तानसेन : दुई कविता

मैले आफ्नो फ्रेमभित्र तानसेन खोज्नुपर्ने छ
मैले तानसेनको फ्रेमभित्र जीवन राख्नुपर्ने छ।

नेपालभ्युज

तानसेन : दुई कविता

फ्रेमबाहिर तानसेन

-महेश रेग्मी

तानसेन जलिरहँदा
तानसेन फ्रेममा थिएन
तानसेनका फूलहरू गमलामा थिएनन्
तानसेनका चराहरूको आकाश थिएन

तानसेन आगोको चित्र बन्दै थियो
तानसेनबासीहरू ग्याँसच्याम्बर भए
उड्न खोजे–
तर आकाश थिएन

पहाडजस्तै अग्लियो
तानसेनको पीडा

ओर्लियो तानसेनको गौरव

दृश्यहीन भएर भोग्नुप¥यो
त्यो रात
समयको आगोलाई

समयहीन समयलाई

त्यो सपनाको स्थान
खै अब के देखाउने ?
मसँग देखाउने दृश्यहरू थिएनन्
श्रीविहीन भएर श्रीनगरडाँडा र सल्लाघारी
सुसाइरह्यो

आँखाको चोट दृश्यलाई
दृश्यको चोट आँखालाई
इतिहासको चोट भएर
शेष भयो– तानसेन

यो पीडाको स्रोत को हो ?
समय कि हामी ?
कि इतिहासको भूल ?
कि समयको मूच्र्छना ?
प्रश्न गरिरहेछ– तानसेन

फ्रेमबाहिरको तानसेनमा
मेरो आफ्नो आकृति हराएको छ
पुर्खाको इतिहास हराएको छ

तानसेनले हराएको छ– आफ्नो सुगन्ध
मैले आफ्नो फ्रेमभित्र तानसेन खोज्नुपर्ने छ
मैले तानसेनको फ्रेमभित्र जीवन राख्नुपर्ने छ
इतिहासको कठघरामा
क्यालेन्डरको फ्रेमबाहिर
क्षतविक्षत तानसेन।

०००

तानसेन

-गोविन्द नेपाल

बिहानै उठेर श्रीनगर बूढो
माडी फाँटमा मर्निङवाक गर्छ
कञ्जनजंघाको ऐनामा
अनुहार हेरेर
मुस्कुराउँदै
बतासले ऊ सल्लाघारीको कपाल कोर्छ।

तानसेन
दिनभरि ढाका बुन्छ
करुवा कुँद्छ
खेती उठाउन माडी ओर्लन्छ
मिसन अस्पताल
बिरामीको सेवा गर्छ
त्यहाँको हावापानी
बिरामीको जिन्दगानी।

साँझमा तानसेन
टुँडिखेलमा भेला हुन्छ
माछापुच्छ्रे सुस्ताउँछ
माडी फैलिन्छ
मन्दिर पुग्छ, घण्ट ठोक्छ र गाउँछ–
हरेराम, हरेकृष्ण…।

‘तानसेन घमाइलो…’
टुसुक्क बसेको छ डाँडामा
मगरात पाल्पाको हृदय
तानसेन धड्किन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved