काठमाडौंको ‘नवनिर्वाचित’ मेयर भन्छन्– गाउँगाउँ, टोलटोलमा ‘बालेन’ भेटिउन्

अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ। मिलेर अगाडी बढौँ।

नेपालभ्युज

काठमाडौंको ‘नवनिर्वाचित’ मेयर भन्छन्– गाउँगाउँ, टोलटोलमा ‘बालेन’ भेटिउन्

काठमाडौं। सत्तारुढ गठबन्धनलाई फराकिलो मतले पराजित गर्दै काठमाडौं महानगरको मेयरमा निर्वाचित बालेन साहले आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन्।

मेयरमा आफ्नो जित सुनिश्चित भएलगतै उनले सामाजिक सञ्जालमार्फत् आफूलाई जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन्। उनले आफूले बाटो बिराएमा खबरदारी गर्न आग्रह गर्दै हरेक टोलटोल र गाउँगाउँमा बालेनहरु भेटिनुपर्ने बताए।

उनले भने, ‘‘हरेक टोलटोल र गाउँगाउँमा बालेनहरु भेटिउन्, जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकून्, अवसर पाउन सकून।’’

सामाजिक सञ्जालमा बालेनले लेखेका छन् :–

स्थानीय निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ। अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ।

यहाँ विश्वासको कुरा छ। विश्वासमा जित वा हार हुँदैन। जित-हारलाई मतगणना सकिएसँगै सकिदिऊँ। घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला। तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ।

यसैपनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन। हाम्रो स्वयमको पनि बढीमा ३५ प्रतिशत मत आउला। यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नुभएको छ।

हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ। र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ।

दोस्रो, ठाउँठाउँबाट र्‍यालीका लागि काठमाडौं आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौँ। हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरु कोही पनि र्‍यालीका लागि काठमाडौं आउने दु:ख गर्नु पर्दैन। यो अभियान सबैको हो। यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुशी हुनेछौँ।

अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा ‘धन्यवाद र्‍याली’ गर्नु होला। त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ। नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ।

‘बालेन’हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ। यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ। अबको बाटो सहज छैन। हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ। हामीले हिँड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ।

हामीलाई साथ र सुझाव जति महत्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको। हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला। अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरुसँग जोडिरहेका हुन्छौँ।

तपाईंहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ। अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ। हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकून्, अवसर पाउन सकून्।

अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ। मिलेर अगाडी बढौँ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved