गाउँ भरिए, शहर रित्तिए

मतदाताहरु गाउँतिर जाँदा सुर्खेत बजारको व्यापार व्यवसायमा कमी आएको छ।

नेपालभ्युज

गाउँ भरिए, शहर रित्तिए

सुर्खेत। स्थानीय निर्वाचन हुन दुईदिन बाँकी रहँदा शहरबजार खाली हुन थालेकाे छ। मतदानका लागि नागरिकहरु शहर छाडेर गाउँतिर लागेका हुन्।

सुर्खेतको वीरेन्द्रनगर बजारमा दुई दिनदेखि गाउँ जानेको ताँती लागेको छ। कर्णालीका सबै बजारक्षेत्र र सदरमुकामहरु खाली हुन थालेका छन्।

सुर्खेतदेखि बाहिर जिल्लामा जानेको संख्यामा निकै वृद्धि भएका कारण बस काउन्टरमा टिकट पाउन नै गाह्राे भएको सुर्खेत बसपार्ककाे टिकट काउन्टरका अक्कल कार्कीले बताए। ‘‘गाउँ जानेको संख्या निकै वृद्धि भएको छ। यातायातको टिकट पाउन पनि गाह्राे भएकाे छ।’’

शहरबजारमा रहेका मतदाताहरुलाई उम्मेदवारहरुले गाडी रिजर्भ गरेर गाउँ–गाउँमा लैजाने गरेको सुर्खेत बसपार्कमा भेटिएका जुम्ला कनकासुन्दरी गाउँपालिकाका राजकुमार बुढाले बताए। ‘‘हाम्रो गाउँपालिकाका उम्मेदवारले गाडी रिजर्भ गरेका छन् रे! त्यो गाडी कतिबेला आउँछ भनेर पर्खिएको छु’’, बुढाले भने।

मतदाताहरु गाउँतिर जाँदा सुर्खेत बजारको व्यापार व्यवसायमा कमी आएको व्यापारी रामबहादुर मगरले बताए। ‘सुर्खेत बजारमा प्रायः पसलहरु बन्द छन्। उनले भने, ‘‘मतदाताहरु गाउँमा गएका कारणले व्यापारमा कमी आएको छ। व्यापार व्यवसाय पनि बन्द छ।’’

निर्वाचन नजिकएपछि गाउँमा मानिसहरु भरिभराउ हुन थालेको कालीकोट नरहरिनाथ गाउँपालिका–९ लालुका रोहन बिष्टले बताए। ‘‘अहिले गाउँमा मानिसहरुकाे चहलपहल निकै बढेको छ। मतदान गर्नका लागि बाहिरबाट आएका कारणले चहलपहल बढेको हाे’’, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved