पुस्तक–विमर्श

आफ्नै अनुभवको वृत्त वरिपरि

यथार्थ सत्यको शिखरमा पुग्ने खुट्किला हो। कतिपय लेखक भने आफ्नो जीवनका यथार्थलाई अभिव्यक्त गर्ने क्रममा त्यस्ता खुट्किलाबाट नराम्ररी चिप्लिन पुगेका छन्। ‘अनि हेडसर हिँडे’ का हेडसरले भने जीवनका नागबेलीमय अनुगुञ्जलाई स्मृतिको माध्यमद्वारा पछ्याउँदै अभिव्यक्त गर्न सार्थक प्रयत्न गरेका छन्।

नेपालभ्युज

आफ्नै अनुभवको वृत्त वरिपरि

शिक्षाविद् गोविन्द गजुरेलको लेखन धरालतमा अनेक रुप, रङ र गन्धका सामञ्जस्य भेटिन्छन्। कतै माटोको गन्ध, कतै अनेक परिवेश र पर्यावरणका रङ र कतै वैयक्तिक जीवनका रुपरेखा। मूलतः जीवन भोगाइका अनेक आयाम उनका रचना-संसारमा खुल्न पुग्दछन्। र, सामाजिक जीवनका तन्तुहरूका विश्लेषणदेखि मानव समुदायका राग-विराग, आशा-निराशा, हर्ष-विषादका रेखांकनसमेत भेटिन्छन्।

‘अनि हेडसर हिँडे’ मा उनले आफ्नो वैभवशाली अतीतका तीता, मीठा र टर्रा कथ्यांशहरू पस्किन चाहेका छन्। भित्री मधेसको समृद्ध थलोमा जन्मिएर आफ्नै कर्म र प्रयत्नद्वारा नेपालको शैक्षिक क्षेत्रमा ख्याति कमाएका उनले मूलतः जीवनका पूर्वाद्र्धदेखि पछिल्लो कालखण्डका प्रधान विषय र घटना-प्रसंगहरूलाई यो संस्मरण कृतिमा आबद्ध तुल्याएका छन्।

जीवनको रङ सदैव बदलिरहन्छ। रङ बदलिनु एक संश्लिष्ट प्रक्रिया पनि हो। कहिले रातो हुन्छ, कहिले सेतो। हुन्छन् कहिले त सप्तरंगी पनि। जीवन भोगाइमा बटुलेका अनेक रङ र तरंग उनका स्मृति-संसारमा अटाएका छन्। त्यसका केही दृष्टान्तः

-एकपल्ट नवराजजी (नवराज सुवेदी) सँग काठमाडौँबाट एकजना चिफ इञ्जिनियर पनि आएका थिए भक्तपुरतिरका। नामचाहिँ बिर्संे। तर राति रमरम मातेपछि उनले नवराजजीलाई भने, ‘ए मन्त्रीज्यू, अब त पञ्चायत १३ वर्षको भयो यसो धोती-सुरुवाल लगाइदिनुस् नभए पनि एउटा लगौंटी लगाएर लाज त छोपिदिनुस्।’ नवराजजी आफ्नो स्वभाव अनुसार रमाइलो मानेर हाँस्नुभयो। हामी पनि हाँस्यौं। तर इञ्जिनियरले पञ्चायतप्रति गरेको टिप्पणी घतलाग्दो थियो, जसलाई मैले धेरै पटक सम्झिएर उद्घृत गरेको छु।

-एकपल्ट जिल्ला (रामेछाप) का ३ वटै मावि गौरीशङ्कर, शारदा र साँघुटारका विद्यार्थीको प्रतिनिधिहरू लिएर हामी (गोरेबहादुर खपाङ्गीजी र म) तराईतिरको भ्रमणमा गयौँ। विद्यार्थीहरूले बयलगाडा देखेर कठैबरा गोरुलाई कति दुःख दिएको भने, हात्ती देखेपछि हेरेका हेर्‍यै भए, सबैतिर समतल जमिन देखेर कहाँबाट कहाँ पुगिन्छ भन्ने भेऊ नै पाएनन्। प्रश्नहरूका ओइरोको बीच ठोसेका विद्यार्थी दिलबहादुर कार्की (स्वास्थ्यकर्मी, हाल दिवंगत) लाई टोली नेता बनाएको यो यात्रा हाम्रा लागि त अविस्मरणीय रह्यो भने विद्यार्थीहरूका लागि त झन् स्मृतिभरि छरिएर रहेको होला।

स्वच्छन्द र उन्मुक्त हुन्छ, युवा वय। तर गजुरेल भने युवाकालीन दिनहरूमा पाइला टेक्ने बित्तिकै दायित्वबोधको भारीले थिचिन पुगे। अर्थात् युवाकालका प्रारम्भिक वर्षहरूमै उनको काँधमा माध्यमिक विद्यालयको ‘हेडमास्टर’ को जिम्मेवारी आइपर्‍यो। युवाकालदेखि नै शैक्षिक क्षेत्रको उन्नयनमा आफूलाई समर्पित तुल्याएका गजुरेलले रामेछाप र सिन्धुलीका विद्यालय/कलेजहरूमा लामो समय अध्यापन गरे। पछिल्लो समय भने प्राविधिक शिक्षामा जोडिएर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य-सचिव भई जिम्मेवारी निर्वाह गरे। शैक्षिक र व्यवस्थापकीय अनुभव बटुलेका उनले पुस्तकमा बाल्यकालदेखि शिक्षण पेसामा आबद्ध हुँदासम्मका घटना-सन्दर्भहरूलाई मिहीन रुपले उत्खनन गरेका छन्।

शिक्षण उनको पेसा। पेसागत मर्यादालाई कायम राख्दै वामपन्थी राजनीतिप्रतिको रुचि र लगाव पनि प्रष्टै झल्किन्छ। विद्यालय/कलेज तहमा अध्ययन गर्दाताका नै वामपन्थी विचारतिर ढल्किएका उनले सामाजिक जीवनका अन्तर्य र लयलाई बुझ्दै आफ्नो भेगमा राजनीतिक चेतना प्रवाह गर्न भूमिका खेले। हुन पनि तीस र चालीसको दशकताका ग्रामीण भेगतिर राजनीतिको लगाम समाउनेमा शिक्षकहरू नै हुन्थे। भित्री रुपमा राजनीतिक गतिविधिमा सम्बद्ध शिक्षकहरूमाथि प्रशासनको तिखो निगरानी नरहने प्रश्नै भएन। कतैकतै प्रशासकहरूले शिक्षकलाई आफूअनुकूल परिचालित पनि तुल्याउन खोज्थे। तर उनको निडर स्वभावका सामु प्रशासकहरू हच्किन्थे पनि।

रामेछाप छँदाकै एउटा प्रसंगः

कार्यालय प्रमुखमध्ये मेरो मित्रता न्यायाधीश र डाक्टरसँग भयो। डा. कुमार लामिछाने अत्यन्त मिलनसार र सहयोगी। मेरो गोडामा पिलो आएर दुःख दियो, उहाँले १ महिना लगातार औषधियुक्त एउटा गजो हाल्दै अर्को गजो झिक्दै पिलो निको पार्नुभयो र निको भएपछि आज पिलो उन्मूलन दिवसका उपलक्ष्यमा भोज भनेर राति आफैँले खाना ख्वाउनुभयो, त्यसमा पनि कुखुराको मासुचाहिँ आफैँले पकाएर। यिनै डाक्टरको माध्यमबाट प्रजिअले मलाई आफ्ना छोराहरूलाई अङ्ग्रेजीको ट्युसन पढाउन आग्रह गरे। उनी छोराहरूलाई बुढानिलकण्ठमा भर्ना गराउन चाहन्थे, यसका लागि अङ्ग्रेजीमा राम्रो हुनुपर्दथ्यो, जुन गाउँको स्कुलमा सम्भव थिएन। त्यसैकारण उनले मलाई प्रजिअको क्वार्टरमा बस्ने-खाने आदिको छुट्टै व्यवस्था गरिदिने प्रस्ताव पठाए। आफूचाहिँ क्वार्टरमा बस्तैनथे, प्रजिअ कार्यालयको माथिल्लो तलामा बस्तथे। मैले भनेँ, “म पैसाका लागि, सुविधाका लागि ट्युसन पढाउँदिन यदि तीे बच्चाहरूको अङ्ग्रेजी सुधार्न मैले मद्दत गर्नुपर्छ भने मेरो डेरामा पढ्न आउन्”। प्रजिअलाई यो मान्य भएनछ। यसपछि हामीबीच अघोषित शीत-सम्बन्ध शुरु भयो।

आफूले भोगेको समयको कथा लेख्न धेरै कोणबाट सोच्नु पर्ने हुन्छ। त्यस्ता संस्मरण लेख्दा कसैको व्यक्तिगत जीवनमा अप्ठेरो पर्ने हो कि ? निकै विचार पुर्‍याउनु पर्ने हुन्छ। यस्ता पक्षमा भने उनी धेरै हदसम्म सजग र सचेत देखिन्छन्। साथै, उनी आफ्ना अनुभव र अनुभूतिजन्य अभिव्यक्ति पस्किँदा इमानदारिताको प्रदर्शन गर्न चुकेका देखिँदैनन्। त्यही कारण सामाजिक, राजनीतिक, सांस्कृतिकलगायत क्षेत्रका वस्तुस्थितिलाई पाठकसामुन्ने उभ्याउन सक्षम उनका सिर्जना सबैका अन्तःस्करणलाई झक्झक्याउन सक्षम देखिन्छ।

बितेको केही दशकयता सामाजिक आदर्श एवं मूल्यहरूबीच तीव्र टकराव हुँदै आइरहेको छ। यस्तो टकराव देख्न-भोग्नमा वर्तमान पुस्ता अभिशप्त छन्। यस्ता टकरावले सामाजिकदेखि राजनीति र सांस्कृतिक जीवनमा समेत फेरबदल ल्याएका छन्। त्यसो त कुनै समय राज्यव्यवस्था र त्यसका विकल्पमा उभिने शक्तिहरूबीच पनि घनीभूत टकराव नभएका होइनन्। त्यसका सजीव प्रतिविम्ब उनका सिर्जनामा देख्न सकिन्छन्।

एउटा प्रसंग हेरौंः

-जनमत संग्रहमा पञ्चायतको जित घोषणापश्चात् सिन्धुली जिल्लाबाट अवकाश दिनुपर्ने कर्मचारी/शिक्षकहरूको सूचीमा मेरो नाम अग्रणी सूचीमा रहेछ। त्यही सूची लिएर तत्कालीन गृहमन्त्री नवराज सुवेदीकहाँ पुगेका प्रजिअलाई नवराजजीले सोध्नु भएछ, ‘यो मान्छे जागिरबाट निकाल्नु पर्ने खालको हो र ?’

प्रजिअले फूर्तिसाथ भनेछन्, ‘हो हजुर एक नम्बरको बहुदले हो’।

नवराजजीले प्रतिप्रश्न गरेछन्, ‘किन, पञ्चायतको विरोधमा भाषण गर्दै हिँड्यो र ?’ प्रजिअले भनेछन्, ‘होइन हजुर। मञ्चमा भाषण त गरेन, तर के गर्नु उसले कान फुके पुगिहाल्दो रहेछ किन गर्नुपर्‍यो भाषण ?’
‘एउटा शिक्षक वा हेडमास्टरको रुपमा कस्ता छन् नि ?’
‘त्यो त एकदम राम्रो पढाउँछ, प्रशासन पनि राम्रो छ हजुर।’
‘राम्रो हेडमास्टर, मञ्चमा भाषण पनि गरेको छैन भन्नुहुन्छ यदि यस्तालाई हटाउने हो भने को बाँकी रहन्छन् त ? जानुस् यस्ता कुरा लिएर नआउनुस् मकहाँ। म यिनलाई राम्ररी चिन्दछु।’ यो सबै सम्वाद मैले नवराजजीका मामा गुणराज बरालबाट थाहा पाएको थिएँ। यो घटनाबाट म लगायत ३० जनाजति कर्मचारी अवकाशबाट बचेछन्।

यथार्थ सत्यको शिखरमा पुग्ने खुट्किला हो। कतिपय लेखक भने आफ्नो जीवनका यथार्थलाई अभिव्यक्त गर्ने क्रममा त्यस्ता खुट्किलाबाट नराम्ररी चिप्लिन पुगेका छन्। ‘अनि हेडसर हिँडे’ का हेडसरले भने जीवनका नागबेलीमय अनुगुञ्जलाई स्मृतिको माध्यमद्वारा पछ्याउँदै अभिव्यक्त गर्न सार्थक प्रयत्न गरेका छन्। कहिँकतै भने आफ्नो जीवनमा ठोक्किन आइपुगेका ‘खलनायक’ चरित्रका पात्रहरूका कुकर्मबारे केवल संकेत मात्र गरेका छन्, नामै लेख्न चाहेका छैनन्। यसबाट पाठकहरूले नै अतिरिक्त मस्तिष्क खियाउनुपर्ने देखिन्छ।

एउटा उदाहरण हेरौं-

-पछि कमला हाई स्कुलको प्रधानाध्यापक भएका बखत तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सव मनाउने कार्यक्रममा तिनै दादामध्येका एकजना मन्त्री भएर प्रमुख अतिथिका रुपमा मञ्चमा विराजमान थिए। सदरमुकामको एकमात्र हाई स्कुलको प्रधानाध्यापक भएकाले मैले भाषण गर्नै पर्दथ्यो। त्यहाँ सम्बोधनका क्रममा मैले ‘कुनै समयमा कीर्तिपुर छात्राबासमा हामी सँगै थियौैँ, आफ्नो गृहजिल्लाको यस कार्यक्रममा उहाँ प्रमुख अतिथिको रुपमा आउनुभएका माननीय मन्त्रीज्यूलाई स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ’ भन्दै पुलुक्क मन्त्रीको अनुहार हेरेँ। उनी कालो, निलो, पहेँलो भएका थिए- सम्भवतः ती दिन सम्झे होलान्।

उनका आत्मकथ्य पढ्दै जाँदा सिनेमाको रिल घुमेजस्तै तात्कालिक समाज र परिवेश मस्तिष्कमा घुम्न थाल्छन् र विश्वसनीय पनि लाग्छ उत्तिकै। त्यस्तै, मोहक भाषा, छोटा-छोटा वाक्य संरचना र चुस्त शील्प-शैलीले पुस्तकलाई वजनदार तुल्याउन यथेष्ट भूमिका खेलेका छन्। विषयगत विविधताले पुस्तकलाई झनै पठनीय तुल्याएको छ।

जीवनानुभवका मार्मिक एवं सहज चित्रण गर्ने दिशामा पुस्तक अग्रसर देखिएको छ। अतः सामाजिक मूल्य एवं कलात्मक हिसाबले अब्बल उनका यी संस्मरणहरू पूर्ववर्ती नेपाली समाजको अध्ययन गर्नेहरूका निम्ति एक गतिलो सन्दर्भ-सामग्री बन्नेमा दुईमत देखिँदैन।

पुस्तक : अनि हेडसर हिँडे
लेखक : गोविन्द गजुरेल
विधा : संस्मरण
प्रकाशक : बुक्सेलर, काठमाडौंका लागि विजया गजुरेल
पृष्ठ : ३४२
मूल्य : ५००।-
विवश वस्ती


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved