प्रिय पात्र

प्राग्-इतिहास, दर्शन र संस्कृतिमा केन्द्रित

प्राग्-इतिहास, दर्शन र संस्कृतिमा केन्द्रित

कुनै पनि संवेदनशील पाठक उसको प्रिय पात्रको दुःखमा दुःखित हुन्छ, यो स्वाभाविक हो। कतिपय आख्यान, संस्मरण र जीवनी पढ्दा मलाई पनि त्यस्तो अनुभूति भएको छ, पात्रको दुःख, सुख, पीडा र आक्रोशले छोएको छ। खासमा मेरो रुचिको क्षेत्र भनेको प्राग्-इतिहास, दर्शन र संस्कृति बन्न गएको छ यता आएर।

यसकारण खास गरेर तत् विषयको स्वअध्ययनमा केन्द्रित हुने गरेको छु। म हुर्किएको ठाउँ भारतीय सीमानाको बजार गौर हो। मैले होस सम्हालेको समयमा त्यहाँ सहज रुपमा भारतीय पुस्तक मात्र पाइन्थे। तसर्थ पनि भारतीय पुस्तक अहिले पनि बढी मन पराउँछु। मैले चाहेको ज्ञानको भोक नेपाली पुस्तकबाट मेट्न नसकेर पनि हुनसक्छ।

गौरमा रहेको ऐतिहासिक पुस्तकालयबाट लिएर पढेको पहिलो नेपाली पुस्तक सम्भवतः पारिजातको ‘शिरीषको फूल’ हो। यो २०३१ सालतिरको कुरा हो। सो समयमा त्यसमा रहेको दर्शन छिचोल्न नसके पनि म साकम्बरीको मनोदशामा रन्थनिएको थिएँ। यता आएर धेरै त नभनौं केही नेपाली पुस्तक पढ्न र बुझ्न थालेको छु।

यस आधारमा मलाई मन परेको प्रिय पात्रको नाम लिनपर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा र नयराज पन्तको नाम लिने गरेको छु। हुन न कसैले आफ्नो रचनाको पात्र बनाए बनाएनन् थाहा छैन्, हो मलाई यति मात्र थाहा छ- मेरा प्रिय पात्र सयकडौं वर्षमा होइन हजारौं वर्षमा मात्र पाइन्छन्। एउटाले नेपाली साहित्यको भण्डार भर्नको लागि कतिसम्म गरे यो भनिरहनु पर्ने कुरा होइन, अर्काको एकल प्रयासबाट नेपालको इतिहास ७० प्रतिशत सच्चिएको छ यो यथार्थ हो। यस्ता पात्रबारे नेपालकै कतिजनाले गहन अध्ययन गरेका छन्, गर्न चाहेका छन्।

अर्को कुरा, साहित्यमा आइरहने नाम भएको हुँदा देवकोटाबारे सुन्ने त धेरै छन्, तर एक्लो वृहस्पति नयराज पन्तबारे अहिले पनि धेरैलाई थाहा नहुन सक्छ। मलाई साहित्य साधना गर्ने बालकृष्ण सम पनि मन पर्छ, सम बुझ्नको लागि ‘मेरा कविताको आराधना’ नै पर्याप्त छ। मदनमणि दीक्षितको नाम त मैले लिनै पर्ने हुन्छ। उहाँको ‘माधवी’ उपन्यासको पात्र गालबको अन्तरमनबारे कहिलेकाहीँ अहिले पनि सोच्दा आफैँ रन्थनिने गर्छु। गुरुदक्षिणा निमित्त उपयोग गरिएको महापुजारीणी माधवीसँग एकातिर एकोहोरो प्रेम र अर्कोतिर गुरुदक्षिणाको कर्तव्य।

मन छुने पुस्तकले ममा असन्तोष जन्माउँछ। सन्तुष्ट हुन सकेको भए पुस्तक अध्ययन गर्ने भोक जाग्ने थिएन ममा। पुस्तक पढ्ने मात्र गर्दिन् त्यसमा विचरण गर्ने पनि गर्छु। जुन पुस्तममा म स्वतन्त्र रुपमा विचरण गर्न पाउँदिन अथवा त्यस्तो स्पेश रहँदैन, निश्चय नै म मन पराउँदिनँ। केही समययता पढेर मेरो मनमा बसेको पुस्तकको नाम लिनु पर्दा राहुल सांस्कृत्यायनको ‘ऋग्वेदिक आर्य’, निर्मोही व्यासको ‘तस्वीर तिम्रै’, माधव काफ्लेको ‘खुशीको पिरो धुवाँ’ र ओशोको ‘अष्टावक्र महागीता’ हो।

यथार्थको नजिक रहेको पुस्तक हो- ‘ऋग्वेदिक आर्य’। वेद के हो, आर्यको प्रवेश कसरी भयो यसबारे राहुलले आफ्नो गहन अध्ययन यसमा राखेका छन्। ‘तस्वीर तिम्रै’ मुक्त-काव्यमा निर्मोही व्यास यस्तो कविको रूपमा अगाडि आएका छन्, जसले कविताजीवन र समकालीन समाजको विडम्बनाहरूमा हाँस्ने, त्यसका पत्रपत्रलाई छेड्ने साथै प्रतिरोधको एउटा नयाँ युक्ति दिने प्रयास गरेका छन्। जीवनको कटु सत्यलाई सबभन्दा नजिकबाट देख्ने र भोग्ने नेपाली साहित्यकारमा व्यासले यस मुक्त-काव्यमा रहेका चार पंक्तिका कवितालाई जीवन मानेका छन्, एउटा जीवन भत्काएर नै धेरै जीवन बनाउन सकिन्छ। माधव काफ्लेको ‘खुशीको पिरो धुवाँ’ संस्मरण कृति पढेका प्रत्येक पाठकको मनमा (जो स्वयं पात्र पनि हुन्) गहिरो प्रभाव पारेको पाएको छु।

चालिसको दशकमा भारतीय रेल्बे स्टेसनको बुक स्टलमा आचार्य रजनीस पाकेट बुकको रुपमा पाइन्थ्यो, पढेको हुँ। पछि भगवान रजनिश धेरै पढिएन र अहिले ओशोको तर्कलाई सम्मान गर्न थालेको छु। त्यो गहन अध्ययन, तार्किक क्षमता अवश्य चानचुने होइन। विचारको क्षेत्रमा भने मेरो असहमति छ, तर मन परेको त बौद्धिक तार्किक क्षमता र प्रस्तुतिको शैली न हो।

ओशोको शैलीको कुरा गर्दा भारतीय लेखक जैनेन्द्रकुमारको संकलन आउँछ, उनले आफ्ना निबन्ध यही शैलीबाट सजाएका छन्। यो शैली नेपालका अग्रजदेखि अनुज पुस्तासम्मका केहीले अपनाएको र अहिले पनि अपनाउँदै गरेको पाएको छु। पाठकको लागि प्रिय पात्रका लेखक यस विचारले मेरो मन बडो नराम्रोसँग रन्थनिन पुगेको छ, लेखकको भावनाको कारण पाठकले पढ्न र मनका बसाउन पाएको न हो पात्र त।

एउटा पाठकले आफ्नो प्रिय पात्रलाई चाहेर पनि सान्त्वना दिन सक्दैन। पाठक पात्रसँग रिसाउन सक्छ, तर त्यही लेखकको अर्को पात्र मन पराउँछ। प्रिय पात्रसँग मेरो विचारमा पाठकलाई सधैँ प्रशन्न राख्ने उपाय होला यो स्तम्भ। खुशीको कुरा अवश्य हो। यस स्तम्भको माध्यमबाट पात्र र पाठकलाई अन्य पाठकले चिन्न बुझ्न, मनन गर्न पाएको छ। हो मेरो आफ्नै रचनाका प्रिय पात्रलाई मैले न्याय गर्न सकिनँकि भन्ने डर मेरो मनमा भने सदा बसिरहेको हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved