सीजी सबल केन्द्र जहाँ ६ सय जनाले नयाँ जीवन पाए

सिजी सबल केन्द्रले विविध कारणले हातखुट्टा गुमाएका ६ सय जना व्यक्तिलाई कृत्रिम हातखुट्टा जडान गरेको छ।

नेपालभ्युज

सीजी सबल केन्द्र जहाँ ६ सय जनाले नयाँ जीवन पाए

काठमाडौं। नूरनारायण चौधरी अहिले जम्मा ४५ वर्षका भए। १८ वर्षअघि सडक दुर्घटनामा एउटा खुट्टा गुमाउँदा उनी २७ वर्षका युवा थिए। केही गरौँ भन्ने उमेरमा खुट्टा गुमाउनु परेपछि नूरनारायणलाई जीवनको अर्थ नै सकिए जस्तो लाग्यो। दाहिने खुट्टा गुमाएका चौधरीलाई सामान्य कामका लागि समेत अरुको सहयोग आवस्यक पर्न थाल्यो।

उडौँ उडौँ लाग्ने त्यो उमेरमा उनी हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा पुगे। ‘‘एउटा खुट्टाको भरमा जेनतेन घर बाहिर निस्कियो भने घरभित्र कसरी पस्ने भन्ने चिन्तामै दिन बित्थे,” चौधरी आफ्नो कहालीलाग्दो दुई दशक सम्झिँदै भन्छन्, ‘‘तिर्खा लाग्दा पानी सारेर खान नसक्ने अवस्था थियो। शौचालय जान कसले सहयोग गरिदेला भनेर कुर्नुपर्थ्यो। खुट्टा नहुँदा भोग्नु परेका दिनहरू भोग्नेलाई मात्रै थाहा हुन्छ, म आफै आफ्नो अवस्था बयान गर्न सक्दिन।’’

गत साता नवलपुर मध्यविन्दू नगरपालिकाका यी युवालाई हामीले भेट्दा उनको मुहारमा नयाँ चमक थियो। उनी आफ्नै खुट्टामा टेकेर उभिन पाउँदा खुशीमा रमाएका थिए। ‘‘मैले जीवनमा आफ्नै खुट्टाले फेरी हिड्न पाउँला भन्ने आशा मारिसकेको थिएँ। तर, त्यो शौभाग्य अहिले पाएको छु,’’ चौधरीले आफ्नो कृत्रिम खुट्टाले हिँडेर देखाउदै हामीलाई भने– अहिले ती पुराना दिनको पीडा सकिएको छ। आफैँ हिँड्न सक्ने भएको छु। अब मलाई शौचालय कसले पुर्‍यादेला भनेर कुरेर बस्नु पर्दैन। तिर्खा लाग्दा कसले पानी ल्याइदेला भनेर बाटो हेर्नु पर्दैन।”

१८ वर्षसम्म एउटा खुट्टाको भरमा बाँच्नुपर्दा उनले के सम्म भोगेनन् ? सहयोग गर्न गाह्रो मान्ने तर दया गर्न अग्रसर हुने समाजको व्यवहार, तिरस्कार र अपमानको जीन्दगी। छोरोले कमाई गर्ला र परिवारलाई सहयोग पुर्‍याउला भन्ने परिवारको आशामाथि परेको बज्रपात। र, आफै केही गर्न नसक्दा बारम्बार दिमागमा घुमेका निराशाका पलहरू।
के अब तपाईँ तन्दुरुस्त हुनुभयो ? हाम्रो प्रश्नको फिस्स हाँसेर जवाफ दिदै चौधरीले भने, ‘‘पहिला जस्तै तन्दुरुस्त त होइन तर अब अरुको साहारामा बाँच्नुपर्ने दिन भने सकिए कि भन्ने लागेको छ। नयाँ जीवन पाएको महशुस गर्दैछु। कम्तिमा आफै हिड्न सक्छु। परिवारको बोझ घटाएको छु। सानोतिनो काम गरेर आफ्नो जीवन चलाउने हिम्मत पलाएको छ।’’

नवलपरासीको मध्यविन्दू नगरपालिका स्थापना भएको सिजी सबल केन्द्र चौधरीको जीवनमा बरदान बनेको हो।

नवलपुरमा औद्योगिक पार्क स्थापना गरेका उद्यमी एवं समाजसेवी विनोद चौधरीले आफ्नो कर्मभूमिका लागि योगदान गर्न शुरु गरेको समाजसेवा चौधरीजस्ता कैयौँ हातखुट्टा गुमाएका नागरिकका लागि बरदान बनिरहेको छ।

भरतपुर महानगरपालिका ११ की २५ वर्षीय रचना थापाले सात वर्षअघि दुर्घटनामा खुट्टा गुमाइन्। युवा उमेरका हजार सपनाहरू खुट्टासँगै काटिए र चार दिवारभित्र कैद भए। जीवनमा के के गरौँला भनेर सजाइएका योजनाहरू भत्किएर कसरी घर भित्रबाहिर गर्ने होला ? शौचालय कसरी जाने होला ? खेल्दै डिलसम्म पुगेका साना भाईबहिनीहरू लड्नै लाग्दा समेत टुलुटुलु हेरेर बस्नुपर्ने नियति।

रचनालाई ती दिनहरू संझिदा पनि निकै नरमाइलो लाग्छ। ‘‘कम्ता गाह्रो हुन्थ्यो पहिला, आफ्नै घरमा पनि बेसाहारा झै हुनुपर्थ्यो,” उनी भन्छिन्।

गत वर्षको एक दिन उनका लागि आशाको दियो बनेर एउटा खबर कानसम्म आईपुग्यो। नजिकै नवलपुरमा कृत्रिम खुट्टा जडान गर्ने सुविधा आइपुगेको छ। यो खबर भेरिफाई गरेपछि उनी परिवारको सहायतामा सिजी सबल केन्द्र पुगिन्।चिकित्कसले उनको खुट्टा परिक्षण गरे। र, उनका लागि कृत्रिम खुट्टा बनाउने काम शुरू भयो। सबल केन्द्र पुगेपछिका एकाध घण्टामै उनको जीवनमा खुशीका पलहरू आइसकेका थिए। कृत्रिम खुट्टा जडान गरेपछि प्राविधिकले उनलाई भने, ‘‘अब तिमी हिड्न सक्छौँ। लौ हिडेर देखाउ त।” उनका लागि यो पल सपनाजस्तै थियो। उनी विस्तारै उठिन् र हिड्न थालिन्। सात वर्षपछि फेरी उनका दुईवटा खुट्टा चले। उनी हिँड्न सक्ने भइन्। उनलाई लाग्यो– हिँडेरै भरतपुर पुगौँ। सात वर्षसम्म उभिन नपाएको जुन पीडा उनको मनभित्र भरिएको थियो।

‘‘शौचालय जान पनि अरुको साहारा चाहिने ती दिनहरू अहिले इतिहास बनेका छन्। अरुकै भरमा बाच्नुपर्ने ति दिनहरूको अन्त्य भएको छ। र, अहिले नयाँ विहानी आएजस्तो भएको छ,’’ रचनाले आफ्नो फेरिएको जीवनशैलीबारे बताइन्।

गत फागुनले उनले सिजी सबल केन्द्रमा कृत्रिम खुट्टा जडान गरेकी थिइन्।

‘‘जब समस्यामा परेका मानिसहरूको जीवनमा परिवर्तन आउछ र उनीहरूको मुहारमा खुसि छचल्किन्छ मेरो समाजसेवाको अर्थ पूरा हुन्छ,’’ चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरी भन्छन्, ‘‘मैले समाजसेवामा गरेको योगदान आम मानिसको जीवनमा प्रतिविम्बित हुनुपर्छ। उनीहरूको जीवनमा परिवर्तन आएको हुनुपर्छ। सिसि सबल केन्द्रमार्फत हामीले गर्न सकेको काम यसैका लागि हो। किनभने यसले मानिसको जीवनमा तात्विक फरक पार्दछ। एकजना परनिर्भर मानिस आत्मनिर्भताको बाटोमा अगाडि बढ्छ।’’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले नवलपुरमा स्थापना गरेको सीजी सवल केन्द्रवाट हालसम्म छ सयजनाले कृत्रिम हातखुट्टाको सुविधा लिएका छन्। नेता चौधरीले हात खुट्टा गुमाएर समस्यामा परेका आम नेपाली नागरिकलाई कृत्रिम हात खुट्टा वितरण गर्न नवलपुरमा सीजी सवल केन्द्र स्थापना गरेका हुन्। यसबाट नवलपुरवासीलगायत देशभरीका नागरिकहरू लाभान्वित भएका हुन्।

नेता चौधरीले व्यवसाय संगसंगै समाजिक काम पनि उही रफ्तारमा गनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउछन्। ‘‘विभिन्न कारणले हातखुट्टा गुमाउन बाध्य भएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूको जीवनमा अलिकति भएपनि सहजता ल्याउन सवल केन्द्रमार्फत मेरो प्रयत्न हो,’’ चौधरीले भने, ‘‘हातखुट्टा पाएपछि उहाँहरूको जीवनमा आउने सहजता वास्तवमै अतुल्य रहन्छ।’’

चौधरीले आफ्नो कर्मभुमि नवलपुरमा सवल केन्द्र स्थापना गरिनु स्थानीय नागरिकप्रतिको सम्मान रहेको पनि बताए।
यसअघि गैंडाकोट र काठमाडौंमा क्याम्पको आयोजना गरि कृत्रिम हातखुट्टा वितरण गरिएको थियो। यस्तो क्याम्प आयोजना हुदा पाँच सयभन्दा बढिले आफुलाई आवश्यकता अनुसारका कृत्रिम हातखुट्टा निशुल्क प्राप्त गरेका थिए। हाल नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा सीजी सवल केन्द्रले नियमित रुपमा कृत्रिम हातखुट्टा जडानको सुविधा दिइरहेको केन्द्रका फोकल पर्सन दिपक सिंह के.सी.ले बताए। उनका अनुसार भारतको राजस्थानबाट आएका दुई जना कृत्रिम हातखुट्टा सम्बन्धी विज्ञहरूको प्रत्यक्ष उपस्थितिमा यो सुविधा चलिरहेको छ।

धनुषा कमला नगरपालिका ९ का उमेशचन्द्र शाहको अनुभव पनि नूरनारायण चौधरीको जस्तै छ। दश वर्षअघि सवारी दुर्घटनामा आफ्नो दाहिने हात गुमाएका उमेशचन्द्रले पनि सीजी सवलकेन्द्रबाट नै कृत्रिम हातको सुविधा लिएका थिए। ‘‘हातकै कारण मलाई पहिला घरबाट बाहिर निस्कन पनि निकै अफ्ठेरो लाग्थ्यो, ‘अड’ हुन्थ्यो,’’ उमेशचन्द्र भन्छन्, ‘‘अहिले बाहिर निस्कन कन्फिडेण्ट आएको छ।’’ उनले सर्टको बटम पनि अरुले लगाइदिने अवस्थाबाट आफु मुक्त भएको बताए।

नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालस्थित सीजी सवल केन्द्रबाट पछिल्लो दुई महिनामा मात्रै ६५ जनाले कृत्रिम हातखुट्टा जडानको सुविधा पाएका छन्। नवलपुर र आसपासका जिल्लामात्र होइन, दाङ रोल्पालगायतका जिल्लाबाट पनि उक्त सुविधा लिनेहरू छन्। रोल्पाका ५३ वर्षमुनि पुन मगरले पनि गत हप्ता कृत्रिम खुट्टा लिएपछि आफूमा रहेको पीडाको घाउँमा मलम लगाएको झै भएको अनुभव सुनाए। क्यान्सरका कारण उनको देब्रे खुट्टा काट्नु परेको थियो। ‘‘शरिरमा महत्वपूर्ण अंगनै नहुदाको पिडाको त कसरी भनौं र!’’ मने पुनले भने, ‘‘अहिले सहज महशुस गरेको छु।’’ उनले आफूले पाएको नयाँ खुट्टाको सहायताले हिड्न थालेको बताए।


Comment

2 thoughts on “सीजी सबल केन्द्र जहाँ ६ सय जनाले नयाँ जीवन पाए

  1. एक जनाको हात र एक जनाको खुट्टामा लाउने त्यस्तै सजिलो हुने जुता आकारको राख्नु थियोे मिल्ला?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved