फाइनल प्रवेशका लागि अहमदावादमा भिड्दै बेंग्लोर र राजस्थान

नेपालभ्युज

फाइनल प्रवेशका लागि अहमदावादमा भिड्दै बेंग्लोर र राजस्थान

काठमाडौं। इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को दोस्रो क्वालिफाएरमा आज (मंलगबार) राति राजस्थान रोयल्स् र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुँदैछ।

यस खेलको विजेता टिमले गुजरात टाइटन्सँग उपाधिका लागि फाइनलमा भिडन्त गर्नेछ। सेमिफाइनलसरह रहेको यो खेल नेपाली समयअनुसार साझ ७ः४५ बजे संसारको सबैभन्दा ठूलो नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा हुनेछ।

बेंग्लोरले हालसम्म एक पटक पनि आईपीएल उपाधि जित्न सकेको छैन। यो पटक पनि गतहप्ताको लिग खेलमा मुम्बईले डेल्लीलाई हराएपछि भाग्यमानीसाबित हुँदै बेंग्लोर शीर्ष चारमा पर्दै प्लेअफको लागि छनोट भएको थियो।

यसपछि एलिमिनेटरमा विष्फोटक ब्याटिङ गर्दै बेंग्लोरले २०० प्लस्को स्कोर बनाउँदै लखनाउलाई पराजित गर्‍यो। उक्त खेलमा शतक प्रहार गरेका युवा खेलाडी रजत पाटेदारको शानदार ब्याटिङको आशा यो खेलमा पनि बेंग्लोरलाई हुनेछ।

तर स्टार ब्याटरहरू डु प्लेसिस, कोहली र म्याक्सवेलको ब्याटिङ नचल्नु बेंग्लोरको लागि प्रमुख टाउको दुखाइको विषय हो। बेंग्लोरलाई आईपीएल उपाधि दिलाउन नसकेपछि ब्यक्तिगत प्रदर्शन सुधार्न भन्दै टिमको कप्तानी छाडेका कोहलीको ब्याटिङ कप्तानी छाडेपछि पनि खासै फर्ममा आएको छैन।

तर उत्कृष्ट लयमा रहेका दिनेश कार्तिकको फिनिसिङ र हसरंगाको स्पिन बलिङको साथ बेंग्लोरलाई छ। अघिल्लो खेलमा हातमा चोट लागेका किफायती बलर हर्षल पटेल पनि चोटमुक्त भइसकेका छन्।

यता सन् २००८ को पहिलो संस्करणको उपाधि जिते यता राजस्थानले पनि आईपीएलको उपाधि जित्न सकेको छैन। त्यसैले यो पटक राम्रो फर्ममा रहेको राजस्थानलाई दोस्रो लग ट्रफी उचाल्ने दाउमा छ।
फाइनल प्रवेशका लागि दोस्रो मौका पाएको राजस्थान आजको जितसँगै फाइनलमा गुजरातसँग यो सिजनको दुई हारको बदला लिन चाहन्छ। लिग चरणसँगे पहिलो क्वालिफायरमा पनि राजस्थानलाई गुजरातले पराजित गरेको थियो।

आजको खेलमा राजस्थानलाई एउटा प्लस प्वाइन्ट यो छ कि अहेमदावादको यो स्टेडियमलाई राजस्थानले पहिले आफ्नो घरेलु मैदानको रुपमा प्रयोग गरिसकेको छ। जहाँ खेलेको १२ खेलमा राजस्थानले ७ खेल जितेको रेकर्ड छ।

त्यसैगरी जारी आईपीएलमा सर्वाधिक रन जोड्ने ब्याटर जस बट्लर हुन् र सर्वाधिक विकेट लिने बलर युजबेन्द्र चहल पनि राजस्थानकै खेलाडी हुन्। लिगमा ३ शतक प्रहार गरिसकेका इंग्लिस ब्याटर बट्लर लिग चरणका अन्तिम खेलमा त्यति लयमा थिएनन्। तर यसअघिको पहिलो क्वालिफायरमा गुजरातसँग राजस्थान पराजित भए पनि बट्लरले शानदार ब्याटिङ गर्दै ८९ रन जोडेका थिए।

बट्लरको त्यही फर्म कायमै रहने आश आज राजस्थानलाई छ। त्यसैगरी कप्तान सन्जु स्यामसनसँगै राजस्थानसँग माथिल्लो क्रममा मजबुत ब्याटिङ अर्डर छ। त्यस्तै, बलिङमा टिमको हतियार मानिएका स्पिनरद्वय चहार र रविचन्द्र आश्विनको जोडीलाई फाष्ट बलर ट्रेन्ट बोल्टको साथ रहनेछ।

लिग चरणमा यी दुईबीच भएको दुई खेलमा दुवैले एक-एक खेल जितेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved