स्थानीय चुनाव पनि पार्टीले ‘डोमिनेट’ गर्दा व्यक्तित्वहरूको प्रतिस्पर्धा कमजोर भयो : नीलाम्बर आचार्य

स्थानीय चुनावबाट बहुमतको सरकार बन्छ, न अल्पमत सरकार हुन्छ। एकैपटक चुनिएर आउँछ। गठबन्धन आफूले बनाउने होइन, स्थानीय तहमा गठबन्धन त चुनावले नै बनाइदिन्छ ।

स्थानीय चुनाव पनि पार्टीले ‘डोमिनेट’ गर्दा व्यक्तित्वहरूको प्रतिस्पर्धा कमजोर भयो : नीलाम्बर आचार्य

स्थानीय चुनावमा करिब ६५ प्रतिशतसम्म मतदान भएको छ। ०७४ सालको आमचुनावभन्दा केही प्रतिशत कम मतदान भएको छ। यो ठीकै मतदान हो। किनकि, यो दोस्रो चुनाव हो। पहिलो होइन। यो भन्दा अरु धेरै मतदान भएको भए राम्रो हुन्थ्यो।

अहिले हाम्रा मतदाताको उल्लेखनीय जनसंख्या विदेशमा पनि रहेको छ। देशभित्र पनि मतदान गर्ने एक ठाउँमा छ, मतदाता अर्को ठाउँमा छन्। त्यसले पनि कम मतदान भएको हो। आफू बसेकै ठाउँबाट भोट हाल्न पाउने भए अलि धेरै मत खस्थ्यो।

स्थानीय चुनावको जो रौनक हुनुपथ्र्यो, अहिलेको चुनावमा त्यो कमजोर भयो। स्थानीय चुनावलाई पनि पार्टीले ‘डोमिनेट’ गरे। स्थानीय चुनाव त व्यक्तित्वहरूकै प्रतिस्पर्धा हो। व्यक्तिहरू नै जनतामा भिज्ने हो, उनीहरूले नै प्रभावित गर्ने हो। भोलिको नेता हुने पनि उनीहरू नै हुन्।

स्थानीय चुनावको आफ्नै विशेषता छ। अहिले त्यसलाई तोड्ने काम भयो। स्थानीय चुनावबाट न बहुमतको सरकार हुन्छ, न अल्पमतको सरकार हुन्छ। एकै पटक चुनिएर आउने हुन्छ, पाँच वर्षमा चुनाव हुन्छ। गठबन्धन आफूले बनाउने हुँदैन।

स्थानीय चुनाव गठबन्धन त चुनावले नै बनाइदिन्छ। जनताले नै एउटालाई मेयर, अर्कोलाई उपमेयर दिनसक्छ। जनताले चुनेर बनाइदिने गठबन्धन दलहरूले नै बनाउने काम गरे। यसले पनि कम मत खस्नमा काम गरे।

अहिलेको चुनाव सत्ता–गठबन्धन र एमालेबीचको इज्जतको सवाल भयो। त्यसले पनि केही असर पार्‍यो। स्थानीय चुनावमा पार्टीप्रतिको भन्दा पनि उम्मेद्वारप्रतिको आकर्षण हुन्छ। अहिले त्यो हुन दिएनन्।

यो चुनावको सकारात्मक पक्ष हो– मतदानअघिका प्रचारप्रसारका समयमा जेजस्तो गालीगलौज भए पनि चुनाव छिटपुट घटनाबाहेक शान्तिपूर्ण, शिष्ट, भद्र तरिकाले भएको छ। पहिला–पहिला भित्तेलेखन हुन्थे। कागज फ्याँकिएका हुन्थे। अघिल्लो दिन रक्सी–भोज खाएर झगडा आदि हुन्थे। यसपटक केही अपवादबाहेक त्यस्तो सुन्नुपरेन।

यो दोस्रो स्थानीय निर्वाचन हो, पहिलो होइन। यसले एउटा रीत बसाल्यो– प्रत्येक पाँच वर्षमा स्थानीय चुनाव हुन्छ। यी जनप्रतिनिधिले पाँच वर्ष काम गर्न पाउँछन्। अर्को चुनाव पनि पाँच वर्षपछि वैशाखमै हुने भयो।

मतदान गर्नेको संख्या योभन्दा बढाउन सकिन्थ्यो। उम्मेद्वार र पार्टीबारे विचार गर्नुपर्छ। आफूले भोट दिने उम्मेद्वार खोज्नैलाई आँखा तिर्मिर गर्ने खालको गठबन्धनबारे विचार गर्नुपर्छ। हाम्रो निर्वाचन प्रणालीमा पनि केही संशोधन आवश्यक छ।

(कुराकानीमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved