मन्त्री आलेको आक्रोश : ११ बजे उडाउनुहुन्छ भने ११ बजेको टिकट दिनुहोस्, समय किन किल गर्नुहुन्छ?
नेपालभ्युज
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आन्तरिक वायुसेवा कम्पनीहरूलाई टिकट बिक्री गरेअनुसारकै समयमा उडान भर्न निर्देशन दिएका छन्।
उनले नेपालका लागि इजरायलका राजदूत हनान गोदारसँगको भेटमा राजदूत ओदारले भाडा समान नभएको गुनासो गरेका उनले जानकारी दिए। मन्त्री आलेले राजदूतसँगको भेटमा अहिले कोरोनाको मारमा रहेकोले तत्काल सो समस्या सम्बोधन गर्न नसकिने जानकारी गराएको बताए।
पर्यटनमन्त्री आलेले भने, ‘दुई महिनाजति भयो होला हाम्रो इजरायलको राजदूत हेलन ओदार आउनुभएको थियो। मैले आधा घण्टाजति भेटघाट गरेको थिएँ। मैले उहाँलाई नेपाल फर ओपन फर टुरिस्ट भनेँ। यू प्लिज साइन फर टुरिस्ट टू आवर कन्ट्री नेपाल भन्दा, मिनिस्टर हाउ इट विल बि पोशिबल यू आर पेइङ इन द एयरलाइन्स, यू आर पे द वन्ली टू थाउजेन्ट, वि आर पेइङ ८ थाउजेन्ट, भने उनले। कोभिडले थला परेको पर्यटन क्षेत्र २ वर्षदेखि मारमा छ। त्यसैले नाउ इज इट नट पोसिबल भनेर मैले भने। त्यसैले यसलाई हामीले गम्भीरतापूर्वक लिन जरुरी छ। हामी अन्य देशमा जाँदा जति त्यहाँको नागरिकले तिर्छन् त्यति तिर्छौं। तर हामीकहाँ त्यो भएन। हामी यात्रा गर्दा बिहान ८ बजेको टिकट हामीलाई दिइन्छ, प्लेन १०-११ बजे उड्छ। त्यो बिडम्वना छ। त्यसैले यसलाई अलि व्यवस्थित गर्नुपर्छ भनेर राति १२ बजेसम्म एयरपोर्टलाई ओपन राख्ने बिहान काम गरेर बेलुका फर्किनसक्ने भनेर यसो गरेका हौँ। ११ बजे उडाउनुहुन्छ भने ११ बजेको टिकट दिनुहोस् मान्छेको समय किन किल गरिराख्नुभएको छ।”
नेपालमा विदेशी नागरिकहरूले पनि नेपालीसरह हवाई भाडा भुक्तानी गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले बताए।
शुक्रबार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताएका हुन्। उनले नेपालीहरू विदेशमा जाँदा त्यहाँका नागरिकसरह नै भाडा तिर्ने गरेको भन्दै नेपालमा पनि विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक रहेको बताए।
त्यस्तै मन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय व्यवस्थापनका लागि प्रधानमन्त्रीसहित गृह र अर्थमन्त्रीलाई बारम्बार ताकेता गर्दा पनि सुनुवाइ नभएको बताए।
विमानस्थलमा आउने विदेशी पर्यटकहरू शौचालय जाँदा मुख छोपेर जानुपर्ने बाध्यता रहेको बताए। उनले गृह मन्त्रालयअन्तर्गत रहेको अध्यागमन विभाग र अर्थ मन्त्रालयअन्तर्गत रहेको भन्सार विभागले गर्दा हरेक पर्यटकहरू विमानस्थलमा दुई घण्टा लाइनमा उभिनुपर्ने तथा एटिएमबाट डलर निकाल्ने कामलाई बिगार्ने कामहरू भएको बताए।
मन्त्री आलेले यस्ता किसिमका क्रियाकलापले पर्यटन मन्त्रालयको बदनाम भएको बताए। उनले सरकार गठन भएको ९ महीना बितिसक्दासमेत पर्यटन,अर्थ र गृह मन्त्रालयबीच अहिलेसम्म समन्वय हुन नसकेको बताए।
मन्त्री आलेले शौचालय तथा यात्रु बस्ने ठाउँको व्यवस्थापन गर्न विदेशी कम्पनीहरूलाई ल्याउने तयारी भइरहेको पनि जानकारी दिए।
Facebook Comment
Comment