ट्याम्के, परशु र म
जसराज किराती
उताबाट ट्याम्केलाई तिमीले हेरिरहेछौ
मैले यताबाट हेरिरहेछु
परशु !
निःसन्देह हामी एउटै कुरालाई दुई तिरबाट हेरिरहेछौं।
आकाशलाई अलिकता ढाकेर
यसो भनौं- आपस्तमा हामीलाई छेकिदिएर
त्यो आफू अग्लो हुनुको अभिमान बोकिरहेछ
र हाम्रा हेराइको किनारामा
आ-आफ्नै विन्दुको आकाश ओढेर
तिमी उभेका छौ
शायद म त्यसै छेउमा उभेको वा नउभेको आकृतिमा छु
यो चाहिँ सत्य हो कि
त्यो ट्याम्के
एउटा आकाशलाई दुई फब्ल्याँटा पारेर
हाम्रो बीचमा उभिएको छ।
ट्याम्के-
एकातिर उकालाहरू चढेर त्यो अग्लो पनि छ
अर्कातिर ओरालाहरू झरेर त्यो होचो पनि छ
तिमी उकालाहरू चढ्छौ
म ओरालाहरू झरेको छु
परशु !
निःसन्देह एउटै ट्याम्केमा हामी दुइटा यात्रा हिँडिरहेछौं।
त्यहाँ ट्याम्केमा
देख्नेहरूले इन्द्रेणी लागेको पनि देखेका छन्
डढेलो पनि भेटेका छन्
र त्यो इन्द्रेणी
त्यो डढेलो
यता मेरो यात्राको पदचापमा दुख्छ
मेरो सपनाको आगोमा
त्यो फुस्स खरानी खस्छ
र परशु !
मरेका मेरा सपनाका आगाहरू टाँगेर आकाशमा
म ट्याम्केलाई छोप्न खोज्छु
शायद
यो विडम्बना हो कि !
आफ्ना नियतिहरू उचालेर म ट्याम्के उभिन खोज्छु।
मैले आफ्नो उचाइमा
ट्याम्केको घाम-झुल्का र भुवादार मौसमलाई
बोकी हिँड्न
खोइ, कहाँ सक्छु र ?
खोइ, कहाँ क्षितिजको अडेस गरेर म विश्राम लिन सक्छु र ?
मैले ट्याम्केमा देखेको इन्द्रेणी
आफ्नै रङहरूमा मेटिएको रिक्तता देख्छु
मैले हेरेको क्षितिज पनि
आफ्नै शून्यतामा क्षतिग्रस्त देख्छु
र हरेक पटक
मेरो ट्याम्केमा
केही न केही दुर्घटना हुन्छ
केही न केही विघटन र विध्वंश भइरहन्छ
अर्थात्
हरेक पटक म आफ्नो आकृतिमा कहीं न कहीं मरिरहेको हुन्छु।
परशु !
तिमीले ट्याम्केको लालीगुराँसका रङहरू
तिम्रो सानो फूलबारीमा सारेका छौ
कमसेकम केही पुतली र भमराहरू
त्यहाँ उडेका
गुनगुनाएका सुन्दै, हेर्दै गरेका पनि छौ
तिम्रा आँखामा
ट्याम्केको जून रेशा-गाजल जस्तो छ
तिमीलाई त्यो खुलेको छ
राम्रो छ
तिमीले हेर्दा ट्याम्केमा वसन्त हेर्छौ
लालुपाते फूलहरू हेर्छौ
शायद म
त्यहाँ ठिहीले लछारेको जिङरिङ्ग एउटा जीर्ण रुख हेर्छु
र शायद
म बाँचिरहेको यो विदीर्ण आफ्नै रूप हेर्छु
उकालाहरू चढ्दै उक्लिनु यौटा यात्रा
ओरालाहरू ओर्लदै झर्नु यौटा यात्रा।
परशु !
हामी एउटै ट्याम्केमा दुइटा यात्रा हिँडिरहेछौं
यो शाश्वत सत्य हो कि
हामी एउटै समयमा दुइटा मृत्यु मरिरहेछौं।
सम्झनामा ट्याम्के
यम बास्तोला
प्रत्येक बिहान
पिठ्युँमा हिउँ बोकेर
तातो सूर्य बाँड्नु तिम्रो नियमितता हो
यस पल्टको चिसो हिउँद
मायालु काखमा बिताउन पाइएन
अप्राकृतिक दृश्यहरू नाचिरहे मानसपटलमा
त्यसैले
थाप्लोमा थुप्रिएको हिउँ हेरेर
नयाँ कविता लेख्न पनि सकिएन
साँची !
एउटा कुरा सोध्न खोजिरहेछु ‘ट्याम्के’
के फाटेको चोली र च्यातिएको दौराहरूको बस्तीमा
हिउँकुहिरो अझै घुम्दै छ ?
त्यसो भए
बाँकी दिन पनि
यतै कतै लुकेर बिताउनु ?
आमा-बाबाको आशीर्वचन थाप्न
कृत्रिम चराको बुई चढेर
जन्मभूमिको सयर गरौंला भनेको
रातो टीका निर्धक्क निधारमा टाँसेर
च..च..हुई लिंगेपिङ मच्चाउन पनि पाइएन
तर ट्याम्के
शहरिया भएर भुल्यो नभन्नु
सम्झन छोडेर डुल्यो नभन्नु
हुन त तिमीलाई लाग्दो हो
धरहरा न्यायको आँखाले हेर्छ
स्वयम्भू हिंसा देख्दैन
तर हैन रहेछ ‘ट्याम्के’
स्वार्थी यो शहरमा
जसले जे गर्दैन भन्यो, त्यही गर्दो रहेछ
कानुन आफ्नो अस्तित्व छाडेर
नक्कली तराजुमा न्याय/अन्याय जोखेर
नुन झैँ जथाभावी पग्लँदो रहेछ
जहाँ अन्यायको खाडल छ
त्यहीँ थुप्रिँदो रहेछ
हो ‘ट्याम्के’
यो शहरको उज्यालोमा
जूनहरू मर्दा रहेछन्
ताराहरू बिलाउँदा रहेछन्
त्यसैले
मलाई त्यहीं जुनेली प्रिय छ
मलाई त्यहींको तारामण्डल सुन्दर लाग्छ
तिमी जे ठान ‘ट्याम्के’
मेरो निस्वार्थ प्रेमलाई
लालीगुराँस छातीमा राखेर भन्न सक्छु
मेरो कसम
म माटोलाई माया गर्छु
म पहाडलाई माया गर्छु।
Facebook Comment
Comment