु, लैजानू।”

“ठीक छ, एक किलो दिनू”, रमेश बाबुले हतारमा भने।

तरकारी पसल सञ्चालन गर्ने महिलाले अँध्यारोको फाइदा उठाइन् र तराजुको पल्ला तल झुकाएर तीन पाउ पालुंगोलाई एक किलो बताउँदै हतार–हतार रमेश बाबुको झोलामा राखिदिइन्।

रमेश बाबुले पनि चाँडै तरकारी पसलेको हातमा दश रुपियाँ राखिदिए र तीव्र गतिमा साइकल कुदाउँदै गन्तव्यतिर लागे।

घर फर्किने बेला तरकारी पसले धेरै खुसी देखिइन् किनकि पाँच रुपियाँको पालुंगोलाई उनले दश रुपियाँमा बेचेकी थिइन्। उता साइकल चलाउँदै आत्मसन्तोषले भरिएको अनुहारमा विजयी भाव बोकेर रमेश बाबु मनमनै सोचिरहेका थिए, “आज मेरो दश रुपियाँको नोट तह लाग्यो, तीन दिनदेखि यो नोट कसैले पनि लिन मानिरहेका थिएनन्। तर आज क्षणभरमै चल्यो।”

यसरी एकले अर्कालाई बेवकुफ बनाउने यो लेनदेनले दुवै जनालाई रोमाञ्चित तुल्याइरहेको थियो।

हिन्दी मासिक ‘हंस’ को अक्टोबर २००९ र मे २०१२ को अंकबाट भावानुवाद।  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved