निर्वाचनका लागि मकवानपुर र जुम्लामा चार हजार ९ सय सुरक्षाकर्मी परिचालन

नेपालभ्युज

निर्वाचनका लागि मकवानपुर र जुम्लामा चार हजार ९ सय सुरक्षाकर्मी परिचालन

काठमाडौं। स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा तीन हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएकाे छ।

मकवानपुरमा १० स्थानीय तहको निर्वाचनका लागि १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र रहेकाले त्यसको सुरक्षाका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ। शान्तिपूर्वक निर्वाचन गराउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।

मकवानपुरमा निर्वाचनका लागि प्रशासनद्वारा नेपाली सेना ५००, सशस्त्र प्रहरी ४००, नेपाल प्रहरी ९०० र म्यादी प्रहरी एक हजार ४०० परिचालित गरिएको हो। पहिलो घेरामा जनपद र म्यादी प्रहरी रहने छन्। दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरा अर्थात् मतदानस्थल वरिपरी नेपाली सेना परिचालन गरिएको छ।

सबै सुरक्षाकर्मी मतदान केन्द्रको सुरक्षा र गस्ती गर्ने लगायतको काम गर्ने बताइएको छ। नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र कर्मचारीसँग मतपत्र लगायतका सामग्री लिएर पठाउने तयारी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ।

जिल्लाका स्थानीय तहमा पठाउनुपर्ने निर्वाचन सामग्री पठाउने कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले बताए। मकवानपुरमा एक लाख ४९ हजार ९५४ पुरुष र एक लाख ४४ हजार ९५९ महिला तथा छ जना तेस्रो लिङ्गी गरी कूल दुई लाख ९४ हजार ९१९ मतदाता रहेका छन्। त्यसमा ६५ हजार ५४ नयाँ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै जुम्लामा निर्वाचन सुरक्षाका लागि जिल्लामा एक हजार ७२१ सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र भयरहित तवरबाट सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो।

निर्वाचन सुरक्षामा नेपाल प्रहरी ४३२, नेपाली सेना ३५०, सशस्त्र प्रहरी २७० र ६६९ म्यादी प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिए। उनका अनुसार सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलनदेखि स्थलगत निरीक्षणको काम गरिरहेको छ।

निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ति खटिइसकिएको छ। निर्वाचनको सुरक्षा चुनौति आकलन गर्दै चारैवटा सुरक्षा निकायले आआफ्नो तयारी तीव्र पारेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। यहाँका आठ वटै स्थानीय तहमा नेपाली सेना परिचालन भएको नन्द बक्स गणका गणपति रवीन थापाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved