एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ घटना, तीन पत्रकार पक्राउ

नेपालभ्युज

एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ घटना, तीन पत्रकार पक्राउ

काठमाडौं। यो एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना भएका नेपाल पत्रकार महासंघले जानकारी दिएको छ। महासंघ सञ्चार अनुगमन इकाइको तथ्यांकअनुसार यसवर्ष पत्रकारको पेशागत सुरक्षाको अभाव जनाउँदै ३०० भन्दा बढी उजुरी परेका छन्।

प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी घटना बागमती प्रदेशमा ५४ वटा घटना भएको अध्यक्ष विपुल पोखरेलले जानकारी दिए। प्रदेश १ र मधेश प्रदेशमा बराबरी अर्थात् ६-६ वटा हननका घटना भएका छन्। त्यस्तै कर्णाली प्रदेशमा ५ र लुम्बिनी तथा गण्डकीमा २–२ वटा घटना भएका छन्। सुदूरपश्चिम प्रदेशमा भने यो पटक हननका घटना नपाइएको पोखरेलले बताए।

प्रेस स्वतन्त्रता हननका यी ७५ वटा घटना हुँदा २७२ सञ्चारकर्मी, ९ सञ्चारगृह र ३३ महिला पीडित भएका पोखरेलले बताए। “अघिल्लो वर्ष महासंघको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका ४५ घटना थिए भने ती घटनाबाट जम्मा ५८४ पत्रकार र तीन सञ्चार संस्था पीडित बनेका थिए, ५८४ पत्रकारमध्ये ७७ पत्रकार महिला थिए”, उनले भने।

महासंघको अभिलेखअनुसार यो वर्ष तीन पत्रकार गिरफ्तारीमा परेका छन् भने आक्रमण, दुर्व्यवहार र धम्कीबाट २९ जना पत्रकार पीडित भएका छन्। त्यस्तै पेशागत असुरक्षाको पीडा ३१ पत्रकारले खेप्दैछन्। कानून बनाएर प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्न खोज्ने काम तीन पटक भएको छ।

उल्लिखित तथ्यांकका आधारमा नेपाली प्रेस अझै पनि पेशागत र भौतिक सुरक्षाका सवालमा सन्तोष गर्न सकिने अवस्थामा नभएको महासंघको भनाइ छ। महासंघले तीन तहका सरकारले निर्माण गर्ने प्रेससँग सम्बन्धित कानून प्रेसमैत्री हुनुपर्ने माग गर्दै आएको छ। भर्खरै संशोधन गरिएको प्रसारण नियमावलीका प्रावधान सच्याउनुपर्ने महासंघको माग छ।

नागरिकको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउन प्रेस स्वतन्त्रता अनिवार्य हुने अध्यक्ष पोखरेलको भनाइ छ। “प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अंग पनि हो, नेपालको संविधानको प्रस्तावमै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भए पनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्न सकेको छैन,” पोखरेलले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved