एन्फा अध्यक्ष शेर्पाले गणेश थापालाई लगाएका चुनौती के के हुन्? (भिडिओ)
नेपालभ्युज
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले विगतमा आफूमाथि लगाएका व्यक्तिगत आरोपहरू प्रमाणित गर्न वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई चुनौती दिएका छन्।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वराष्ट्रिय फुटबल खेलाडी समेत रहेका थापाले शेर्पाले आफूविरुद्ध लगाएको भ्रष्टाचार र आर्थिक अनियमितता आरोप पुष्टि गर्न माग गरे। फिफा निर्वाचनको भोटका लागि एशियाली फुटबल महासंघका पूर्वअध्यक्ष मोहम्मद बिन हमामबाट पैसा लिएको आरोपमा उनलाई विश्व फुटबल महासंघले सन् २०१५ मा १० बर्षको प्रतिबन्धमा लगाएको थियो।
योसँगै विभिन्न समयमा लगाएको १४ आरोपलाई थापाले बुँदागत रुपमा नै समेटेका थिए।
पत्रकार सम्मेलनमा थापाले भने, “उहाँले लगाउनुभएका आरोपहरूको विषयमा संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग र फिफाले विशेष टोली पठाएर छानबिन भैसकेको छ। छानविन पश्चात सफाई दिएको पनि सबैको जानकारीमा छ।”
शेर्पाले विभिन्न समयमा आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले लगाएको आरोपले आफू मानसिक पीडामा बसेको र कहिलेकाहीँ जीवन नै अन्त्य गर्न मन लागेका पनि बताए। “म र मेरो परिवार अब लामो समयसम्म मानसिक पीडामा बसिरहन चाहन्नौं। यस अर्थमा अब उहाँसँग दुई विकल्पमात्र बाँकी छन्। उहाँले ममाथि लगाएका आरोपहरू प्रमाणित गर्न सक्नुपर्छ। त्यसो भए म कार्बाही भोग्न तयार छु। अन्यथा एन्फा विधानको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ को बुदा नम्बर ३ अनुसार उहाँले कार्बाही भोग्नुपर्छ।”
अब शेर्पाविरुद्ध आगामी ३ जेठपछि अदालतसम्म जाने उनले बताए।
आसन्न एन्फाको निर्वाचनको संघारमा थापाले यो पत्रकार सम्मेलनको आयोजना गरेका हुन्। आगामी असार ६ गते एन्फा कार्यसमितिको निर्वाचन हुँदैछ।
तर कार्यक्रममा थापाले यो विषयको एन्फा चुनावसँग कुनै सम्बन्ध नरहेको र आफूले न्यायका लागि मात्र आवाज उठाएको बताए। वर्तमान अध्यक्ष शेर्पाले यो पटक पनि एन्फा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरिरहेका छन्।
थापाका अनुसार शेर्पाले उनलाई लगाएका आरोपहरू यस्ता छन् :-
१. गोल्ड प्रोजेक्ट अन्तर्गत आएको १९ लाख डलर एन्फाको अडिटमा नदेखाएको तथा नगरपालिकाले दिएको रकमहरू पनि अडिटमा नदेखाएको र ठुलो आर्थिक अनियमितता भएको।
२. एन्फामा फिक्स डिपोजिटमा जम्मा गरिएको ८ करोड रुपिया गैरकानुनी तरिकाले जम्मा गरेको र गैरकानुनी तरिकाले एन्फाको रकम ब्याजमा लगाएको।
३. एन्फालाई आएको रकम आफ्नो श्रीमती र छोराको नाममा राखी अनियमितता गरेको।
४. खेलाडी कल्याण कोषमा जम्मा गरेको ५० लाख रुप्रयाँको स्रोत नखुलेको।
५. साथी भन्ने संस्थालाई १ लाख ५० हजार डलर दिएको।
६. एन्फाको रकम ३२ प्रतिसतमा ब्याजमा लगाएको।
७. रंगशालामा दर्शकबाट उठेको २८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा नगरेको र अडिटमा नदेखाएको।
८. सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको।
९. कतार फूटबल संघले ८ लाख डलर दिएकोमा एन्फाको खातामा २ लाख हजार डलरमात्र जम्मा गरेर अन्य रकम हिनामिना गरेको।
१०. एएफसीबाट प्रशिक्षकलाई आएको रकम अडिटमा नदेखाएको।
११. साफ च्याम्पियनसिपको दौरानमा २ करोड ५० लाख रुपैयाँ आम्दानी भएकोमा जम्मा ८५ लाख मात्र एन्फाको अडिटमा देखाएको र आर्थिक हिनामिना गरेको।
१२. भ्रष्टाचार गरेको ६० करोड रुपैयाँ खेलाडी कल्याण कोषमा जम्मा गर्ने र मलाई जेलमा हाल्ने
१३. अरेन्ज प्रोजेक्ट र सुनामी प्रोजेक्टमा समेत संलग्नता रहेको।
१४. एन्फा कम्प्लेक्स आफ्नै साधन स्रोतबाट बनाउँदा नेपालमा एउटा २ करोड १८ लाखको हिसाव देखाएको तर फिफामा करिव ३ करोडको हिसाव पेश गरेको र त्यसमध्येबाट ४० लाख रुपैयाँ खेलाडी कल्याण कोशमा हालेर करिव ६० लाख रुपैयाँ हिनामिना गरेको।
Facebook Comment
Comment