सरकारले चाहे २५ प्रतिशतसम्म आत्महत्या रोक्न सकिन्छ : मनोचिकित्सक ओझा

नेपालमा अझै मानसिक समस्या भएका ८० प्रतिशत व्यक्ति अस्पतालसम्म जान हिच्किचाउने गरेकाले जनचेतनाका लागि लगानी बढाउनुपर्ने मनोचिकित्सक डा.सरोज ओझाले बताए।

नेपालभ्युज

सरकारले चाहे २५ प्रतिशतसम्म आत्महत्या रोक्न सकिन्छ : मनोचिकित्सक ओझा

काठमाडौं। मनोचिकित्सकहरूले सरकारले मानसिक स्वास्थ्यमा लगानी बढाउनुपर्ने बताएका छन्। मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रको १९ औँ वार्षिकोत्सवमा चिकित्सकहरूले मानसिक स्वास्थ्यसम्बन्धी समस्या कोभिडपछि अझै बढेकाले लगानी र जनचेतना बढाउनुपर्ने बताए।

शिवि शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख डा.सरोज ओझाले नेपालमा अझै मानसिक समस्या भएका ८० प्रतिशत व्यक्ति अस्पतालसम्म जान हिच्किचाउने गरेको बताए। मानसिक स्वास्थ्यबारे धेरै मानिस नखुल्ने भएकाले लगानी र जनचेतना बढाउन आवश्यक रहेको उनले बताए। “आत्महत्या रोक्न सकिने समस्या हो, झन्डै ९० प्रतिशत आत्महत्या मानसिक समस्याकै कारणले हुने गर्छ, यो समस्या विकराल बन्दै गइरहेकाले यसलाई चौतर्फी रूपमा रोक्न जरुरी छ,” उनले भने। सरकारले चाहेमा र आवश्यकताअनुसार लगानी २० देखि २५ प्रतिशतसम्म आत्महत्या रोक्न सकिने उनको भनाइ थियो।

मानसिक स्वास्थ्य समस्याबारे छुट्काराका लागि अस्पताल र स्वास्थ्यकर्मी हुँदाहुँदै पनि मानिसहरु जनचेतनाका कमीले सेवा लिनै नगएको भन्दै डा. ओझाले समुदायस्तरसम्म मानसिक स्वास्थ्य बारे जनचेतना फैलाउनुपर्ने बताए।

भूकम्प र कोरोना महामारीले मानसिक रोगी बढ्दै गएकाले परामर्शबाट नै रोग निको पार्न सकिने उनको भनाइ थियो।

त्यस्तै मनोविद् करुणा कुँवरले कोभिड–१९ को महामारीपछि बालबालिकामा मानसिक समस्या बढ्दै गएको बताइन्।
बालबालिकामा डराउने, दुःखी देखिने, आत्तिने, चिन्तित देखिने, ध्यान एकीकृत गर्न नसक्ने, विद्यालय नआउने, विद्यालयमा अनुपस्थित हुनेलगायतका समस्या देखिएको उनले बताइन्। कोभिड महामारीमा ९ देखि १६ वर्ष उमेरका बालबालिकाले समेत आत्महत्या गरेकाले समस्या बढेको उनको भनाइ थियो।

“कोभिडको बन्दाबन्दीमा पहिलो एक हप्ता बालबालिकाले छुट्टी जस्तै मनाएका थिए, तर बन्दाबन्दीको १५ दिनपछि बालबालिका आत्तिएको पाइयो लगातारको बन्दाबन्दीमा विद्यालय जान पाएनन्, साथीभाइसँग भेट्न, खेल्न नपाएर धेरै नै आत्तिएर मानसिक समस्या नै देखिएको पाइयो,” उनले भनिन्।

त्यस्तै उच्च शिक्षा हासिल गर्ने व्यक्तिका लागि पनि कोभिडले निकै अन्योल्ता ल्याएका कारण मानसिक समस्या बढ्दै गयो र कोभिडकालमा आत्महत्या गर्ने बालबालिकाको संख्या ह्वात्तै बढ्दै गएको उनको भनाइ थियो। यस्ता समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने उनले बताइन्।

यस्तै मनोविद् डा .पशुपति महतले कोभिडपछि मानसिक समस्या झनै बढेकाले यसको समाधान गर्नुपर्ने बताए।  नेपालमा १३ प्रतिशतमा कोभिडका कारण पोस्ट मानसिक समस्या देखिएको बताउँदै उनले कोभिडपछि देखिएको मानसिक समस्या समाधानका लागि गम्भीर पहल गर्नुपर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved