भारतमा मनसुनअघिको वर्षा र बाढीले ठूलो क्षति, बिहारमा मात्र ५७ जनाको मृत्यु

सात लाखभन्दा बढी प्रभावित, रेल स्टेसनमा मानिहरूको बास

नेपालभ्युज

भारतमा मनसुनअघिको वर्षा र बाढीले ठूलो क्षति, बिहारमा मात्र ५७ जनाको मृत्यु

भारतमा मनसुनअघि नै आएको वर्षा र बाढीले ठूलो क्षति पुर्‍याएको छ। खासगरी भारतका बिहार, असम र कर्नाटक राज्यमा चट्याङ र बाढीका कारण ५७ जनाले ज्यान गुमाएका छन्।

आसामको अवस्था सबैभन्दा खराब छ। यहाँ ब्रह्मपुत्रमा आएको बाढी र त्यसको छेउमा बग्ने खोलाले यस्तो विनाश गरेको छ कि सयौं गाउँ डुबानमा परेका छन्। योसँगै बाढीबाट ७ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। बालीनालीमा पनि निकै क्षति पुगेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

आसममा ५०० भन्दा बढी मानिस रेलवे ट्रयाकमा बस्न बाध्य छन्। यहाँ अहिलेसम्म १५ जनाले ज्यान गुमाएका छन्। बिहारमा चट्याङबाट सबैभन्दा बढी ३३ जनाको मृत्यु भएको छ। योसँगै कर्नाटकमा पनि ९ जनाको मृत्यु भएको खबर छ।

त्यही समयमा दिल्लीबाट १० उडान खराब मौसमका कारण अमृतसर विमानस्थलमा अवतरण गर्नुपरेको थियो।

आसाम राज्य प्रकोप व्यवस्थापनका अनुसार राज्यका २९ जिल्लामा करिब ७ लाख १२ हजार मानिस बाढीबाट प्रभावित भएका छन्। जमुनामुख जिल्लाका दुई गाउँका ५ सयभन्दा बढी परिवारले रेलमार्गमा अस्थायी टहरा बनाएका छन्। नगाउँ जिल्लामा मात्र ३ लाख ३६ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् भने काछार जिल्लामा १ लाख ६६ हजार, होजाईमा १ लाख ११ हजार र दराङ जिल्लामा ५ लाख २ हजार ९ सय ९ जना प्रभावित भएका छन्।

बिहारमा शुक्रबार चट्याङका कारण १६ जिल्लामा कम्तीमा ३३ जनाको मृत्यु भएको छ। मुख्यमन्त्री नितिश कुमारले घटनामा ज्यान गुमाएकाका परिवारलाई ४ लाख रुपैयाँ दिने घोषणा गरेका छन्। शनिबार र आइतबार केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। किनभने अहिले यहाँ प्रि–मनसुन गतिविधि सक्रिय भएको छ।

हावाहुरी र चट्याङका कारण भागलपुरमा ७, मुजफ्फरपुरमा ६, सारणमा ३, लखीसरायमा ३, मुंगेरमा २, समस्तीपुरमा २, जेहानाबादमा १, खगरियामा १, नालन्दामा १, पूर्णियामा १, बांका १, बेगुसरायमा १, अररियामा १, जमुईमा १, कटिहारमा १ र दरभंगामा १ जनाको मृत्यु भएको हो।

कर्नाटकमा प्रि–मनसुन सुरु भएसँगै अवस्था झन् बिग्रिएको छ। डुबानमा परी नौ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। सावधानीका रुपमा सबै विद्यालय बन्द गरिएका छन्। राहत र उद्धारका लागि उद्धार टोली खटाइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved