दुई अनुदित कथा

यिनीहरू चारै जना दाइजोका कारण भएको मञ्जुको हत्यापछि शुरु गरिएको दाइजो उन्मुलन अभियानको नेतृत्व गरिरहेका थिए।

नेपालभ्युज

दुई अनुदित कथा

अहिंसा

-कोडवटिगन्टी कुटुम्वराव

राजाको दरबारी सभाभित्र अहिंसाबारे बहस चलिरहेको थियो।

हिंसा र अहिंसाबारे दुवै पक्षका विद्वान्बीच तात्तातो वाद–विवाद भइरहेको थियो। उपस्थित व्यक्तिहरू भने दुवै पक्षको तर्क सुन्न व्यस्त थिए।

दुवै पक्षका बहसकर्तामध्ये एक जना धेरै नै दुब्ला–पातला थिए र उनी अहिंसाको पक्षमा थिएनन्। उनी हिंसाको पक्षमा बढाइचढाइ गरेर बोलिरहेका थिए।

अहिंसाको समर्थनमा बोल्ने भने शारीरिक रुपले निकै बलिया थिए। तर उनले अहिंसाको पक्षमा जे बोलिरहेका थिए, उनको तर्क कमजोर बन्दै गइरहेको थियो र उनी पराजय हुने अवस्थामा पुग्दै थिए।

सभामा उपस्थित रहेका व्यक्तिहरू बिस्तारै–बिस्तारै हिंसाको पक्षमा बोल्ने दुब्ला–पातला व्यक्तिबाट प्रभावित हुँदै थिए र उनकै पक्ष लिँदै थिए।

यी सबै देखेर अहिंसाको पक्षमा तर्क गर्ने बलिया व्यक्ति भने रिसको चुलीमै पुगिसकेका थिए। उनले आफ्नो रिसलाई थाम्न सकेनन्। दुब्ला–पातला व्यक्तिमाथि उनी एक्कासि जाइलागे र दुब्ला–पातला व्यक्तिको गर्दन समातेर ङ्याँक्न थाले।

बलिया व्यक्तिको प्रहार खप्न नसकी दुब्ला–पातला व्यक्तिले आँखा पल्टाउन थाले।

आखिरमा अहिंसाको जीत भयो।

000

अभियान

-अनिन्दिता

–‘मेरी आमाले हामी तीनै दिदी–बहिनीको विवाहमा सबैलाई बरावर दाइजो दिएकी थिइन्– हिराको सेट, बीस–बीस तोला सुनको गहना, कपडा, भाँडाकुँडाहरू…।’

–‘मेरा पिताले विवाहमा यस्तो मैटिज कार दिनुभएको थियो। दुवै परिवारको सानसौकतको सवाल थियो…।’

–‘मेरा पिता–माताले त अहिले पनि केही न केही दिइरहनु हुन्छ, एउटी छोरी न हुँ म…।’

–‘मेरो विवाह मानिसहरूले अझै पनि सम्झिन्छन्। ठूला चिजहरू त दिएका थिए नै, सानाभन्दा साना सामान दिनमा पनि माइती पक्षले कञ्जुस्याइँ गरेनन्। ससुराली पक्षले माग्नुभन्दा पहिले नै सबै चिज दिइएको थियो…।’

केही समय मौन रहेपछि चारै जनाको मुखबाट एउटै शब्द निस्कियो, ‘बिचरा ! मञ्जु…।’

यिनीहरू चारै जना दाइजोका कारण भएको मञ्जुको हत्यापछि शुरु गरिएको दाइजो उन्मुलन अभियानको नेतृत्व गरिरहेका थिए।

(हिन्दी भाषाबाट अनुवाद- विवश वस्ती)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved