अझै मताधिकारबाट वञ्चित छन् राउटे

सरकारले २०७६ मा परिचयपत्रका आधारमा नागरिकता दिने निर्णय गरी नागरिकता वितरणका लागि आधारसमेत तय भइसकेको बताएको थियो। तथापि, उनीहरू अझै जन्मदर्ता र नागरिकताजस्ता संवैधानिक अधिकारबाट वञ्चित छन्।

अझै मताधिकारबाट वञ्चित छन् राउटे
फाइल तस्वीर

सुर्खेत। कर्णाली प्रदेश सधैँ केन्द्र सरकारबाट उपेक्षित छ। कर्णाली प्रदेशका विभिन्न स्थानमा घुमन्ते जीवन बिताउने राउटे समुदाय, राज्यको नजरबाट कर्णालीभन्दा पनि पर छन्। उनीहरूले राज्यबाट पाउने सेवा सुविधा पाउन सकेका छैनन्।

स्थानीय निर्वाचनको सरगर्मी देशैभर बढ्दै गर्दा दैलेख, सुर्खेत, जाजरकोट, अछामलगायतका जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय भने अझै मताधिकारबाट वञ्चित छन्। आफूलाई वनको राजा भन्न रूचाउने राउटे दक्षिण एसियाको एक मात्र फिरन्ते समुदाय हो, जसले आफूलाई नेपालको नागरिक भनेर चिनाउँछन्। देशको नागरिक भए पनि राज्यबाट नागरिकता नपाएका कारण उनीहरू सधैँ मताधिकारबाट भने वञ्चित रहँदै आएका छन्।

राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले २०७५ सालमा परिचयपत्र दिएको थियो। कर्णाली प्रदेश सरकारले २०७६ मा सोही परिचयपत्रका आधारमा नागरिकता दिने निर्णय गरी नागरिकता वितरणका लागि आधारसमेत तय भइसकेको बताएको थियो। तथापि, उनीहरू अझै जन्मदर्ता र नागरिकताजस्ता संवैधानिक अधिकारबाट वञ्चित छन्। परिचयपत्रका आधारमा उनीहरूले सामाजिक सुरक्षा भत्ता भने पाइरहेका छन्।

राउटे समुदायको हालको जनसंख्या जनसंख्या १४५ जना रहेको छ। गुराँस गाउँपालिका अध्यक्ष खेमराज वलीका अनुसार १८ वर्ष पूरा भएका र मतदाता हुन योग्य संख्या ६९ छ। ‘‘जन्म दर्ता गराउन नमान्ने राउटे समुदायलाई स्थानीय सरकार बनेपछि हाम्रो गाउँपालिकाले परिचय पत्र दिएको छ,’’ उनले भने, ‘‘नागरिकता नै नबनाएका राउटेले झन मतदाता नामवली हुने त कुरै भएन।’’

चुनाव विषयमा राउटे समुदायलाई कुनै जानकारी नै नभएको उनीहरूले मतदान चुनावका बिषयमा कुनै जानकारी नै नराख्ने गरेको अध्यक्ष वलीले बताए। ‘‘उनीहरूको आफ्नै खाले संस्कृति र रहनसहन रहेको छ,’’ उनले भने, ‘‘उनीहरूको आफ्नै मुखिया प्रणालीमा शासन चलाउने गरेका छन्।’’

राउटे समुदायका मुखिया सूर्यबहादुर शाहसँग मताधिकारबारे नेपालभ्यूजले राखेको चासोमा उनले भोटबारे अनविज्ञता प्रकट गरे। ‘‘भोट भनेको के हो ? अहिलेसम्म दिएको छैन,’’ उनले भने।

सल्यानको वनगाड कुपिन्डे नगरपालिका–२ स्थित काँडागाउँमा आसपासमा अहिले दलहरूले घरदैलो गरिरहे पनि राउटे समुदायलाई भने निर्वाचनबारे चासो छैन, भोट बारे जानकारी पनि छैन। ‘‘दिनहुँ गाउँ गाउँमा खै केमा भोट देऊ भन्ने चर्चा सुनिन्छ,” राउटे युवा प्रकाश शाहीले भने,‘‘यो खास के भएको हो ? हामीले थाहा पाएका छैनौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved