मैले जिते नेमकिपाले गरेका सकारात्मक कामलाई निरन्तरता दिन्छु : रामप्रसाद कासुला (भिडिओ)

उहाँहरुले केही सकारात्मक कामहरु पनि गर्नुभएको छ। त्यो सकारात्मक कामहरुलाई हामी निरन्तरता दिनेछौँ । केही नकारात्मक कामहरुलाई थाती राखी उहाँहरुसँगै सल्लाह गरेर साथ र सहयोगमा अगाडि बढ्ने छौँ।

नेपालभ्युज

मैले जिते नेमकिपाले गरेका सकारात्मक कामलाई निरन्तरता दिन्छु : रामप्रसाद कासुला (भिडिओ)

स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका रामप्रसाद कासुलासँग सुनीता साखकर्मी समृद्धा केसीले गरेको कुराकानीः

तपाईंको प्रतिबद्धता के–के छन् ?

शिक्षामा हामीले स्नातकसम्म निःशुल्क पढाउने छौँ। प्लस–टुसम्म शैक्षिक सामग्री वितरण गर्ने छौँ। खानेपानीतर्फ निःशुल्क वितरण गर्ने छौँ। जग्गा र आवासमा समयसापेक्ष योजनाहरू ल्याउने छौँ। देकोमिवा इतापाके जग्गा एकीकरणलाई व्यवस्थित गरी सरोकारवालाहरूसँग समन्वय गरेर समस्या पनि टुंग्याउने छौँ। जस्तै, पर्यटन क्षेत्रमा उल्लेख्य सम्भावना भएको नगर भएकोले यो नगरलाई पर्यटकको गन्तव्य नगर बनाउने छौँ।

भक्तपुर नगरपालिकालाई त नेपाल मजदुर किसान पार्टीको गढ भनेर पनि चिनिन्छ। यो तोड्न कस्ता एजेण्डा ल्याउनुभएको छ ?

भक्तपुर नगरलाई गढ भन्न सकिँदैन। कुनै समय भक्तपुर जिल्ला नै उहाँहरूको गढ थियो। पश्चिमतिर पनि उहाँहरूको संगठन थियो। पश्चिममा संगठन शून्य रहेको छ भने भक्तपुर जिल्लाका चार ओ्टा नगरमध्ये तीन ओ्टा नगरमा उहाँहरू शून्यको हाराहारीमा पुगेको छ।

भक्तपुर नगरलाई पनि २०७९ वैशाख ३० गतेको चुनावले हामी उहाँहरूलाई बढार्ने छौँ। हामीले केही योजनाहरू तय गरेका छौँ। भक्तपुर नगरका असंख्य बेरोजगारी छ। यो नगरभित्र एक साता मात्रै पर्यटकको बसाइ लम्ब्याउन सक्यौँ भने पनि यहाँका असंख्य युवाहरूलाई रोजगार दिन सक्छौँ। कृषक नै कृषक भएको नगर भएकाले कृषकहरूलाई समयसापेक्ष बीउबिजन उपलब्ध गराउने र नयाँ तरिकाबाट बेमौसमी खेती गर्न लगाएर यो कृषकलाई फाइदा दिन सक्छौँ।

भक्तपुर नगरपालिकामा तपाईंले के–के समस्या देख्नुभएको छ ? जसलाई पूरा गर्न प्राथमिकतामा राख्नुभएको छ ?

नगर प्रवेश गर्ने नाकामा हनुमन्ते खोला छ। अत्यन्तै दुर्गन्धित रुपमा बगिरहेको छ। त्यसलाई ठाउँ–ठाउँमा उपचारपोखरी राखेर सफा पानी बग्ने वातावरण बनाउने छौँ। त्यसबाट कम्पोस्ट मल उत्पादन गर्छाैँ। फोहोरलाई मलको रुपमा प्रयोग गर्न सक्छौँ। त्योबाट इलेक्ट्रोनिक करेन्ट उत्पादन गर्न सक्छौँ। बजार क्षेत्र मात्र सफा देखिएको छ भक्तपुर नगर। भित्र गल्ली, टोलसम्म पनि सफा वातावरण बनाउने र पर्यटकहरू पुग्नसक्ने योजना मसँग छ।

भक्तपुर नगरपालिकालाई सम्पदा र संस्कृतिको धनी नगर भनेर पनि चिनिन्छ। यसलाई जोगाउन नेपाल मजदुर किसान पार्टीले भूमिका खेलेको छ। यदि तपाईं जित्नुभएको

खण्डमा नेमकिपाकै मोडल पछ्याउनुहुन्छ कि नयाँ योजना बनाउनुहुन्छ ?

पाटीपौवा, मन्दिर, देवालय धेरै छन्। केही पर्यटकहरू आउने ठाउँमा दुई चार ओटा पुनर्निर्माण उहाँहरूले गर्नुभएको छ। अहिले पनि लक्ष्मीनारायण मन्दिर पनि निर्माणाधीन छ भने तीलमाधवनारायण जीर्ण अवस्थामा छ।

फसिदेगल निर्माण हुँदैछ। यो भित्रभित्र गल्लीको पाटीपौवाहरू पनि जीर्ण अवस्थामा छ। भूकम्पपीडितहरूलाई केही राहत मिलेको छैन। पुनर्निर्माण निर्माण प्राधिकरणबाट न्यून प्रतिशतले मात्रै राहत लिएको छ। ती सबै संरचनाहरू पुनर्निर्माण गर्नेतर्फ हामी अग्रसर हुनेछौँ।

अघिल्लो निर्वाचित जनप्रतिनिधिले जनतालाई विकासको नाममा शोषण गरेको, हिसाब पारदर्शी नभएको भनेर प्रतिवद्धता पत्रमा उल्लेख गर्नुभएको छ नि?

उहाँले गर्नुभएको कामको धेरै खण्डन गर्न चाहन्नँ। भक्तपुर नगरपालिकाभित्र रहेका कर्मचारीहरूलाई बीसौँ वर्षदेखि ज्यालादारी र करारमा राखिरहेका छन्। त्यस्ता कर्मचारीहरूसँग पनि लेबी उठाएको छ। लेबी पारदर्शी भएको छैन।

यदि हामीले यो भक्तपुर नगरपालिकामा नेतृत्व गर्न पायौँ भने उनीहरूलाई प्रक्रिया पूरा गरेर ६ महीनाभित्र स्थायी गर्नेछौँ र सबै हिसाबकिताब पारदर्शी गर्नेछौँ। त्यो लेबी हामी लिने छैनौँ।

यस्तो प्रतिबद्धता जनाइरहँदा त्यसलाई पूरा गर्न बजेटहरू कसरी जुटाउनुहुन्छ ?

भक्तपुर नगरमा बजेटको अभाव छैन। केन्द्र सरकारबाट र प्रदेश सरकारबाट अरू नगरपालिकालाई जस्तै स्रोत साधन र बजेटहरू उपलब्ध गराउँदै आएको छ भने आन्तरिक स्रोतहरूबाट पनि पर्यटन सेवा शुल्क र ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेजबाट पनि केही आम्दानी भएको छ।

तपाईंले जित्नुभयो भने स्वास्थ्य क्षेत्रमा के काम गर्नुुहुन्छ ?

भक्तपुर आएका बिरामीहरूलाई भक्तपुरमै उपचार गर्छौं। काठमाडौं, धुलिखेलतिर ‘रिफर’ नगर्ने गरी बरु अरू जिल्लाका बिरामी पनि भक्तपुरमा उपचार गर्न आओस् भन्ने हिसाबले अस्पताललाई व्यवस्थित गर्नेछौँ।

लामो समय भक्तपुरको अनुभव बटुलेको नेमकिपासँग चुनावी मैदानमा हुनुहुन्छ, पछि तपाईंहरूले जित्नु भयो भने उहाँहरू सँगै जानु हुन्छ कि के छ?

उहाँहरूले केही सकारात्मक कामहरू पनि गर्नुभएको छ। त्यो सकारात्मक कामहरूलाई हामी निरन्तरता दिनेछौँ। केही नकारात्मक कामहरूलाई थाती राखी उहाँहरूसँगै सल्लाह गरेर साथ र सहयोगमा अगाडि बढ्ने छौँ।

विवादका कारण दरबार क्षेत्र पनि बन्न बाँकी छ अरू कला संग्रहालयहरू पनि बन्न बाँकी छ। यस्ता विषयलाई तपाईं मेयर भएको खण्डमा कसरी सुल्झाउनुहुन्छ ?

केन्द्रीयमा कहिले नेपाली कांग्रेस, कहिले एमाले, कहिले माओवादीको सरकार रह्यो। नेमकिपाको उनीहरूसँग निरन्तर समदूरी हुँदैआएको छ। यदि म भक्तपुरको मेयरमा निर्वाचित हुन पाएँ भने कुनै पनि पार्टी चाहे कम्युनिस्ट, चाहे काँग्रेस पार्टी होस्, हामी हातेमालो गर्छौं। समन्वय गरेर संग्रहालयलाई टुंग्याउँछौँ। पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाउँछु।

भक्तपुरमा झण्डै दुई सातासम्म पनि धारामा पानी नआउने समस्या छ। यसलाई के भन्नु हुन्छ ?

हो, भक्तपुरमा खानेपानीको समस्या छ। खानेपानीको समस्या समस्या नै होइन मेरा लागि। किनभने, भक्तपुरको त्यही तीन–चार किलोमिटरपर पूर्वपट्टि चागुनारायण नगरपालिकाको मुहानपोखरीमा जलस्रोत २० प्रतिशत पनि उपयोग भएको छैन। ८० प्रतिशतभन्दा बढी खेर गइरहेको अवस्था छ।

त्यसलाई ड्याम बनाएर जलाशय गराई त्यहाँबाट आएको पानीको सदुपयोग गर्न सक्छौँ। त्यसको ६०-७० प्रतिशत मात्र प्रयोग गर्न सक्यौँ भने भक्तपुरवासीलाई पर्याप्त रुपमा खानेपानी उपलब्ध गराउन सक्छौँ। चागुनारायण नगरपालिकासँग एउटा सम्झैता गरेर बढ्यौँ भने यो समस्या निवारण हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved