बागलुङ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ। १३ दिनपछि मतदान छ। दलहरु प्रचारमा होमिएका छन्। उम्मेदवार मतदातासामु पुगिरहेका छन्।
दुई दिन मौन अवधि रहने भएकाले चुनावी प्रचारका लागि दलहरुसँग अब ११ दिन मात्र बाँकी छन्। यो बीचमा प्रचारलाई अझ तीव्र पार्ने दलहरुले जनाएका छन्।
सत्ता साझेदार दलको गठबन्धनले शनिबारदेखि जिल्लाभर चुनावी अभियान थालेको छ। मनोनयन फिर्ताको अवधिअघिसम्म अलमलमा देखिएको गठबन्धन एकढिक्का भएर प्रचारमा लागेको सम्बद्ध दलहरुले जनाएका छन्।
वडा नं. १४ नारायणस्थानमा शनिबार संयुक्त भेला तथा अन्तरक्रियासँगै पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिकाको प्रचार अभियान सुरु गरेको नेपाली काँग्रेसका नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले जानकारी दिए।
नगरका १४ वटै वडामा गठबन्धनका उम्मेदवारसँगै दलहरुको संयुक्त प्रचार र घरदैलो अभियान सञ्चालन हुने उनको भनाइ छ। गठबन्धनको उम्मेदवार परिचयसहित साझा प्रतिबद्धता पत्र आज सार्वजनिक गरिने भएको छ।
गठबन्धनले काठेखोला गाउँपालिकामा पनि शनिबारदेखि चुनावी प्रचार अभियान सुरु गरेको छ। वडा नं. ३ धम्जामा आयोजित चुनावी सभामा पाँच दलका जिल्लास्तरीय नेता सहभागी भएका थिए।
काठेखोलामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका राजु थापा अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक पुन चुनावी मैदानमा छन्।
गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, बरेङ र निसीखोलामा पनि चुनावी अभियान तीव्र पारिएको गठबन्धनले जनाएको छ। जैमिनी नगरपालिकामा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको नेपाली काँग्रेस जैमिनी नगरका सभापति प्रेम सापकोटाले जानकारी दिए।
नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङ नगर समितिले पनि आइतबार नै प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।बागलुङ नगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल छ।
वडा तहको चुनावी अभियान पनि आजदेखि सुरु हुने एमाले नगर सचिव रामकृष्ण शर्माले जानकारी दिए।
आआफ्नै हिसाबले प्रचारमा लागेका दल र उम्मेदवारहरुले आजदेखि चुनावी अभियानलाई व्यवस्थित बनाउन लागेका हुन्। यसका लागि उनीहरुले वडागत रुपमा समय तालिका तयार गरेका छन्। मतदाता फकाउन स–साना भेला, सभादेखि घरदैलो अभियानमा दलहरु केन्द्रित छन्।
यहाँका अरु स्थानीय तहमा पनि संयुक्त गठबन्धन र एमालेले चुनावी प्रचारलाई तीव्र पारेको छ। सत्ता साझेदार पाँच दल दसै स्थानीय तहमा गठबन्धन बनाएर चुनावमा होमिएका छन्।
एमालेले पनि बागलुङ नगरपालिकामा राप्रपा र ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाको ‘विद्रोही समूह’सँग चुनावी तालमेल गरेको छ।
गठबन्धनतर्फ काँग्रेसले बागलुङ, गलकोट नगरपालिका सहित काठेखोला , बडिगाड , निसीखोला र तमानखोला गाउँपालिका पाएको छ। नेकपा (माओवादी केन्द्र)ले ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिका, राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिका पाएको छ।
एमालेले भने दसै स्थानीय तहको प्रमुखमा आफ्नै उम्मेदवार उठाएको छ। एमालेले तालमेलका कारण बागलुङ नगरपालिकाको उपप्रमुखमा राप्रपा र ढोरपाटन नगरपालिकाको उपप्रमुखमा राजमोको ‘विद्रोही समूह’लाई छाडेको छ।
जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले शनिबार उम्मेदवारलाई चुनाव चिन्ह दिइएको बताए। “दल र उम्मेदवारले चुनाव चिन्ह लिएर मतदाताकहाँ जाने, प्रचार गर्ने समय सुरु भएको छ”, उनले भने।
निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकायलगायत भने चुनावको व्यवस्थापकीय तयारीमा जुटेका छन्। जिल्ला निर्वाचन अधिकारी रिजालले चुनावमा खटिने जनशक्तिको व्यवस्थापन, खटनपटन, तालिमसहित निर्वाचन आयोगले तोकेका काममा आफूहरु केन्द्रित रहेको बताए।
उनका अनुसार मतपत्रसहित चुनावमा प्रयोग हुने ५९ प्रकारका सामग्रीहरु जिल्लामा आइसकेका छन्।
“व्यवस्थापकीय तयारीको काम अहिले भइरहेको छ, मतदान केन्द्रमा चाहिने सामग्री पछि मतदान अधिकृतसँगै पुग्छन्”, उनले भने, “सुरक्षा प्रबन्धको काम सोही निकायबाटै भइरहेको छ।”जिल्लामा एक सय तीन मतदानस्थल र दुई सय ३० मतदान केन्द्र छन्।
एक लाख ९३ हजार ६२५ मतदाता छन्। ती मध्ये महिला ९९ हजार ७२८ र पुरुष ९३ हजार ८९७ छन्।
Facebook Comment
Comment