भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोप भ्रमणको पहिलो दिन सोमबार जर्मनी पुगेका छन्। उनले त्यहाँ जर्मन चान्सलर ओलाफ स्कोल्जलाई भेटे। त्यसपछि दुवै नेता प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागी भएका थिए। यसमा भारत र जर्मनीबीच हरित ऊर्जामा महत्वपूर्ण सम्झौता भएको थियो।
जर्मन भ्रमणमा पनि मोदीले युक्रेन–रुस युद्धबारे बोलेका छन्। प्रतिनिधिमण्डलस्तरीय बैठक सकिएपछि मोदीले आफ्नो भाषणमा युक्रेन–रुस युद्धको उल्लेख गरेका थिए।
“युक्रेनमा संकट शुरु भएदेखि नै हामीले तत्काल युद्धविरामका लागि आह्वान गरेका थियौं र विवाद समाधान गर्ने एक मात्र उपाय वार्ता हो भन्ने कुरामा जोड दिएका छौं। हामी विश्वास गर्छौं कि यो युद्धमा कुनै पनि पक्ष जित्ने छैन, सबैलाई पीडा हुनेछ, त्यसैले हामी शान्तिको पक्षमा छौं,” मोदीले त्यहाँ भने, “युक्रेन द्वन्द्वको उथलपुथलले विश्वमा खाद्यान्न र मलको अभावसँगै तेलको मूल्य आकाशिएको छ। यसले विश्वका हरेक परिवारलाई बोझ दिएको छ, तर विकासोन्मुख र गरिब देशहरूमा यसको असर झन् गम्भीर बन्दै गएको छ।”
भारतले कोभिड-१९ पछि पनि अर्थतन्त्रमा तीव्र वृद्धि गरिरहेको छ। मोदीले त्यहाँ भने, “हामी विश्वस्त छौं कि भारत विश्वव्यापी सुधारको महत्वपूर्ण स्तम्भ बन्नेछ। हालै हामीले यूएई र अष्ट्रेलियासँग छोटो अवधिमा व्यापार सम्झौता गरेका छौं।”
Facebook Comment
Comment