स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनको सङ्घर्ष हो : प्रचण्ड

नेपालभ्युज

स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनको सङ्घर्ष हो : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको सङ्घर्षको संज्ञा दिएका छन्।

उनले आज एक सन्देशमार्फत आफ्नो पार्टीको निर्वाचन चिह्न र गठबन्धनका उम्मेदवारको चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै यस निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्रै नलिन आग्रह गरेका छन्।

अध्यक्ष दाहालले सिंहदरबारकेन्द्रित अधिकार जनताको घरदैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोसेढुङ्गा बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

उनले सन्देशमा भनेका छन्, “यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने तत्वले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन्। निर्वाचनलाई संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँका रुपमा लिएका छौँ।”

अध्यक्ष दाहालले आफूहरुले खोजेको संघीयता, समावेशी, समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझ पनि जनताले अनुभूति गर्न नसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चिततामार्फत सामाजिक न्यायासहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रासामु रहेको बताएका छन्।

कृषिमा अनुदानमार्फत् उत्पादन, किसान पेन्सन, औद्योगिकीकरण तथा ग्रामीण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी, सबैखाले शोषण र विभेदकाे अन्त्य, विदेशमा रगत–पसिना चुहाउने अवस्था नहटाई साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने अध्यक्ष दाहालको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved