काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल कांग्रेसलाई मत नदिन मतदातालाई आग्रह गरेका छन्।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेलाई भोट दिएर जिताउन आग्रह गरेका हुन्।
पत्रकार सम्मेलनमा सत्ता गठबन्धनको विरोध गर्दै कांग्रेसमाथि खनिएका ओलीले कांग्रेसलाई जनताले विश्वास नगर्ने विश्वास व्यक्त गरे। “राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर तत्वलाई लिएर कांग्रेस उल्टो बाटो हिँडेको छ। काँग्रेसका सरकारले जनताको सुख समृद्धिको योजना नै ल्याएनन्। कांग्रेसलाई मत नदिनुस्, एमालेलाई सहयोग गर्नुस्।”
यस्तै उनले कांग्रेसले दलको आधारभूत मर्ममाथि प्रहार गरेको आरोप समेत लगाए। उनले भने, “कांग्रेसले संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो। संसदले सरकार निर्माण गर्ने संसदीय शासन प्रणाली आदर्शको उपहास गर्यो। संसदलाई राजनीतिक निर्णयको थलो हुन नदिई बन्धक बनायो।”
एमाले नेतृत्वको सरकारले विकास र राष्ट्रहितका धेरै काम गर्न सफल भएको उनको दाबी छ।
Facebook Comment
Comment