तनहुँका पालिका प्रमुखमा महिला शून्य, १० मध्ये सातमा उपप्रमुख

पालिकाको उपप्रमुख–उपाध्यक्षमा भने सात महिला निर्वाचित भएका छन्। कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका देवघाट गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा पुरुष विजयी भएका छन्।

नेपालभ्युज

तनहुँका पालिका प्रमुखमा महिला शून्य, १० मध्ये सातमा उपप्रमुख

दमौली। तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ। विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी मायादेवी राना यसपटकको निर्वाचनमा भने पराजित भइन्।

नेपाली कांग्रेसबाट अघिल्लो स्थानीय तह निर्वाचनबाट विजयी भएर एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी राना यसपटक नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भइन्। दश पालिकामध्ये म्याग्देमा मात्रै महिलाले प्रमुखमा उम्मेदवारी दिए।

पालिकाको उपप्रमुख–उपाध्यक्षमा भने सात महिला निर्वाचित भएका छन्। कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका देवघाट गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा पुरुष विजयी भएका छन्।

घिरिङ, ऋषिङ, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको उपाध्यक्षमा क्रमशः राधादेवी अधिकारी, गिनुमाया थापा, पञ्चमाया गुरुङ र दुर्गा अर्याल निर्वाचित भए।

यसैगरी भिमाद, भानु र व्यास नगरपालिकाको उपप्रमुखमा क्रमशः शारदा खनाल, उमा गोतामे, इन्दिरा दरैले विजय हासिल गरेका छन्।

दुई महिला वडाध्यक्षमा निर्वाचित

स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा दुई महिला वडाध्यक्षमा निर्वाचित भएका छन्। विभिन्न पालिकाका उम्मेदवारी दिएका ६ महिलामध्ये दुई जनाले मात्रै विजय हासिल गरेका हुन्।

भानु –१ को वडाध्यक्षमा कांग्रेसबाट कान्छीमाया तामाङ निर्वाचित भएकी छन्। उनी ६७२ मत प्राप्त गरी विजयी भइन्। आँबुखैरेनी–४ मा कांग्रेसको तर्फबाट मिलन भुजेल ४३३ मत प्राप्त गरी विजयी भइन्।

बन्दीपुर–४ मा सीता थापा र बन्दीपुर –५ मा रीता तिवारी कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बने पनि विजयी हुन सकेनन्। म्याग्दे–६ मा एमालेको तर्फबाट निर्मला वाग्ले वडाध्यक्षमा उम्मेदवार बने पनि उनी पराजित भइन्। शुक्लागण्डकी–८ को वडाध्यक्षमा कांग्रेसबाट चन्द्रकला भट्टराई उम्मेदवार बने पनि उनी पनि पराजित भइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved