बालेन शाहको पक्षमा खुले लेखक-कलाकारहरू

नेपालभ्युज

बालेन शाहको पक्षमा खुले लेखक-कलाकारहरू

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर चर्चामा आएका स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा कलाकारहरू एकजुट भएर उभिएका छन्।

नेपाली र्‍यापर तथा स्ट्रकचरल इन्जिनियर बालेन युवा पुस्तामाझ गीत-संगीतबाटै लोकप्रिय थिए। मेयरमा उम्मेदवारी दिएपछि उनको चर्चा अझै चुलियो। सामाजिक सञ्जाल ट्वीटर, फेसबुक, इन्स्टाग्राम जततातै उनको समर्थन देख्न सकिन्छ। उनले उठाएका एजेण्डाहरूले युवासँगै बुद्धिजीवी, कलाकार, वृद्धवृद्धा, वयस्क सबैको ध्यान खिचेको छ। कलाकर्मीहरू त एकजुट भएर उनलाई जिताउन लागि परेका छन्।

आइतबार मात्रै कलाकार आसिफ शाहले उनको पक्षमा मतदान गर्न नागरिकलाई आह्वान गरे। सिस्टम परिवर्तनका लागि युवालाई साथ दिनुपर्ने उनको भनाइ छ। बालेनसँगको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले लेखेका छन्, ‘‘५ वर्ष त्यही पुरानो अनुहारलाई सरापेर बस्नुभन्दा एक शिक्षित युवा जसले म केही गर्छु भनिरहको अवस्थामा होस्टेमा हैंसे गर्ने हामी दाजुभाइले आफ्नो भोट बालेन शाहलाई दिने निर्णय गर्यौँ। जित्न कठिन छ तर काठमाडौंका युवा साथीहरूले हामीले जस्तै आफ्ना आमा बुवालाई पनि युवालाई साथ दिन आग्रह गरेमा बालेनको जित सुनिश्चित पनि छ !’’

दुई दिनअघि अभिनेत्री ऋचा शर्माले पनि बालेनको पक्षमा मतदान गर्न काठमाडौंवासीलाई आग्रह गरेकी थिइन्। उनले साहित्यकार बुद्धिसागरको पोष्ट सेयर गर्दै आफू बालेनको पक्षमा उभिएको पुष्टि गरिन्। यद्यपि ऋचाले भने बालेनलाई भोट गर्न पाउने छैनन्, उनी बुढानीलकण्ठवासी हुन्। साहित्यकार बुद्धिसागरले लेखेका छन्, ‘‘यसपालि मेरो भोट बालेन शाहलाई। एउटा शहरलाई आवश्यक पर्ने मानवीय आवश्यकतामाथिका योजना साँच्चै सुन्दर छन्। जीत वा हार जे होला। मलाई सपनाले भरिएका एक युवाको पक्षमा उभिन मन लाग्यो।’’

अभिनेत्री स्वस्तिमा खड्काको जोडी नै बालेनको प्रचार प्रसारमा जुटेको देख्न सकिन्छ। निर्देशक निश्चल बस्नेत र स्वस्तिमा बालेन भोट माग्न सक्रिय भएलगतै उनको पक्षमा बोल्न थालेका थिए। यो जोडी बालेनलाई काठमाडौंको मेयरमा जिताउन कस्सिएर लागेको छ। स्वस्तिमा बालेनेका एजेण्डाहरू प्रचार गरिरहेकी छिन् भने निश्चल युवालाई प्रेरित गरिरहेका छन्। निश्चल लेख्छन्, ‘‘एउटा लौरोले हल्लाउँदैछ काठमाडौं। स्वतन्त्र उठेकोलाई स्वतन्त्र भएर समर्थन गर्दैछ सारा नेपाल। जागौँ अनि लागौँ परिवर्तन को शुरुवात गर्न। हाम्रो भविष्य हाम्रै हातमा छ, सहि सदुपयोग गरौँ।’’

यस्तै गायिका इन्दिरा जोशी लगायत थुप्रै कलाकारहरू बालेनको समर्थनमा छन्। भ्रष्टाचार बिरुद्द विशेष फोर्स, सबै कार्‍यालयमा सिसिटिभी, रोजगारी, उद्यमशीलता प्रवर्धनको लागि आईडिया ब्याङ्क, युवाहरूको लागि करियर परामर्श र कोचिङ, ७० वर्ष माथिका बृद्ध बृद्धाको निशुल्क स्वास्थ्य परिक्षण घरघरमै गरिने लगायतका उनका एजेण्डाले धेरैलाई आकर्षित गरेको छ।

स्थानीय तहको सदस्य निर्वाचन आउन तीन दिन मात्रै बाँकी छ। मंगलबार (भोलि) रातिदेखि मौन अवधि शुरु हुने भएको छ। बुधबारबाट मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन। चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै बाँकी भएकाले उम्मेदवार तथा शीर्ष नेताहरू दौडधुपमा व्यस्त छन्। चुनाव प्रचारप्रसारमा सक्रिय मेयरका उम्मेदवार बालने पनि भाेट माग्दै आफ्नो टोलीसहित काठमाडौंका टोल, गाउँ घुमिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved