पालुङटारमा मेरो प्रतिस्पर्धी नै छैन : प्रेमबहादुर गुरुङ

संघीय परिषद् अध्यक्ष डा. भट्टराईको गृहनगर भएका कारण पालुङटार जसपाको लागि प्रतिष्ठाको विषय बनेको छ। गोरखामा अघिल्लो स्थानीय चुनावमा ११ मध्ये ९ स्थानीय तह जितेको कांग्रेसलाई पनि विरासत जोगाउन चुनौती छ। यसकारण पालुङटारको निर्वाचन पेचिलो बनेको छ।

नेपालभ्युज

पालुङटारमा मेरो प्रतिस्पर्धी नै छैन : प्रेमबहादुर गुरुङ

प्रेमबहादुर गुरुङ, जनता समाजवादी (जसपा)बाट गोरखाको पालुङटार नगरपालिकामा उम्मेदवार छन्। जसपा संघीय परिषद् अध्यक्ष समेत रहेका सत्तारुढ गठबन्धनका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको गृहनगर भएकाले पनि  पालुङटारको चुनावी चासो धेरैमा छ। स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल भाँडिएपछि त्यहाँ झनै धेरै चासो थपिएको हो। कांग्रेस र जसपाको केन्द्रीय नेतृत्वले पालुङटारमा कांग्रेसले जसपाका मेयरलाई सहयोग गर्ने समझदारी भए पनि जिल्लास्तरमा सहमति नजुटेपछि सत्तारुढ गठबन्धनका दलहरू कांग्रेस र जसपा भिडेका छन्। कांग्रेसबाट पालुङटार नगरपालिकाका मेयरका उम्मेदवार दीपकबाबु कँडेल उम्मेदवार छन्। सँगै नेकपा एमालेलगायतका दलहरुपनि चुनावी प्रतिस्पर्धामा छन्।
संघीय परिषद् अध्यक्ष डा. भट्टराईको गृहनगर भएका कारण पालुङटार जसपाको लागि प्रतिष्ठाको विषय बनेको छ। गोरखामा अघिल्लो स्थानीय चुनावमा ११ मध्ये ९ स्थानीय तह जितेको कांग्रेसलाई पनि विरासत जोगाउन चुनौती छ। यसकारण पालुङटारको निर्वाचन पेचिलो बनेको छ। यद्यपि जसपाका मेयर पदका उम्मेदवार प्रेम बहादुर गुरुङ आफ्नो प्रतिस्पर्धी नै नभएको दाबी गर्दै आएका छन्।

मेयर जितेर पालुङटारलाई देशकै नमुना नगर बनाउन लागि पर्ने बताउने गुरुङसँग स्थानीय तह निर्वाचन, चुनावी एजेन्डालगायत विषयमा गुरुङसँग गरिएको कुराकानी –

तपाईँको उम्मेदवारी किन?

गोरखाको पालुङटार चौतर्फी विकासको लागि मेरो उम्मेदवारी हो। जस्तै: शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, बढेको करको दायरा घटाउनु, गरिब विपन्न परिवारलाई निःशुल्क बिजुली उपलब्ध गराउने र यो नगरपालिकालाई विकसित कायम गराउन मैले मेयरको चुनावमा अग्रसर भएको हुँ।

चुनावी प्रचार कस्तो भइरहेको छ?

१० वटै वडामा प्रचार तीव्र छ। सामाजिक क्षेत्र र राजनीति बुझेको मानिसको हैसियतमा मलाई आम मतदाताबाट राम्रो रेस्पोन्स आइरहेको छ। अहिलेसम्म एकदमै राम्रोसँग चुनावी प्रचार कार्यक्रम जारी राखेको छु। सबै वडा घुमे, कुनै–कुनै वडा दोहोर्‍याउँदै जनतासँग मत माग्दै छु। वातावरण सकारात्मक पाएको छु।

पालुङटारमा गठबन्धन किन भाँडियो नि?

पालुङटारमा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको गहनगर हो। सत्तारुढ गठबन्धनमा भएका शीर्षस्थ नेताहरूले गृहनगर आफैँले लिएका छन्। यस कारण डा. भट्टराईले पनि गृहनगर आफूले लिने भनेर गठबन्धनमा दाबी गर्नुभएको थियो। तर गोरखाको ११ वटा पालिकामा हामीलाई एउटा पनि पालिका नदिने भनियो। कांग्रेस र माओवादीले जसपालाई नदिने भन्दै दुई दल मात्रै गठबन्धन गरेर जान खोजे। यसको कारण भनेको हामीलाई कमजोर पार्ने खेल थियो। यहाँ हाम्रो जनमत राम्रो भएकाले कांग्रेस र माओवादीले हामीलाई पाखा लगाउन उनीहरू मात्रै गठबन्धन गर्न खोजेकाले गठबन्धन भाँडिएको हो।

चुनावकै मुखमा गठबन्धन भाँडिदा कुनै समस्या हुँदैन?

पालुङटारको सन्दर्भमा हामी बलियो भएकाले हामीले गठबन्धन गर्ने मनसाय थिएन। तर देशैभर गठबन्धन गर्ने भनेर निर्णय भएकाले हामीले अरुदललाई पनि स्पेस दिन गठबन्धन गर्न खोजेका थियौँ। तर, पछि उनीहरूले नै मानेनन्। यो क्षेत्र डा. बाबुराम भट्टराईको पनि क्षेत्र भएकाले जनमत राम्रो छ। यहाँबाट डा भट्टराईले लगातार चुनाव जित्दै आइरहनुभएको छ। सङ्गठन पनि मजबुत छ। आम नागरिकले पनि पार्टीप्रति राम्रो सुभेक्षा प्रकट गरिरहेका छन्। यसकारण गठबन्धन नहुँदा हामीले केही घाटा छैन।

तपाईँले घोषणापत्रमा के छ?

हाम्रो घोषणापत्रमा ठुला कुरा छैन। सामान्य जनजीविकाका कुराहरू छन्। सेवा र कार्यालयका कुराहरू छन्। सेवा भएको ठाउँमा जनता जाने होइन, जनता भएको ठाउँमा सेवा लगिने मूल नारा छ। नगरपालिकामा भएका जति पनि ४ करोडभन्दा बढी फजुल खर्च निस्किएको छ। त्यसलाई कटौती गर्ने योजना छ। निःशुल्क एम्बुलेन्स सेवा दिने पनि घोषणा पत्रमा छ। घुम्ती स्वास्थ्य शिविर, मल गोदामको व्यवस्था गरेर सहुलियत दरमा मल बिउबिज वितरण गर्ने हाम्रो घोषणा पत्रमा छ। निःशुल्क कृषि प्राविधिक खटाइने छ। समस्या परेका मानिसको खेतखेत, बगैँचामा जानेछन्। निजी र सरकारी शिक्षा संरचना पनि पाँच वर्ष भित्रमा एउटै प्रक्रियामा पठनपाठन हुने बनाइने छ। रोजगारीको ठुला उद्योग कारखाना छैन। तापनि वार्षिक ३ करोड रुपैयाँ अनुदान र स्वरोजगारको नाममा खर्च गर्दै आएका छौँ। त्यसलाई वितरण नगरीकन एक वडाले एक वर्षमा १० जना प्रशिक्षार्थी कामदार भर्ती गर्ने, उनीहरूलाई पेन्सन पनि दिने, काममा निपूर्णता भइसकेपछि बल्ल हिजो अनुहार हेरेर बाँडिएको रकम व्यवसाय गर्न दिने नीति बाएका छौँ। यहाँ १३ वटा माध्यमिक विद्यालय छन्। भौगोलिक संरचनाका कारण विद्यार्थीहरूको पहुँच टाढा रहेको छ। पाँच वर्षभित्र सबै विद्यालयलाई विद्यालय बस उपलब्ध गराउने योजना छ।

यी मध्ये मुख्य एजेन्डा र प्राथमिकता के – के हुनेछन् ?

मैले अघि नै भने चुनावी एजेन्डाहरू। यसमध्य प्रमुख एजेन्डाहरूमा चुनाव जितेपछि सबै वडामा सुलभ, सहज प्रभावकारी शिक्षा कसरी दिने, स्वास्थ्य केन्द्र तथा अस्पतालहरूको स्तरोन्नति कसरी गर्ने हो। सुशासन कायम गर्न भ्रष्टाचार न्यूनीकरण मेरो मुख्य एजेन्डा हुनेछ। त्यसै गरी नगरपालिकामा पछिल्लो समय बढाइएको कर वृद्धि कमी गर्दै करको दायरा बढाउने तथा पूर्वाधार विकासमा पनि मेरो योजनाहरू केन्द्रित छन्।

तपाईँलाई नै किन जिताउने?

विगतको पाँच वर्षमा जनप्रतिनिधिले कस्ता काम गरे, त्यो आम मतदाताले समीक्षा गर्नुपर्ने बेला आएको छ। आम जनताले सामान्य सेवा र सुविधा पनि पाउन सकेनन्। जनको पहुँच छ, जसको च्यानल छ, उसले मात्र लाभ लिएको देखिएको छ। जनप्रतिनिधि स्वार्थ केन्द्रित भए। सबैतिर समानुपातिक विकाश पनि भएन। पाउने पर्ने वर्ग, क्षेत्रमा केही विकास भएन। पहुँचको आधारमा हुनेखानेले नै बजेट लगेका छन्। यसकारण त्यो शैली अब परिवर्तन गर्नुपर्ने बेला भएको छ। शैक्षिक क्षेत्र, कृषि क्षेत्र, रोजगारी, स्वास्थ्यको क्षेत्र कतैपनि सन्तोषजनक उपलब्धि हुन सकेन। डा भट्टराईले स्मार्ट सिटी बनाउने र नमुना शहरको विकास गर्ने र देश विकाशको मोडल बनाउने भन्ने सपना छ। त्यसको लागि उहाँको भिजन लागु गर्न उहाँले नेतृत्व गरेको दल जसपाको उम्मेदवारले जित्नुपर्छ। त्यो उम्मेदवार मै हु। मलाई विश्वास छ, पालुङटारको कायापलट गर्ने क्षमता यदि कुनै दल वा समूहसँग छ भने त्यो हामीसँगै छ। यसपालि साँच्चै जनभावना अनुसार पालुङटारको विकास गरेर देखाउँछु।

पालुङटारमा कस्तो सम्भावना देख्नुभएको छ?

पालुङटारको विकासको लागि पछिल्लो चरणमा डा बाबुराम भट्टराईको अगुवाइमा अर्वभन्दा बढी बजेट विनियोजन भइसकेको छ। यसलाई कार्यान्वयनको लागि लैजानको लागि हामीले जित्नुपर्ने छ। किनकि यो क्षेत्रको विकासको मोडल र भिजन हामीसँग नै छ। डा भट्टराईले पालुङटार नगरपालिकालाई औद्योगिक ग्राम स्थापना गर्ने भनेर डिपीआरको योजना बनाइयो। तर, विभिन्न राजनीतिक शक्ति र भूमाफिया लागेर केही हुन सकेन। त्यो अपुरो काम सम्पन्न गर्नुपर्ने छ। पोखरा, काठमाडौं र चितवनको मध्यम स्थानमा औधौगिक क्षेत्रमा उद्योग स्थापना भयो भने रोजगारी सृजनादेखि अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिन्छ। मर्स्याङदी करिडोरको परिकल्पना पनि अघि बढिरहेको छ। मध्य पहाडी लोकमार्ग, स्मार्ट सिटी र जनताको आधारभूत सेवा सुविधा, खानेपानीलगायत अझ विकास गर्न सकिन सम्भावना छ। यो सम्भावना पुरा गर्न हामीले सक्छौँ। पाँच वर्षमा हामीले गर्व गर्न लायक कुनै पनि काम भएन। अब हामीले नेतृत्व पाएमा विकास गर्न सक्नेछौँ। अब पालुङटारले जसपाको नेतृत्व खोजिरहेको छ। अब पालुङटारमै बस्नेको नेतृत्व आवश्यक छ। विगतका दिनमा अन्त बसोबास गर्ने र यहाँ व्यापार गर्नेहरूले मात्र जितेर केही काम भएन। अब यहाँका जनताले यहाँकै स्थानीय सधैँ भरी यही बस्नेलाई जिताउनेछन् भन्ने अपेक्षा छ।

तपाईँको प्रतिस्पर्धी अरू दलका उम्मेदवार पनि हुनुहुन्छ। यो प्रतिस्पर्धालाई कसरी लिनुभएको छ?

अब अंकगणितिय हिसाब गर्ने हो भने नतिजा हाम्रो पक्षमा आइसकेको छ। तर, यो चुनावको अन्तिम नतिजा नआउन्जेलसम्म त थाहा हुँदैन। १० ओटै वडामा जनताको विशाल उभार जसपामै छ। जनताले फरक पृष्ठभूमिबाट आएकालाई एकपटक हेरौँ भनेका छन्। अंकगणित अनुसार हामीले जितिसकेका छौँ। अब त्यसलाई ब्याटलेमा हालेर गणना गर्न बाँकी छ। अरू दलबाट यसअघिकै उम्मेदवारहरू दोहोरिएका छन्। उनीहरूले जनताको पक्षमा काम नगरेकाले उनीहरूको पक्षमा माहौल छैन। यसपटक हाम्रै सम्भावना बलियो छ। यसकारण मैलै प्रतिस्पर्धी नै नभएको ठानेको छु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved