गणित र वातावरण विज्ञानमा स्नातकोत्तर अनि म्यादी प्रहरी

नेपालभ्युज

गणित र वातावरण विज्ञानमा स्नातकोत्तर अनि म्यादी प्रहरी

काठमाडौं। गणित र वातावरण विज्ञानमा स्नातकोत्तर गरेका शून्य पोलिथिन अभियानका अभियान्ता ढाकामोहन अधिकारी अहिले म्यादी प्रहरी छन्।

देशको सेवा गर्ने चाहले म्यादी भएको बताउने उनी भन्छन्, “कहिले म्यादी प्रहरी खुल्छ भन्ने कौतूहलता थियो। पहिलो दिनमा नै दरखास्त दिएँ ।

म्यादी प्रहरीलाई समाजमा जिम्मेवारविहीन सोच्ने गरेका उनी दुःख व्यक्त गर्छन्। भन्छन्, “युवाहरूलाई प्रेरित गरौं, म्यादीलाई हर्ने दृष्टिकोण बदल्न आफैंबाट शुरु गरें।”

अहिले प्रहरी जवान भन्दा तल्लो दर्जामा रहेर दैनिक १६ घण्टा काममा खटिइरहेको उनी बताउँछन्। “आफू अयोग्य भएर होला युनिफर्मप्रति लालायित हुन्थें,” भन्छन्, “मलाई पहिला यो काम किन गरिनँ भन्ने भइरहेको छ।”

शारीरिक रुपमा अयोग्य (सानोमा कुम जलेको) भएकाले पुलिसमा भर्ना हुन नसकिएको र सपना अधुरै रहेको उनी सुनाउँछन्। म्यादी पुलिसको समयावधि सकिएपछि उनको अगुवाइमा सञ्चालन भएको शून्य पोलिथिन अभियानलाई निरन्तरता दिने उनले बताए।

उक्त अभियानअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई नेपालको पहिलो शून्य प्लाष्टिकजन्य क्षेत्र घोषणा भएको उनले जानकारी दिए। व्यास नगरपालिकामा पनि यो अभियान सञ्चालन भएको उनले बताए।

वातावरणसँग सम्बन्धित जनचेतनामूलक गीत एकैपटक ३६५ कलाकारबाट गाउन लगाएर उनले गिनिज बुकमा नाम लेखाएका छन्।

जर्मनबाट वातावरण विज्ञानमा स्नाकोत्तर गरेर फर्केपछि जागिर नखाई १० वर्षदेखि शून्य पोलिथिन अभियानमा लागेको उनले बताए। त्यसअन्तर्गत १२ सयभन्दा बढी स्कुलमा जनचेतना जगाउने कार्यक्रम गरेको उनले जानकारी दिए।

यस अभियानलाई राष्ट्रव्यापी अभियानमा लैजाने योजनामा रहेको उनले जानकारी दिए। भन्छन्, “प्लाष्टिकजन्य पदार्थ प्रयोग गरेर कसरी व्यवस्थापन गर्ने। यो जलाउँदा हुने हानिबारे नगरपालिकासँग सहकार्य गरेर स्कुल स्कुलमा गएर जनचेतना जगाउँछौं।”

आगामी दिनमा विभिन्न नगरपालिका सफा देख्न सकिने उनी बताउँछन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved