विराटनगर। मोरङको विराटनगरबाट प्रहरीले ४० लाख मुल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्रयाक्टर नियन्त्रणमा लिएको छ।
विराटनगर महानगरपालिका–४ बाट प्रहरीले राजश्व छली गरी नेपाल भित्र्याएको सामानसहित भारतीय बीआर ४४ जीबी २६२७ नम्बरको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको हो। ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडा लगायतका सामाग्री फेला परेको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद गरिएका सामान ४० लाख बराबरको रहेको छ।
अवैध ढङ्गबाट राजश्व छलेर विराटनगरबाट इटहरीतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सामान बरामद गरि चालकलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका ट्याक्टर चालक भारतको अररिया जिल्लास्थित जोगबनी–१० टिकुलियाका ३४ वर्षीय श्याम चौधरी रहेका छन्।
पक्राउ परेका चौधरीलाई भने बरामद सामान र ट्याक्टर सहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको प्रहरीले जनाएको छ।
Facebook Comment
Comment