बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने

नेपालभ्युज

बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने

काठमाडौं। जिल्ला अदालत काठमाडौँले बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिनेगरी भएको अन्तरकालीन आदेश बदर गरेको छ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले आज यसअघि गत चैत २५ गते बतास समूहका पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो। यो आदेशसँगै उक्त समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने भएको छ।

“करार उल्लंघन भई करार नै बदर भइसकेको अवस्थामा करारको परिपालना गराउन एकपक्ष बाध्य हुनसक्ने कुरा देखिदैन”, आदेशमा भनिएको छ, “तसर्थ प्रतिवादी पक्षबाट करार भंग गरिसकिएको स्थितिलाई बादी पक्ष समेतले स्वीकार गरी रहेको पाइन्छ, तसर्थ भंग भइसकेको करारलाई यथावत् पालना गर्न मिल्ने अवस्था कानूनतः देखिएन।”

पशुपति क्षेत्र विकास कोषले यसअघि करार भंग भएको उल्लेख गर्दै होटल सञ्चालन गर्न नदिएपछि बतास समूहले अदालतमा मुद्दा दिएको थियो। अदालतले होटल सञ्चालन गर्न बतास समूहलाई अवरोध नगर्न अन्तरकालीन आदेश दिएको थियो।

उक्त अन्तरकालीन आदेशविरुद्ध कोषले दिएको निवेदनको सुनुवाइ गर्दै आज न्यायाधीश कोष र बतास समूहबीचको करार भंग भइसकेकाले पुनःहोटल सञ्चालन गर्न दिनु कानुनबमोजिम नहुने उल्लेख गर्दैै अन्तरकालीन आदेश बदर गरिदिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved