धरानदेखि धनगढीसम्म, जो एक्लै लडेर जिते

काठमाडौंमा बालेन्द्र साह, जनकपुरमा मनोजकुमार साह सुडीदेखि धरान उपमहानगरमा जितेका हर्क साम्पाङ र धनगढीमा जितेका गोपाल हमालसम्म चर्चामा छन्। स्वतन्त्र उम्मेदवरको जितले राजनीतिक दल र तिनका जनप्रतिनिधिको परम्परागत कार्यशैलीमा मतदाता सुधार चाहन्छन् भन्ने सन्देश दिएको विश्लेषण भइरहेको छ ।

नेपालभ्युज

धरानदेखि धनगढीसम्म, जो एक्लै लडेर जिते

काठमाडौं। ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुग्दा धेरै स्थानमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्। स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, जनकपुरमा मनोजकुमार साह सुडीदेखि धरान उपमहानगरमा जितेका हर्क साम्पाङ र धनगढीमा जितेका गोपाल हमालसम्म चर्चामा छन्। स्वतन्त्र उम्मेदवरको जितले राजनीतिक दल र तिनका जनप्रतिनिधिको परम्परागत कार्यशैलीमा मतदाता सुधार चाहन्छन् भन्ने सन्देश दिएको विश्लेषण भइरहेको छ ।

हालसम्म १२ जना पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। ३ उपमहानगर, ३ वटा नगर प्रमुखमा स्वतन्त्र विजयी हुँदा ६ वटा गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ। उपप्रमुख १, उपाध्यक्ष २, वडा अध्यक्ष १२१ जना निर्वाचित भएका छन्। स्वतन्त्र जित्ने उम्मेदवारहरू सदस्यतर्फ १०९, महिला सदस्य ५४ र दलित महिला सदस्य ५० जना छन्।

हर्क साम्पाङले धरान उपमहानगरको प्रमुखमा हर्क साम्पाङ र गोपाल हमालले धनगढी उपमहानगरको प्रमुखमा जित हात पारिसकेका छन्। काठमाडौं महानगरको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित निश्चित भइसकेको छ। यद्यपि मतगणना नसकिएकाले औपचारिक घोषणा गर्न बाँकी छ।

धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार साम्पाङले राजनीतिक दल र दलका उम्मेदवारलाई पराजित गर्दै जित निकालेका हुन्। उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गरे। साम्पाङले २० हजार ८ सय २१ मत प्राप्त गर्दा किशोरले १६ हजार ५९ मत ल्याएका हुन्।

यसै गरी, धनगढी उपमहानगरपालिकामा समेत आँप चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमाल निर्वाचित बन्दा कांग्रेसका उम्मेदवार नृप बड पराजित भए । हमालले २६ हजार ८ सय ६५ मत ल्याउँदा बडले १४ हजार ८ सय १७ मत मात्र ल्याएर पराजित बनेका हुन्।

प्रदेश २ मा महोत्तरीको बर्दिबासमा ठूला राजनीतिक दललाई पराजित गर्दै प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। बर्दिबास नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षत्री १४ हजार २ सय १० मत ल्याउँदै विजयी भए। उपप्रमुखमासमेत स्वतन्त्र उम्मेदवार तारादेवी महतो ९ हजार ७ सय ३६ मत पाएर विजयी भएकी हुन्।

कर्णालीमा धेरै पालिका अध्यक्ष

यता कर्णाली प्रदेशमा धेरै स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही अध्यक्षमा निर्वाचित भएका छन्। माओवादी केन्द्रका उम्मेदवार गोविन्दबहादुर शाहीलाई ५२३ मतान्तरले पराजित गर्दै प्यारीलाल विजयी भएका हुन्।

माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार कर्मा छोइवेल गुरुङ निर्वाचित भएका छन्। यस्तै, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी निर्वाचित भए ।
कर्णाली प्रदेशअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत विजयी भएका छन्। उता जुम्लाकै खाँडाचक्र नगरपालिकाको प्रमुखमा कमलबहादुर शाही पनि निर्वाचित भएका छन् ।

गण्डकी र सुदूरपश्चिममा पनि

गण्डकी प्रदेशको मुस्ताङको दालोमे गाउँपालिकाको अध्यक्ष स्वतन्त्र उम्मेदवार राजु विष्ट विजयी भएका हुन्। सुदूरपश्चिमको बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी निर्वाचित भएका छन्।

प्रदेश १ का २ पालिकामा स्वतन्त्र

प्रदेश १मा २ स्थानमा स्वतन्त्रले जितेका छन्। ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली विजयी भएका छन्।

खानेपानीको धारा चुनाव चिह्नसहित चुनाव लडेका स्वतन्त्र रुम्दालीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुपलाल तामाङलाई १ हजार २०६ मतान्तरले पारिजात गर्दै पालिका अध्यक्षमा विजयी भएका हुन्। उता भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दौलथकुमार कुलुङ निर्वाचित भएका छन्।

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १३,४६५ मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार शिवशंकर साहलाई ३,९३३ मतान्तरले पराजित गरे। भरतपुर महानगरपालिकामा प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले पनि तेस्रो स्थानको मत पाए पनि जित्न भने सकेनन्। उनी कांग्रेसबाट टिकट नपाएपछि भूइँकटहर चिह्न लिएर स्वतन्त्र रूपमा चुनावी मैदानमा होमिएका थिए।

तीनजना पालिका उपप्रमुख स्वतन्त्रबाट

केही स्वतन्त्र उम्मेदवारले पालिकाको उपप्रमुख समेत जितेका छन्। मनाङको मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ निर्वाचित भएका छन्।

बाजुराको बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा निर्वाचित बनेका छन्। बर्दिबासको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार तारादेवी महतो ९ हजार ७ सय ३६ मत पाएर विजयी भएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved