बंगलादेशले भन्यो -नेपालको विद्युत् खरीद गर्न आतुर छौं’

नेपालभ्युज

बंगलादेशले भन्यो -नेपालको विद्युत् खरीद गर्न आतुर छौं’

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेश समक्ष प्रस्ताव गरेको छ।

नेपाल छिट्टै विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्न लागेको सन्र्दभमा बंगलादेशसंग विद्युत् व्यापारका लागि चेम्बरले आग्रह गरेको हो। नेपाल बंगलादेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौंस्थित बंगलादेशी दुतावासमा शुक्रबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल, भारत र बंगलादेशबीच भएको विद्युत व्यापार सम्वन्धी त्रिपक्षी सम्झौताको व्यवहारिक कार्यन्वयन हुनुपर्नेमा जोड दिए।

नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमान चोधुरीसंग अध्यक्ष मल्लले भने, “नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ। यसको प्रभावकारी कार्यन्वयनका लागि तीन देशका ऊर्जामन्त्रीबीच तत्काल परिणाममुखी बार्ता गर्न आवश्यक छ। हामी निजी क्षत्रबाट पहल गर्छौं। बंगलादेशको सरकारबाट पनि यसको पहल होस्। नेपाल बंगलादेशलाई विद्युत बेच्न तयारी अवस्थामा छ।”

नेपाल कम्तीमा अबको १ वर्षपछि विद्युत निर्यात गर्न सक्ने हैसियतमा पुग्ने अध्यक्ष मल्लको भनाइ छ। भारतमा हालकै ट्रान्समिसन लाइनबाट कम्तीमा ५० मेगावाट विद्युत् निर्यातका लागि तयारी गर्न सकिने र अन्य सेवा सर्तका लागि तीन वटै मुलुकले गृहकार्य गर्नुपर्ने अध्यक्ष मल्लले बताए।

बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्दर्भमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुईपक्षीय छलफल भएको थियो। नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापारसम्बन्धी सम्झौता भए पनि यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन। चेम्बर अध्यक्ष मल्ले विद्युत् व्यापारको सहजिकरणसँगै नेपालमा जलविद्युतमा लगानी गर्न बंगलादेशका राजदूत चोधुरीसंग आग्रह गरे।

यस्तै नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसंग आफूहरूले पहल गर्ने अध्यक्ष मल्लले बताए। नेपाल चेम्बर अफ कमर्शले आगामी असारमा गर्न लागेको चेम्बर मेलामा बंगलादेश मुख्य साझेदार रहेको छ।

नेपालका लागि राजदूत चोधुरीले नेपालमा उत्पादिन विद्युत् किन्नका लागि बंगलादेश तयार रहेको बताए। उनले भने, “अबको केही देशकभित्रै बंगलादेशले ग्रन इनर्जीलाई प्रोतसाहन गर्ने छ। सोही अनुसार हाम्रा प्राथमिकताहरू, योजनाहरु बनिरहेकाछन्। नेपालको विद्युत खरिद गर्नका लागि हामी आतुर छौं।”

भारतको बाटो भएर विद्युत खरीद गर्नका लागि आवश्यक प्रक्रीया तत्काल शुरु गर्न आफ्नो देशको सरकारसमक्ष पहल गर्ने राजदूत चोधुरीले बताए। यद्यपि अन्य क्षेत्रमा लगानीका लागि नीतिगत सुधारको अपेक्षा गरिएको उनले बताए। नेपालसँग लगानी सुरक्षण सम्वन्धी छुट्टै सम्झौता गर्न पहल गरे पनि परिणाम हासिल हुन नसकेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved