दुई अनुदित लघुकथा

केही घण्टाको व्यस्ततापछि बिहानको कामबाट जब उनलाई केही समय फुर्सद मिल्यो, पूरै थकित हुँदै आफ्नो कोठासम्म आइन्। र, मुढाजस्तै ओछ्यानमा पल्टिइन्।

नेपालभ्युज

दुई अनुदित लघुकथा

स्त्रीका आठ हात

अमरीक सिंह दीप

बिहानको नौ बजेको छ।

सिंगो घरमा होहल्ला मच्चिरहेको छ। पति ठुल्ठुलो स्वरमा भनिरहेका छन्, “सुधा, मेरो टाइ कहाँ छ ? चाँडै खोजिदेऊ, मलाई अफिस जान ढिला भइसक्यो।”

छोराछोरीको विद्यालय जाने समय भयो। छोरीले उस्तै हल्ला गरिरहेकी छे, “मम्मी, चाँडै मेरो कपाल कोरिदिनुस्, स्कुलको बस नछुटोस्।”

छोराचाहिँ सिंगो घर नै उचालेर भनिरहेका छन्, “मम्मी, मेरा म्याथको कापी कहाँ छ ? कतै भेटिँदैन त।” ससुरा-बुबा बाहिर टहलिन निस्किन लागिरहेका छन्। उनको लठ्ठी भेटिएन।

सासु-आमाको औषधि खाने समय भयो।

कोचिङ कक्षाका लागि नन्दको जाने बेला भयो। उनलाई चाँडै नास्ता दिनुपर्ने छ।

दूधवालाले दूध चाँडै लिनका लागि ढोका ढक्ढक्याइरहेका छन्।

यी सबै काम सुधाले नै गर्नु परिरहेको छ। उनी बिहान जतिखेर उठ्छिन्, तबदेखि काममा व्यस्त रहनु परिरहेको छ।

केही घण्टाको व्यस्ततापछि बिहानको कामबाट जब उनलाई केही समय फुर्सद मिल्यो, पूरै थकित हुँदै आफ्नो कोठासम्म आइन्। र, मुढाजस्तै ओछ्यानमा पल्टिइन्।

केही क्षणपछि जब थकानको मात्रा केही कम भयो, तब उनको आँखा भित्तामा टाँगिएको अष्टभुजा (आठवटा हात भएकी) वाला देवी दुर्गाको तस्बिरमा पर्‍यो।

देवी दुर्गाको आठ वटा हात हुनुको अर्थ उनले बल्ल बुझिन्।


उसको अट्टहास

सन्तोष सुपेकर

शपथ ग्रहण समारोह चलिरहेको थियो, ‘म ईश्वरको नाममा शपथ लिन्छु कि, सदैव सत्यनिष्ठापूर्वक काम गर्दछु।’

“हा..हा..हा..।” उपस्थितहरूको भीडमा एक जना व्यक्तिले जोड-जोडका साथ अट्टहास गरे।

“तिमी को हौ, भाइ ?”, मैले दिक्क मान्दै सोधेँ, “किन हाँसिरहेका छौ?”

“म हरेक त्यस्तो ठाउँमा उपस्थित रहने कोसिस गर्दछु, जहाँ सत्यको नाममा कसैले शपथ लिन्छन्, चाहे त्यो नेताहरूको शपथ ग्रहण समारोह होस्, चाहे अदालतमा गीता/कुरानजस्ता पवित्र ग्रन्थमाथि हात राखेर लिनेजस्ता कसम होस्, चाहे चिकित्सा क्षेत्रको हिप्पोक्रेटिक ओथ होस्…।”

“यो त ठीकै कुरा हो तर तिमी को हौ ?”

“अब पनि चिनेनौ मलाई ?”, फेरि अट्टहास गर्दै उनी बोले, “म झुठ हुँ, असत्य! तर यस्तो देखेर म अति प्रसन्न हुन्छु कि, मेरा कट्टर शत्रु ‘सत्य’ को सबभन्दा धेरै अपमान यस्तै शपथ समारोहहरूमा हुने गर्दछ।”

(हिन्दी भाषाको मासिक पत्रिका ‘हंश’ को जुलाई २०१२ र नोभेम्वर २०११ को अंकबाट भावानुवाद।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved