जिम्बाबेलाई ६ विकेटले हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज

नेपालभ्युज

जिम्बाबेलाई ६ विकेटले हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज

काठमाडौं। टेस्ट मान्यताप्राप्त जिम्बावेको ‘ए’ टोलीलाई निर्णायक खेलमा हराउँदै नेपालले एकदिवसीय सिरिज २-१ जितेको छ।

सोमबार कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले जिम्बावे ए लाई ६ विकेटले पराजित गरेको हो। जितका लागि २ सय १४ रनको बलियो लक्ष्य पछ्याएको नेपालले ३१ औं ओभरमा जित निकाल्यो ।

वर्षाका कारण ३३ ओभरमा छोट्याइएको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले सानदार अर्धशतक बनाए।

कुशलले आक्रामक ब्याटिङ गर्दै नेपालका लागि जितको आधार खडा गरेका थिए। उनले २१ औं ओभरमा आउट हुनुअघि ६१ बलमा ७ चौका र ४ छक्कासहित ८४ रनको योगदान दिए। अर्का ओपनर आसिफ शेखले ३७ बलमा २९ रन जोडे। उनी १३ औं ओभरको पहिलो बलमा आउट हुँदा नेपालको स्कोर ७३ रन रहेको थियो।

सुनिल धमला १८ औं ओभरमा मात्र ६ रनमा आउट भए। त्यसको ३ ओभरपछि कुशल र रोहित पौडेल लगातार बलमा आउट हुँदा नेपाल दबाबमा परेको थियो। रोहित मभुताको एलबीडब्लु धरापमा गोल्डेन डक आउट भए। त्यसपछि दीपेन्द्र र विनोद भण्डारीले नेपाललाई जितसम्म पुर्‍याएका थिए। दीपेन्द्रले ४३ बलमा ६० रन जोडे। नटआउट रहेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। विनोद २६ बलमा २८ रन जोड्दै नटआउट रहे।

त्यसअघि नेपाल भ्रमणमा रहेको जिम्बावे एले नेपाललाई जितका लागि २ सय १४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved